स्मार्ट एनअारएन मेरो अवधारणा : भवन भट्ट

2017-10-16

भवन भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दा र निर्वाचन केन्द्रित रहेर कृष्ण ढुंगानाले उनीसँग काठमाडौंमा गरेको कुराकानीः

तपाइँको उम्मेदवारी के का लागि ?

गैरआवासीय नेपाली संघमा प्रत्येक दुई वर्षमा नेतृत्व परिवर्तन हुन्छ । यो स्वभाविक प्रक्रियामा यस पटक धेरै साथीहरुको चाहना म नै अगाडि जानुपर्छ भन्ने रह्यो। र अध्यक्षका लागि म नै अग्रपंक्तिमा पनि छु। विश्वभरिका साथीहरुले सबैभन्दा स्वभाविक उम्मेदवार तपाइँ नै हो भनेपछि म अघि बढेको हो । उम्मेदवारी किन भन्दाखेरी यसमा संगठनात्मकर अरु काम गरी दुई तरिकाले हेर्नुपर्छ जस्तो लाग्छ। म एनसीसीबाट माथि उठेर यहाँ आइपुगेको हुँ । त्यसैले म नेतृत्वमा आउँदा एनसीसी र आइसीसीहरुबीच निकटता अझ बढ्नेछ। एनसिसीहरुका समस्या मैले राम्रोसँग बुझेको छु। अहिलेको नेतृत्वले थालेका लाप्राक नमुना बस्ती, आफ्नै भवन निर्माण, शंखमुल पार्क निर्माणसहितका काम पूरा भएकाछैनन्। तिनलाई सम्पन्न गर्दै गैरआवासीय नेपाली संघलाई गतिशील नेतृत्व दिन मेरो उम्मेदवारी हो। यस विषयमा म छिटै प्रतिबद्धतापत्र सार्वजनिक गर्नेछु।

तपाइँको जितका आधारहरु के के हुन् ?

यसमा मेरो सरल बुझाइ छ। अहिलेसम्म एनआएनएमा मैले जति योगदान गरेँ त्यो सबै साथीहरुलाई थाहा छ। संसारमा मलाई मन नपर्ने मान्छे छैन र मलाई मन नपर्ने खाना पनि छैन। अर्थात् एनआरएनएभित्र मेरो सबै पक्षसँग राम्रो छ। त्यही भएरै होला सबै साथीहरुले मलाई उम्मेदवार हुनुपर्छ भन्नुभयो। मैले सबैलाई राम्रो गरेको छु र संस्थामा पनि राम्रोगरेको छु । यो पृष्ठभूमिमाका कारण मैले राम्रो गरेका साथीहरूले अहिले मलाइ राम्रो सहयोग गर्नुहुन्छ। सबै साथीहरुका लागि अध्यक्षको 'पपुलर' उम्मेदवार म हुँ जस्तो लाग्छ।

हजार रुपैयाँदेखि लिएर १०—१५ लाखरुपैयाँसम्म राख्न चाहने साथीहरुलाई समेट्ने भन्ने मेरो उद्देश्य छ। यहाँ अहिले एक करोड रुपैयाँ लगानी गर्छु भनेर आउँदा आधा जति त प्रोजेक्ट अध्ययन, सम्भाव्यता अध्ययनमै सकिन्छ।

एनआरएनएको संरचनागत परिवर्तनका लागि वर्तमान अध्यक्षले ल्याएको भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड प्रस्तावमा एनआरएनए विभाजित देखिन्छ। यो विषयमा तपाइँको बुझाइ के हो ?

संस्थाको नेतृत्वले भविष्य सम्झेर भिजन गर्नु राम्रो हो, संस्थाको गतिशीलताका लागि भिजन आउनु पर्छ । भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड प्रस्ताव आफैँमा विवादित होइन त्यसभित्र भएका अन्तर्वस्तु र ल्याउने प्रक्रियालाई लिएर साथीहरुले विरोध जनाउनु भएको हो। एउटा गतिशील संस्थामा यो ठूलो कुरा होइन। प्रस्तावमाथि दफाबार रुपमा छलफलभएर जाँदा सबै कुरा सुल्झिन्छन् जस्तो लाग्छ। फेरि यो कार्यान्वयनको प्रक्रियामा जाँदा फ्लोरले त्यसलाई पारित, अस्वीकृत वा फेरबदल गर्न सकिहाल्छ। यसलाई म सकेसम्म निरन्तरता दिएरै अघि बढ्नेछु ।

उम्मेदवारी घोषणा गर्दै तपाइँले वैदेशिक रोजगारीको समस्या समाधान गर्न इन्स्यारेन्स नीतिमा जोड दिनुभयो। वैदेशिक रोजगारीलाई व्यवस्थित पार्न तपाइँको योजना के छ?

वैदेशिक रोजगारीको दीगो समाधान खोजिनुपर्छ। निश्चय नै मैले आफू अध्यक्षको उम्मेदवारी हुने भनेर सोचेदेखि नै वैदेशिक रोजगारीका समस्या पहिचान र तिनको दीगो निराकरणबारे कार्ययोजना बनाइरहेको छु। निचोडमा भन्नुपर्दा के देखियो भने यसलाई रोकथाम र दीगो समाधानका लागि इन्स्योरेन्स नीति एउटा हुन सक्छ भन्ने देखियो। अहिले पनिसरकारले इन्स्योरेन्स गर्छ तर मैले भन्न खोजेको अलिक फरक कुरा हो। वैदेशिक रोजगारीमा जाने साथीहरु एनआरएनसँग आवद्ध हुने र उनीहरुको इन्स्योरेन्स बल्कमै गर्दिने। यसो भयो भने एक हजार रुपैयाँ तिर्नुपर्ने प्रिमियिमलाई एक डेढ सयमै आउँदो रहेछ। त्यसको जिम्मेवारी एनआरएन सेक्रेटरिएटले लिएर कार्यान्वयन गर्ने भन्ने मेरो सोच हो।उहाँहरुलाई समस्या पर्नासाथ एनआरएनएमा निवेदन दिनुभयो भने उहाँहरुको इन्स्योरेन्स रकम प्राप्ति प्रक्रिया पनि हामी नै अघि बढाइदिन्छौं भन्ने हो।

सर्वसम्मत अध्यक्षको रुपमा अघि आउन तपाइँले केही अभ्यास गर्नुभएको भन्ने चर्चाहरु पनि सुनिए। खासमा के भएको हो?

सकेसम्म सर्वसम्मतीय संगठन बनाउन सबैको पहल रहोस् भन्ने हो। त्यसो हुँदा संगठनमा विभाजनको मानसिकता देखिँदेन। केही अगाडिसम्म अध्यक्षमा दुई आकांक्षी देखिए पनि अहिले आएर म नै सर्वसम्मत रुपमा अघि आएको हुँ। र अन्तिम समयसम्म पनि सर्वसम्मतिबाट अघि बढ्नुपर्छ भन्ने मेरो पहल हुनेछ। यदि सर्वसम्मत नभएको अवस्थामा मप्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने मान्छे हुँ। यसलाई मैले त्यति ठूलो विषय ठानेको छैन। स्वस्थ प्रतिस्पर्धाका लागि चुनाबमा जान म सधैँ तयार छु। नेतृत्व चयनका लागि यो एउटा सामान्य प्रक्रिया हामीले पूरा गर्नैपर्छ।

सर्वसम्मत हुनलाई वर्तमान अध्यक्ष शेष घले र पूर्व अध्यक्षहरु जो दुई ध्रुवमा विभाजित छन्। उनीहरुको विश्वाससहितको समर्थन महत्वपूर्ण होला नि त?

विश्वभरिका धेरै साथीहरुले मलाई माया गर्छन्। एनआरएनभित्र सबैसँग राम्रो सम्बन्ध हुने थोरै व्यक्तिमध्ये म एक जना हुँ। कोहीसँग सहकार्य गर्न मलाई केही समस्या भएन र अहिले पनि छैन। कसैसँग काम गर्न केही अप्ठ्यारो नभएको कारणले मलाई हरेक देशका साथीहरुले नजिक राख्ने गरेका हुन् भन्ने मेरो बुझाइ छ। मलाई नेतृत्वमा पुर्याउने पहल यहीभएर पनि सबै कोणबाट भएको हुनसक्छ। दुवै पक्षबाट विरोध नहुनु भनेको मलाई समर्थन गर्नु नै हो। कुनै मञ्चमा आएर अहिलेसम्म उहाँहरुले भवन लायक छैन भनेर भन्नुभएको छैन। (हाँसो)

पछिल्ला वर्षहरुमा गैरआवासीय नेपालीको सामुहिक लगानी सुस्ताए जस्तो देखिन्छ। तपाइँको घोषणा पत्रमा ‘एक एनसीसी एक परियोजना’ भन्ने महत्कांक्षी अवधारणा देखियो। यो कसरी सम्भव होला?

मैले सामुहिक लगानीको अवधारणाकै रुपमा यसलाई अघि सारेको हो। यो असम्भव छैन। विदेशमा बस्ने सबै नेपालीको आर्थिक स्थिति उस्तै छैन। तर उनीहरु सबैलाई एकै ठाउँमा ल्याउन सकेमा एउटा ठोस परियोजना निर्माण गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो। यसका लागि हामीले एउटा ठोस संयन्त्र बनाउँदैछौं। हजार रुपैयाँदेखि लिएर १०—१५ लाखरुपैयाँसम्म राख्न चाहने साथीहरुलाई समेट्ने भन्ने मेरो उद्देश्य छ। यहाँ अहिले एक करोड रुपैयाँ लगानी गर्छु भनेर आउँदा आधा जति त प्रोजेक्ट अध्ययन, सम्भाव्यता अध्ययनमै सकिन्छ। त्यसैले पोर्टफोलियो म्यानेजमेन्ट गर्न एउटा अर्को साझा संयन्त्र चाहिन्छ भन्ने मेरो सोच हो। यसले योजनाको प्रारम्भिक अनुसन्धान, लागत  अनुमानसम्म निकाल्छ।हामीले त्यो तयार पार्न सक्यौं भने विदेशमा भएका नेपालीलाई लगानीका लागि ठूलो हौसला हुन्छ।

उम्मेदवारी घोषणा गर्दै तपाइँले ‘स्मार्ट एनआरएनए’ बनाउने भन्ने उल्लेख गर्नुभयो। यो फगत चुनाबी नारा हो कि यसको केही विशेष अर्थ छ?

चुनाबी नारा हुँदै होइन। नेपालीहरु विश्वका हरेक देशमा पुगेका छन्। इनोभेसन र बौद्धिक कार्यमा पनि संलग्न छन्। विकसित मुलुकहरुले गरेका राम्रा प्राविधिक एवं अन्य किसिमका इनोभेसनहरुलाई नेपाल भित्र्याउने अवधारणालाई मैले स्मार्ट एनआरएन भनेको हो। एयरपोर्ट सफाई पनि स्मार्ट एनआरएनएकै एउटा उदाहरण थियो। हामीले ल्याएको त्यो टोक्निोलोजी अष्ट्रेलियाको थियो। त्यस्तै अर्को कुनै अमेरिकामा भइरहेकोसँग हुन सक्ला। त्यसको खाँचो कहाँनेर छ भनेर अध्ययन गर्ने र औचित्य पुष्टि हुने स्थितिमा भित्र्याउने भन्ने अवधारणा स्मार्ट एनआरएनको हो। यो भनेको स्मार्ट वे अफ थिङकिङ पनि हो।

लाप्राकको नमुना बस्ती निर्माण पूरा गर्ने लक्ष्य तपाइँको घोषणा वक्तव्यबाट आयो। एनआरएनएले पछिल्लो समय मानवीय कल्याण र लगानीका क्षेत्रमा काम गरिरहँदा दुई फरक र अमिल्दा कामलाई कसरी व्यवस्थित गर्दै अघि बढ्ने तपाइँको सोच छ ?

लगानी र मानव कल्याणका काम हेर्न एनआरएनएभित्र दुई छुट्टा छुट्टै बडी बनाउने तिनलाई सक्रिय पार्दै अघि बढ्ने भन्ने मेरो सोच हो। मानवीय कल्याणको काम एउटा सामाजिक कार्यको महत्वपूर्ण हिस्सा हो। दुवै कामलाई प्रभावकारी ढंगले निरन्तरता दिन प्रयास गर्नेछु। भूकम्प आयो राहात लिएर कुद्ने, बाढी आयो राहत बोकेर कुद्ने मात्र हाम्रो काम होइन। योसँगै सरकारलाई नीतिगत तहमा परामर्श दिने र गैरआवासीय नेपालीले कतिपय ठाउँमा ब्यहोर्नु परेका द्वेध करका झमेलाहरुलाई हटाउन लबिङ गर्ने हाम्रो उद्देश्य हो। यी दुवै पक्षलाई म समान प्राथमिकताका साथ अघि बढाउनेछु।

अन्त्यमा मैले सोध्न छुटाएको र तपाइँलाई भन्न मन लागेको केही छ?

म विश्वभरि रहेका गैरआवासीय नेपाली साथीहरुलाई काठमाडौंमा हुन हुन गइरहेको एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी भइदिन आग्रह गर्दछु। कृपया सम्मेलनमा आइदिनोस् यो तपाइँहरुको आफ्नै संस्था हो। यसमा प्यानल हुन्छ भन्छन्। राजनीति हुन्छ भन्छन्। वास्तवमा त्यो क्षणिक मात्रै हो। समग्रमा हाम्रो उद्देश्य भनेकै यो संस्था चुस्तहोस्, स्पष्ट होस र शक्तिशाली होस् भन्ने हो। यो संस्था बलियो हुनु भनेको नेपाली बलियो हुनु नै हो। जान नजानी कसैसँग केही भएको भए इगोको रुपमा नलिन र यसलाई सामूहिक संस्थाको रुपमा विकसित गर्न म विश्वभरि भएका साथीहरुलाई आग्रह गर्दछु।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ