सुरेन्द्र पाण्डेविरुद्धको नाराबाजीबारे !

2020-11-25

लेखक : नारायण शर्मा

चितवनको लोथरमा भएको हाम्रो सरकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीको एक कार्यक्रमका प्रमुख अतिथि त्यसै निर्वाचन क्षेत्रका सांसद र पार्टी स्थायी समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, जो हालको पार्टीभित्री गुटगत संघर्षमा माधव-प्रचण्डगुटका हस्ती भनिन्छन्, बोल्दाबोल्दै विपक्षी ओली गुटका नेता-कार्यकर्ताहरुबाट गरे-गराइएको हुटिङ, होहल्ला र हुलहुज्जत एवम् नारावाजी एकातिर नियोजित र प्रायोजित देखिन्छ भने अर्कातिर लोकतन्त्र, पार्टी अनुशासन, नीति र विधिविधान विपरीतको देखिन्छ ! त्यस प्रकारको व्यवहार अलिकति अमर्यादित, अशोभनीय, अवान्छित, अभद्र, अशिष्ट, अपृय र अराजक चिन्तन-प्रवृत्तिको द्योतक लागेपनी वास्तवमा त्यो पार्टीभित्रको पद, प्रतिष्ठा, पावर र पैसा प्राप्तिको लागि चर्किएको शीर्षतहको गुटगत संघर्ष हेर्दा त्यसैको स्वाभाविक परिणाम पनि लाग्दछ !

पार्टीभित्र देखिने यसप्रकारका घटनाको मुख्य कारण पार्टी र त्यसका मुख्य नेताहरु नै क्रान्तिकारी विचार-राजनीति, लक्ष-उद्देश्य, दिशा-गन्तव्य, मूल्यमान्यता, विधि-पद्धतीबाट विचलित र स्खलित हुनु नै हो ! जब एउटा कम्युनिस्ट पार्टी यसरी कम्युनिज्मका घोषित नीति-सिद्धान्त, विचार-आचार र लक्ष-उद्देश्यबाट विचलित, स्खलित र पतीत हुन्छन्, तब पार्टीभित्र विभिन्न गुट-उपगुट(स्वार्थसमूह)हरु बन्छन् र तिनै समूहहरुका बीचको अराजनीतिक र दुश्मनीपूर्ण अन्तर्संघर्ष अर्थात् गुटीय झगडाको रुपमा यसप्रकारका घटनाहरु हुन्छन् ! यसरी यो घटना पनि पार्टी नेतृत्वबाटै निशृत हो भन्ने देखिन्छ !पार्टीमा वर्गसंघर्षको प्रतिविम्बनको रुपमा देखापर्ने यसप्रकारका संघर्षहरु, जस्लाई हामी अन्तर्संघर्ष र दुई लाइनसंघर्ष भन्छौं, ती जबसम्म विचार-राजनीती केन्दृत हुन्छन्, तबसम्म ती स्वच्छ, मैत्रीपूर्ण र रचनात्मक हुन्छन् र तिनको स्वरुप एकता, संघर्ष र रुपान्तरण हुँदै परिणामत: नयाँ आधारमा नयाँ, उन्नत र उच्चस्तरको एकतामा पुग्दछ अनि पार्टी र क्रान्ती सामुका विभिन्न नयां, जटिल र गम्भीर समस्या र चुनौतीहरुको समाधानार्थ झन् झन् नयाँ, उन्नत, क्रान्तिकारी र बैज्ञानिक विचार, विधि र व्यवहारको अनुसन्धान र अवलम्बनमा पुग्दछ ।

तर जब त्यो पार्टी र तिनका शीर्षतम नेताहरु नै पार्टीको घोषित विचार, राजनीती, विधि, पद्धति, योजना र कार्यक्रमअनुसार नभै आफ्नो व्यक्तिगत र गुटगत सोंच, सनक र स्वार्थ अनुसार चल्छन् र पार्टीलाई पनि त्यसै अनुसार चलाउन खोज्छन्, तब पार्टीमा यसप्रकारका गुट (स्वार्थसमूह) हरु बन्ने र तिनका बीचमा नीति विशेषलाई लिएर भन्दा नेता विशेषलाई लिएर, विचार विशेषलाई लिएर भन्दा व्यक्ती विशेषलाई लिएर, वर्ग विशेषलाई लिएर भन्दा गुट विशेषलाई लिएर, सेवा विशेषलाई लिएर भन्दा स्वार्थ विशेषलाई लिएर संघर्ष हुन्छ, तब त्यो अन्तर्संघर्ष अस्वस्थ, अमैत्रीपूर्ण र अराजक तरिकाले चल्छ तब त्यसले वर्गसंघर्षको अर्थात् दुश्मनीपूर्ण र विध्वंसात्मक रुप लिन्छ र पार्टीका नेता-कार्यकर्ताका बीचमा द्वन्द्व-प्रतिद्वन्द्व र घात-प्रतिघात हुने गर्दछन् ! फलत: पार्टीमा टुट, फुट, विभाजन र विसर्जन हुने गर्दछ । अहिले यही प्रकृया सुरु भएको संकेतको रुपमा चितवन घटनालाई लिन सकिन्छ ।

यसरी स्पष्ट छ कि आफ्नै पार्टीका नेताका विचार र व्यवहारको वैचारिक प्रतिवाद गर्न नसकेर भौतिक प्रतिरोध गरेमा हुने उपलब्धी आत्मरती र अहंकारको तुष्टि र प्रतिशोधको पूर्ती त होला तर क्षति त पार्टीको बेइज्जती, विभाजन, विघटन र विसर्जनसम्म हुने खतरा हुन्छ । वास्तवमा कम्युनिस्ट पार्टीमा क्रान्तिकारी विचारमा विचलन, व्यवहारमा विकृतीकरण र मूल्य-मान्यताको मानमर्दन अनि नीति-नैतिकतामा अनास्था र विधिपद्धतिको बेवास्था हुने हो भने आउने परिणाम यस्तै हो !

सुरेन्द्र पाण्डेका विचार र व्यवहारहरु जनहितविरोधी, राष्ट्रहितविरोधी, क्रान्तिविरोधी र सर्वहारा वर्गविरोधी नै छन् भने तिनको निर्ममतापूर्वक विरोध, भण्डाफोर र चिरफार गर्नु आवस्यक र औचित्यपूर्ण नै हो । त्यसै सभामा तथ्य र तर्कसंगत ढङ्गले राजनीतिक र वैचारिक दृष्टिले खण्डन र भण्डाफोर गर्दा कती उपलब्धिपूर्ण हुन्थ्यो होला !? यदी उनी भ्रष्टाचारी हुन् भने त्यसको डाटा प्रमाणसहित त्यो उजागर गरिनु देस, जनता, पार्टी र क्रान्तिको लागि कति उपलब्धिपूर्ण हुन्थ्यो !? त्यसैगरी उनी भारत वा अमेरिकाजस्ता विस्तारवादी र साम्राज्यवादी शक्तिकेन्द्रका दलालै बनेर संसदबाट राष्ट्रघाती नागरिकता विधेयक र MCC जस्ता खतरनाक विषयहरु पास गर्ने-गराउने दुस्प्रयासमा सकृय छन् र उनी रअ र सीआईए जस्ता हस्तक्षेपकारी हत्यारा जासुसी संस्थाको नीति-निर्देशन र षड्यन्त्रमा चल्न खोजेका हुन् भने ती सबैको सत्यतथ्यसहितका दसीप्रमाण राखेर पोल खोली नाङ्गेझार पारेको भए त्यो संघर्ष कति शानदार वैचारिक-राजनीतिक संघर्ष हुन्थ्यो र देस, जनता र क्रान्तिको हितमा हुन्थ्यो !?

तर विडम्बना, त्यसो नगरेर वा गर्न नसकेर अथवा त्यसो गर्ने सही विचार, स्वच्छ आचार, सद्बुद्धि, स्वविवेक र सबलता नभएर हो वा त्यसप्रकारका गल्तिकमजोरी सुरेन्द्रबाट भएको नदेखेर हो आवेग र उत्तेजनामा आएर अलि अराजनीतिक, अभद्र, अमर्यादित र अवान्छित तरिकाले बाहु बलको वैकल्पिक विधि र बाटो अबलम्बन गर्न खोज्दा साथी सुरेन्द्र पाण्डेमाथी भए-गरेको त्यो अकल्पनीय घटना-व्यवहार राष्ट्रका अहं महत्वका अत्यन्त गम्भीर र संवेदनशील मुद्दाहरुमा सारत: एकै स्थानमा देखिने व्यक्ती र प्रवृत्तिहरुबीच हुने यसकिसिमको हर्कतलाई विचित्र नै मान्नु पर्दछ ! विचित्र यस अर्थमा पनि कि विचार र आचारमा खास र सारमा त्यस्तो गुणात्मक अन्तर नभएका व्यक्ती, शक्ति र प्रवृत्तिका बिचमा सामान्यतया त्यस्तो नहुनुपर्नेमा त्यस्तो भएको छ ! यस्ले गर्दा ओलीगुटलाई यो घटना प्रत्युत्पादक भएको छ भने प्रचण्ड-माधव गुटलाई तुलनात्मक रुपले फाइदा भएको छ । त्यसैलाई भजाउँदै अस्ति मात्रै गण्डकी प्रदेसको प्रचण्ड-माधव समूहको भेला अपेक्षाकृत बढी सफल भएको छ ! यस्ता कुरा समेत थाहा चाहियो थाहा !?

थाहा आन्दोलनका प्रणेता आदरणीय र अनुकरणीय नेतृत्व र व्यक्तित्व रुपचन्द्र विष्टको जन्म, कर्म र गृहभूमी नजिकैका नेताकार्यकर्ता र उनका सहकर्मी-सहधर्मी शीर्ष-सर्वोच्चहरुलाई यत्ती पनि थाहा नहुनु दुर्भाग्य भएको छ ! पार्टी र सरकारभित्रका यस्ता धम्कीदाता, धुन्धुकारी र धमिराहरुमाथी पार्टी र सरकारले कडा कार्वाहीको शुरुवात यहींबाट गरे शान्तिपूर्ण भनिएको अहिलेको यो राजनीतिक संघर्षको सन्दर्भमा घनवाद, गनवाद, डनवाद र धनवादको प्रयोग, प्रभाव, प्रकोप, प्रदूषण र प्रपन्चलाई दूर वा कम गर्न सकिन्थ्यो र पार्टीभित्रको यसप्रकारको गुटगत झगडालाई विचार-राजनीतिकेन्दृत स्वस्थ, रचनात्मक र क्रान्तिकारी अन्तरसंघर्ष र दुई लाइनसंघर्षमा बदल्न सकिन्थ्यो कि ?

तर विडम्बना गुट, कुट र लुटमा आधारित यो संसदीय फोहोरी राजनीतिमा उक्त घटना-व्यवहारलाई गुटकै नेताको नाताले माधव र झलनाथले त निन्दा गरे तर दुखको कुरा पार्टीका कार्यकारी अध्यक्ष र जिल्लावासी सहयोद्धा एवं यो गुटीय लडाइँमा एउटा गुटको नेतृत्व गर्दै त्यस गुटका तर्फबाट प्रस्तुत प्रस्तावका लेखक समेत रहेका नेता (स्मरणीय छ, सुरेन्द्रले उक्त प्रस्तावको पक्षमा प्लिट गर्दा नै सहभागी विपक्षी वली गुटका नेताकार्यकर्ताहरुलाई उत्तेजित र आक्रामक हुने निहुँं मिलेको थियो) का नाताले न प्रचण्डले मुख खोले न त सरकार, पार्टी र संसदीय दलका नेता अथवा भनौं देसका प्रधानमन्त्री र पार्टीका एक नं अध्यक्ष अर्थात् प्रमुख संरक्षकका नाताले ओलीको बोली फुट्यो !

यसरी नै पार्टीमा स्वतन्त्र (गुट निरपेक्ष) भएर एकता र सहकार्यको निम्ति संकीर्ण समूहहरु बीच समन्वय र सन्तुलनमा सकृय रहनुभएका भनिएका नेता र जनधनको सुरक्षा गरी रामराज्यको अनुभूति दिलाउने जिम्मेवारी बोकेका जनयोद्धा रामबहादुर थापा बादलबाट बम, बारुद र बन्दुक विस्फोट गर्ने कुरा त भएन तर वक्तव्यवाजीसम्म पनि भएन भने अरु ठुला र कडा कार्वाहीको कोबाट के आशा गर्ने ? अनि यसप्रकारका नेता-कार्यकर्ता, नीति-विधि, विचार-आचारबाट देस र जनताको मुक्ती र प्रगतिको अनि समाजवाद र समृद्धिको क्रान्तिकारीहरुले के कति आश गर्ने ?

 

लेखक नारायण शर्मा नेकपाका 'पुस्तकालय तथा अभिलेख विभाग'का प्रमुख हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ