वर्गसंघर्षको अर्थ र आयाम !

2020-12-23

वर्गसंघर्षको अर्थ :

कुनै व्यक्ति वा वर्गमा दुई विपरीत वृत्ती, विचार, बोली, विधि र व्यवहार बिचमा विपरीतता, बेमेल, टकराव, द्वन्द वा अन्तर्विरोध हुन्छ । त्यो द्वन्द्व वा अन्तर्विरोध त व्यक्ती र वर्गमा मात्र होइन, वस्तु वा घटनामा समेत अनिवार्य र सार्वभौम रुपमै हुन्छ । यसलाई दार्शनिक भाषामा विपरीतहरुको संघर्ष (struggle of opposits) पनि भनिन्छ । जब यसप्रकारको विपरीतहरुबिचको संघर्ष मानवजाति र तिनका विविध कृयाकलापका सन्दर्भमा देखिन्छ भने त्यो वर्गसंघर्ष हो ! मानवसमाजमा व्यक्तिको मनदेखी परिवार, समुदाय, जाती, देस र सिङ्गो संसारसम्मका आयामहरुमा शोषक र शोषित, उत्पीडक र उत्पीडित वा शासक र शासित, हुने र नहुनेजस्ता दुई व्यक्ती वा शक्तिका बीचमा चल्ने सही र गलत, क्रान्ती र प्रतिक्रान्ती, न्याय र अन्याय, अग्रगमन र पश्चगमन, दमन र प्रतिरोधका घटना-परिघटनाहरु नै वर्गसंघर्षका अभिव्यक्ति हुन् । खासगरी मानवसमाजमा आर्थिक रुपमा बनेका मुख्य दुई वर्ग पुँजीपती र सर्वहारा अर्थात् हुने र नहुने व्यक्ति, समुदाय र राष्ट्रहरुको समूहलाई वर्ग भनिन्छ भने यी दुई वर्गहरुबिचको संघर्षलाई नै वर्गसंघर्ष भनिन्छ !

सामान्यतया समाजमा रहेका दुई वर्गहरुको बिचमा चल्ने यो वर्गसंघर्ष विविध क्षेत्रमा चल्ने गर्दछ । त्यसैले वर्गसंघर्षको क्षेत्र बहुआयामिक र विशाल छ । माथी उल्लेख गरिए अनुसार दुई विपरीत वृत्ती, विचार, विधि र व्यवहारहरु बोकेका विविध वर्गहरु बिचमा चल्ने यो संघर्ष मूर्त र मुख्य रुपमा आजको मानवसमाजका दुई मुख्य वर्गहरु सर्वहारा र पुँजीपतिका बिचमा चल्ने भएपनी यसका बाछिटाहरु व्यक्ति, परिवार, समुदाय, पार्टी, राज्य र सिङ्गो संसारसम्म पर्ने हुनाले धेरै ठाउमा धेरै प्रकारले धेरै स्वरुपमा यो प्रकट हुने गर्दछ ! यसरी वर्गसंघर्ष हुने र चलाउनै पर्ने क्षेत्र धेरै छन् भने यसको आयाम पनि संसारव्यापी नै छ ! यसैगरी विषयवस्तुका हिसाबले चल्ने वर्गसंघर्षका प्रकारहरु पनि विभिन्न छन् । वैचारिक, राजनीतिक, संगठनात्मक, आर्थिक र सांस्कृतिक विषयमा चल्ने संघर्ष, अन्तर्संघर्ष वा दुई लाइनसंघर्षहरु पनि वर्गसंघर्षकै प्रकार र परिणामहरु हुन् !

यस्तै वर्गसंघर्षका स्वरुपहरु पनि दुई थरी छन् । एउटा हुन्छ शत्रुतापूर्ण, निषेधात्मक र विध्वंसात्मक अनि अर्को हुन्छ मित्रतापूर्ण, स्वीकारात्मक र रचनात्मक । 

अब यी विविध पक्षबारे संक्षिप्तमा अलग अलग चर्चा गरौं ।

क. स्थानका हिसाबले वर्गसंघर्षका क्षेत्रहरु : वर्गसंघर्ष उत्पन्न र अभिव्यक्त हुने वा सिर्जना, संचालन र समापन हुने ठाउँ वा केन्द्रहरु नै स्थानका हिसाबले वर्गसंघर्षका क्षेत्र मानिने स्थलहरु हुन् । ती हुन् -

अ) व्यक्ती :- वर्ग संघर्षको एउटा क्षेत्र व्यक्ती स्वयं हो ! व्यक्तीभित्र दुई विपरीत सही र गलत, असल र खराब, अग्रगामी र पश्चगामी, जुझारु र संझौतावादी, विद्रोही-क्रान्तिकारी र दलाल-अवसरवादी, स्वाधीन र पराधीन, देसभक्तिपूर्ण र देसद्रोही, स्वाभिमानी र आत्मसमर्पणवादी, बैज्ञानिक र रुढीबादी जस्ता विचार र प्रवृत्तिहरु रहेका हुन्छन् ! तिनका बीचमा स्वत: संघर्ष पनि भैरहेको हुन्छ ! कुनै काम वा कुरा गर्ने कि न गर्ने, कुनै प्रचलन मान्ने कि न मान्ने भन्नेजस्ता विषयमा व्यक्तिभित्र हुने अन्तर्द्वन्द्वलाई आत्मसंघर्ष भनिन्छ ! व्यक्तिको सामाजिक चेतना र दायित्वबोधले त्यो संघर्षलाई कति, कुन हदसम्म र किन चलाउने वा नचलाउने भन्ने निर्धारण गर्दछ ! यसरी कुनै व्यक्ति स्वयंले आफैभित्र आफ्नै सामाजिक-राजनीतिक चेतनाको बलले संचालन गर्ने आत्मसंघर्ष पनि अन्तर्संघर्ष हो र त्यो पनि वर्गसंघर्षकै एक रुप हो ! व्यक्तिभित्र सीमित भएर व्यक्ति स्वयंले संघर्ष गर्ने हुनाले व्यक्तिलाई पनि वर्गसंघर्षको एक क्षेत्र भनिएको हो !

आ) परिवार :- माथी अ मा उल्लिखित विपरीत विचार र प्रवृत्तिहरुको द्वन्द हुने अर्को क्षेत्र परिवार पनि हो ! परिवारमा पुराना र नयाँ, रैथाने र आगन्तुक, सत्तासीन र सत्ताहीन, कमाउने र न कमाउने, शिक्षित र अशिक्षित, पुरुष र महिलाजस्ता दुई भिन्न व्यक्ती, समूह वा समुदायहरु हुन्छन् र तिनका बिचमा सही र गलत वा व्यक्तिवादी र समाजवादी प्रकारका सोंच र संस्कारहरुबिच पनि सामाजिक, आर्थिक र राजनीतिक संघर्षहरु हुन्छन् ! कुनै एउटा परिवारका सदस्यहरुमा सीमित भएर चल्ने-चलाइने यो संघर्ष पनि वर्गसंघर्षकै एउटा भिन्न स्वरुप हो र यो चल्ने क्षेत्र एउटा परिवार हुने हुनाले वर्गसंघर्षको एउटा क्षेत्रको रुपमा परिवारलाई पनि मानिएको हो !

इ) समुदाय : कुनै व्यक्ती जब ऊ आफ्नो घरबाहिर निस्कन्छ तब त्यो छिमेकमा र टोलमा प्रवेस गर्छ र त्यहा विभिन्न वर्ग, जाती, लिङ्ग, धर्म, भाषा, क्षेत्र आदिका मानिसहरु भेटिन्छन् ! उनीहरुको त्यो समूह नै समुदाय हो र त्यो समुदायमा विविधताका कारण पनि विभिन्न खाले वेमेल बिचार, प्रवृत्ती र संस्कार-संस्कृती हुने हुँदा आपसमा संघर्ष हुन्छ ! त्यसैले समुदायलाई पनि वर्गसंघर्षको एउटा क्षेत्र मानिएको हो !

ई) पार्टी :- समुदायबाट अघि गएर मानिस आ आफ्नो विचार, बुझाइ, शिक्षा, सम्बन्ध र परिवेसका कारण विभिन्न राजनीतिक पार्टीहरुमा प्रवेस गर्दछन् ! पार्टी स्वयं एक मूल विचारको, वर्गको, लक्ष-उद्देश्यको संगठित शक्ति भएतापनी यसमा प्रवेस गरेका व्यक्तिहरुका विभिन्न वर्गीय, जातीय आदि विविध पृष्ठभूमि र सम्बन्ध-सम्पर्कका कारण विभिन्न चिन्तन र चरित्रकाबिच बेमेल र अन्तर्विरोध हुन्छ र विभिन्न विचार/जाती/क्षेत्र आदिसँग सम्बन्धित गुट-उपगुट वा स्वार्थसमूह-उपसमूहहरु बन्छन् र त्यहाँ पनि संघर्ष जोडदार नै चल्दछ । यसरी एउटै वर्ग, विचार, वृत्ती र बचनमा बद्ध एउटै पार्टीमा पनि विभिन्न वर्गका वर्गीय विचार र संस्कार बोकेका व्यक्ति वा समूहहरु बीच अन्तर्संघर्ष हुन्छ र त्यो कहिलेकाहिं त दुश्मनीपूर्ण र निषेधात्मक पनि हुने गर्दछ । त्यसैले त सामान्यतया अन्तर्संघर्ष भन्नाले कुनै पार्टीभित्रको लडाइ र उठकापटकी नै मुख्यरुपमा बुझ्ने गरिएको हो !

उ) सत्ता : वर्गसंघर्षको अर्को ठूलो र महत्वपूर्ण क्षेत्र सत्ता हो ! जब मानिसहरु राजनीतिक पार्टी हुँदै अन्तर्संघर्षका जटिल र कठिन मोड, उतारचढाव र उहापोहहरुलाई झेल्दै र अघिबढ्दै जान्छन् तब उनीहरुको गन्तव्य सत्ता हुन जान्छ र वर्गसंघर्ष पनि नयाँ, भिन्न र उच्च रुपमा सत्तामा वा सत्ता प्राप्तिको संघर्षमा नै प्रकट हुन पुग्दछ । सत्ता प्राप्तिको लागि हुने वर्गसंघर्षको भीषणताका क्रममा पार्टी र सत्ताभित्रको अन्तर्संघर्ष पनि भयावह नै हुन पुग्दछ ! सत्ता प्राप्तिको यो लालसा र लडाई हठ, दम्भ, अहङ्कार, शक्ति र स्वार्थमा आधारित हुनाले यो त यति निर्मम, निषेधात्मक र निर्णायक हुन्छ कि त्यहाँ कुनै न्याय, नैतिकता, नीति, नियम, निर्णय, निर्देशन आदिको कत्तिपनी मतलव हुंदैन ! यहाँसम्म कि न्याय समानता र सुखशान्तिको निम्ति जीवनभर लडेर आएका पार्टीका नेताहरु नै सत्ताको निम्ति पार्टीमा मात्र होइन सत्तामा पनि सत्तास्वार्थका निम्ति मरिहत्ते गर्छन्, मर्न-मार्न तयार हुन्छन् र ठुल्ठुला षड्यन्त्र गर्छन्, बीभत्स हत्याकाण्डका शृङ्खला नै चलाउँछन् र आफ्ना गुरु वा चेला, सहकर्मी र सहयोद्धा तथा एउटै लक्ष-उद्देश्यका अभियन्ताहरुलाई विपक्षीहरुको नाममा दमन गरी समन नै गर्दछन् ! यसरी यस्तो विडम्बना नै हुन्छ कि सत्ताको माध्यमबाट पूरै समाज र देसमा शान्ती, सुरक्षा, न्याय, समानता र स्वतन्त्रताको प्रत्याभूती दिने भन्ने ठुलाबडाहरु नै जब यो सत्ताको नेतृत्व वा त्यस्को आसपासमा पुग्छन्, तब तिनीहरु नै यस्ता निकृष्ट र तुच्छ अपराधहरु गर्न पुग्छन् ! त्यसैले त सत्तालाई वर्गसंघर्षको मात्र होइन, अन्तर्संघर्षको पनि सर्वोच्च र क्रूर क्षेत्र भनिन्छ । 

सत्ता संघर्षका रुपमा व्यक्तहुने वर्गसंघर्ष र अन्तर्संघर्षका क्षेत्रहरु पनि मुख्यतः तीन वटा छन् । ती सरकारमा हुने संघर्ष र सदनमा हुने संघर्ष र सडकमा हुने संघर्ष । सडकमा हुने संघर्ष एउटा ठुलो हाँक नै हो जो निर्णायक र निर्मम अनि भयङ्कर र भीषण पनि हुन्छ ! यो पनि मुख्यत: दुई रुपमा अभिव्यक्त हुन्छ : वैधानिक वा अवैधानिक, खुला वा भूमिगत, शान्तिपूर्ण वा सशस्त्र अर्थात् जन आन्दोलन वा जनयुद्ध/जनविद्रोह । 

ऊ) वर्ग : सामान्यतया समाजमा रहेका विविध वर्गहरु र मुख्यत: दुई वर्ग शोषक र शोषित वा उत्पीडक र उत्पीडित वर्ग र राष्ट्रहरुबीच चल्ने संघर्ष, लडाइ वा युद्धलाई राजनीतिक भाषामा वर्गसंघर्ष भनिन्छ । अन्तर्संघर्षको विस्तारित वा विकसित रुप वर्गसंघर्ष हो भने वर्गसंघर्षको मिहीन व सूक्ष्म रुप अन्तर्संघर्ष हो । यस्तै कुनै राजनीतिक पार्टीभित्र चल्ने वर्गसंघर्षलाई राजनीतिक शब्दावलीमा दुई लाइनसंघर्ष भनिन्छ ।त्यसैले वर्गसंघर्ष र अन्तरसंघर्ष वा दुई लाइन संघर्ष भन्ने कुरा कम्तीमा समाजमा वर्गहरु वा तिनका अवशेषहरु रहँदासम्म सार्वभौम, सार्वजनीन र सार्वकालिक मानिन्छन् !

जे होस्, विपरीत वर्गहरुमा चल्ने वर्गसंघर्ष अन्तर्संघर्षको एक अत्यन्त व्यापक, बृहद् र सर्वोच्च क्षेत्र हो । यो यति सर्वव्यापी छ कि व्यक्तिदेखी वर्ग हुँदै राष्ट्र र विश्वभरी नै शोषक र उत्पीडक वर्ग र राष्ट्रहरु यसको चपेटामा आउँछन् र पूरै विश्व नै अन्तर्संघर्ष अर्थात् यसको सर्वोच्च रुप वर्गसंघर्षको क्षेत्र बन्न पुग्दछ !

 

ख. विषयका हिसाबले वर्गर्संघर्षका क्षेत्रहरु :

ख. विषयवस्तुका हिसाबले अन्तर्संघर्षका क्षेत्रहरु मुख्यत: तीन प्रकारका रहेका छन् । ती हुन् -

अ) वैचारिक-राजनीतिक क्षेत्र : दर्शन, दृष्टिकोण, सिद्धान्त, नीति, कार्यक्रम र कार्ययोजनासँग सम्बन्धित विषयमा चल्ने विवाद, बहस, खण्डन, मण्डन, समर्थन, विरोध, छलफल, टिप्पणी र आलोचनाजन्य अन्तर्संघर्षहरु यसै क्षेत्रमा पर्दछन् ! स्मरणीय छ कि तत्कालीन सोभियत रुस र चीनका दुई कम्युनिस्ट पार्टी बिचमा चलेको महाविवाद पनि सर्वहारवर्गीय क्रान्तिकारी विचार र राजनीति एवं पुँजीवादी प्रतिक्रान्तिकारी वर्गीय विचार र राजनीतिसम्बन्धी संघर्ष पनि अन्ततः र सारत: वर्गसंघर्ष नै थियो जो पछिल्तिर आएर सबैका सामु छर्लङ्ग नै भएको छ । स्पष्ट छ कि अहिले रुसमा समाजवाद होइन पुँजीवाद समृद्ध बनेको छ ! यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीभित्र चलेको दुई लाइनसंघर्षको अभिव्यक्ती स्वरुपमहान् सर्वहारा सांस्कृतिक क्रान्ती पनि पार्टी, राज्य र समाजमा विद्यमान पुँजीवादपन्थी अवसरवादी र मार्क्सवादपन्थी क्रान्तिकारीबीच चलेको भीषण वर्गसंघर्ष नै भएको जग जाहेरै छ !

आ) संगठनात्मक क्षेत्र : कुनै निश्चित उद्देश्य प्राप्तिको लागि प्रतिबद्ध र कटिबद्ध मानिसहरूको समूह नै संगठन हो ! यसलाई कसरी बनाउने, कस्तो बनाउने र कसरी परिचालन गर्ने भन्नेजस्ता विषयहरुमा केन्दृत भएर संगठनभित्र वा बाहिर पनि चल्ने अध्ययन , चिन्तन, मनन र विचार विमर्श, बहस र विवाद आदि सबै संगठनात्मक क्षेत्रका अन्तर्संघर्ष अर्थात् वर्गसंघर्ष नै हुन् । लक्ष अनुसारको संगठन, संघ, संस्था वा अभियान-प्रतिष्ठान भएन भने लक्ष प्राप्ति नहुने मात्र होइन कि उल्टै लक्षनै उल्टिने वा सिद्धिने खतरा हुन्छ । त्यसैले संगठन पनि समाजमा चल्ने वर्गसंघर्षकै भित्री रुप अन्तर्संघर्षको एउटा मूल थलो नै हो !

अझ यतिमात्र पनि होइन, वास्तवमा यही संगठनभित्रै संगठनको लक्ष-उद्देश्य के कस्तो हुने र कसरी प्राप्त गर्ने भन्नेबारेमा पनि अत्यधिक छलफल, विवाद र संघर्ष हुन्छ जो वर्गसंघर्षसँगै अभिन्न रुपले जोडिएको हुन्छ ! त्यसैले संगठनलाई अन्तर्संघर्षको मात्र नभएर वर्गसंघर्षकै एउटा मुख्य क्षेत्र भनिएको हो !

इ) आर्थिक-सांस्कृतिक क्षेत्र : राज्य र समाजमा हुने आर्थिक-सांस्कृतिक कृयाकलाप र तीसँग सम्बन्धित यावत विषयहरु पनि वर्गर्संघर्षका क्षेत्र हुन् ! यी विषयहरु हाम्रो समाजमा अघिल्ला विषयहरुभन्दा झन् बढी संवेदनशील र गम्भीर मानिन्छन् । त्यसैले सार्वजनिक र राष्ट्रिय जीवनका व्यक्ती र शक्तीहरुका आर्थिक वा सांस्कृतिक कामकार्वाहीहरु प्रति सार्वजनिक निगरानी, चासो, चिन्ता, आलोचना र विरोध हुने गर्दछ र त्यसप्रकारका शक्ति र व्यक्तिहरु र तिनका पक्ष-विपक्षमा सरोकारवाला आम जनसाधारणका बीच विरोध र समर्थनस्वरुप विरोध र समर्थनका रुपमा र्संघर्ष अभिव्यक्त हुन्छ जो सारमा वर्गसंघर्ष र अन्तर्संघर्ष नै हो ।

यसका अतिरिक्त राज्य र समाजका निम्ति के कस्ता आर्थिक, सामाजिक र सांस्कृतिक मूल्य-मान्यता, नीति-नैतिकता, विधि-विधान, रीती-स्थिती र चाड-पर्वहरु मान्ने-नमान्ने भन्ने आम जनसरोकारका विषयहरुका बारेमा हुने मत-मतान्तर र स्वीकार-बहिष्कार आदि पनि वर्गसंघर्ष वा अन्तर्संघर्षकै विविध रुप र परिणामहरु हुन् किनकी यस्ताव संघर्षहरु अन्ततः दुई वर्ग प्रतिक्रियावादी र प्रगतिवादी वर्गसंग जोडिएका हुन्छन् !

 

निष्कर्ष :

समाजमा वर्गहरु छन् ! ती वर्गहरु रहेका समाजका व्यक्ती, पार्टी, संघसंस्था, संगठन र सत्तामा अन्तर्संघर्ष वा दुई लाइनसंघर्ष अनिवार्य रुपले विद्यमान हुन्छ । यो अन्तर्संघर्ष वा दुई लाइनसंघर्ष समाजमा रहेका वर्गहरु र तिनका बिचको संघर्षको प्रतिबिम्बन हो ! यसको क्षेत्र विशाल र बहुआयामिक छ भने यसका स्वरुपहरु पनि विविध प्रकारका छन् । मित्र वर्ग, व्यक्ती वा शक्तिहरुबिचको संघर्षको मूल प्रवृत्ति मैत्रीपूर्ण र रचनात्मक हुन्छ र गराउनु पर्छ भने दुश्मन वर्ग, व्यक्ती र शक्तिहरु बिचको संघर्षको मूल प्रवृत्ति दुश्मनीपूर्ण र विध्वंसात्मक हुन्छ भन्ने कुरामा वैचारिक रुपले स्पष्ट हुनु पर्दछ । साथै कहिलेकाही मित्र शक्तिबिचको संघर्ष पनि दुश्मनीपूर्ण हुने र दुश्मन शक्तिहरु बिचको संघर्ष पनि मैत्रीपूर्ण हुने हुन्छ । सारत: ती शक्तिहरुको वैचारिक-राजनीतिक रुपमा आएको परिवर्तन, रुपान्तरण वा विचलन र शक्तिसन्तुलनसङ्गै मित्रतापूर्ण हुनुपर्ने संघर्ष दुश्मनीपूर्ण र दुश्मनीपूर्ण हुने संघर्ष पनि मित्रतापूर्ण हुने हुन्छ । त्यसैले के कारणले कुन वर्ग, शक्ति, व्यक्ती वा विचारमा केकस्तो र किन विचलन, परिवर्तन वा रुपान्तरण भएको हो भन्ने कुरा बुझेर मात्र अन्तर्संघर्ष र वर्गसंघर्षका स्वरुप र विधिहरु तय गरिनु पर्दछ, अन्यथा अनावश्यक अति क्षति हुने हुन्छ !

धन्यवाद !!

 

लेखक नारायण शर्मा नेकपाका 'पुस्तकालय तथा अभिलेख विभाग'का प्रमुख हुन् ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ