भ्रस्टाचार : बडाहरुको बिचित्र र बिडम्बनापूर्ण बिशेषता !

2020-11-21

" बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत !?
छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित !!??"
- लेखनाथ पौड्याल
(तर पछिका ?? मेरा )
ठुलाबडा भनिने, गनिने र मानिनेहरुका बारेमा संश्लेषित उक्त काव्यात्मक कथनले पहिलेदेखि अहिलेसम्मकै हाम्रो समाजका ठुलाबडाका विचार र आचार र तिनको बीचमा देखिएको वेमेल र विपरीतता अनि तिनकाप्रति समाजको सोंच, संस्कार र संस्कृतिलाई उजागर गर्दछ ! आज देसमा सत्ता, शक्ति, सीन र संचारका सर्वोच्चदेखी सर्वत्रसम्ममा वा तिनको आसपासमा भएका ठुलाबडा भनिएकाहरुका भनाइ र गराइमा देखिएका वेमेल, विपरीतता, विकृती, विसङ्गती र विरुपताको एउटा कारण हाम्रो यही माथिको पद्यमा अभिव्यक्त परम्परागत चिन्तन र चरित्र पनि हो जस्तो लाग्छ ! यद्यपि आज विकसित र विस्तारित भ्रष्ट पुँजीवाद, दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद र आसेपासे पुँजीवाद अनि चकारवादको प्रकोप र प्रभाव नै भ्रष्टाचारको मुख्य र निर्णायक श्रोत र कारणको रुपमा रहेको छ !

जेहोस्, यसै पृष्ठभूमि र परिवेशमा आज हाम्रो सत्ता, सरकार, सदन, संगठन र संयन्त्रमा आसीन ठुला-बडाहरुमा पनि केही विचित्रका विविध विशेषता देखिएका छन् ! तीमध्ये सर्वाधिक प्रमुख र प्रभावकारी विचित्र र विडम्बनापूर्ण विशेषता हो भ्रष्टाचार ! आज भ्रष्टाचार भन्नाले बुझिने प्रथमतः र मुख्यत: आर्थिक अनियमितताजन्य जनविरोधी, राष्ट्रविरोधी र विकासविरोधी अपराधहरु नै हुन् ! तथापि भ्रष्टाचारको अर्थ, आयाम, प्रकार र प्रभाव वा परिणाम अलि व्यापक र बहुआयामिक छ । त्यसैले अहिले यहाँ विशेषत: भ्रस्टाचारका केही प्रकारका बारेमा मात्रै भएपनि चर्चा गर्नु वान्छनीय मात्र होइन, अनिवार्य नै भएको छ र यहाँ थोरै कोर्ने जमर्को गरिएको छ !

भ्रस्टाचार शब्दको ब्युत्पत्ती हेर्दा (भ्रष्टाचार : भ्रष्ट + आचार = भ्रष्टाचार ) भ्रष्ट र आचार दुई शब्द मिलेर बनेको देखिन्छ । यसरी एक सोझो अर्थमा आचरण भ्रष्ट भएको कार्य अथवा आचारसंहिताबाट विचलित भएर गरिने कार्य भन्ने बुझिन्छ तर यसको अर्थ यतिमा मात्र सिमित छैन ! आचार वा आचारसंहिता र आचारगत मूल्यमान्यताबाट मात्र नभएर विचार र राजनीतिदेखि आचार-व्यवहारसम्मका विविध विषयहरुमा भए-गरेका विचलन, विघटन, विसर्जन अथवा विस्मृत, विकृत, विसङ्गत र विस्मित गतिविधिहरु भ्रस्टाचारभित्र पर्दछन् !
हेरौं - भ्रस्टाचारका यी विविध प्रकारहरु :

क. वैचारिक भ्रस्टाचार :
अ. अवलम्बित अर्थात् प्रतिबद्ध र कटिबद्ध विचार-दर्शन र नीति-सिद्धान्तको परिष्कार- परिमार्जन, परिवर्तन र विकासको नाममा संशोधन, तोडमरोड, अपव्याख्या, अनर्थ आदि भ्रष्टीकरणद्वारा भए-गरेका र हुने-गरिने भ्रष्टाचारहरु यसै वैचारिक भ्रस्टाचारभित्र पर्दछन् ।

आ. आफ्नो घोषित ध्येय-उद्देश्य र लक्ष-गन्तव्यबाट विस्मरण, विचलन, विघटन र विसर्जनजन्य विभिन्न कृयाकलापहरु पनि यसै वैचारिक भ्रष्टाचारका अभिव्यक्तिहरु हुन् ।

ख. राजनीतिक भ्रस्टाचार :
राजनीतिक कार्यदिशा- कार्यक्रम, नीति-नियम, नारा-निर्देशन, ऐन-कानून, विधि-विधान र पद्धति-परंपरा आदिको अनदेखा, उल्लंघन र परित्यागमार्फत भए-गरेका र हुने-गरिने काम-कार्वाहीहरु राजनैतिक भ्रस्टाचारका दायरामा पर्ने भ्रष्टाचारहरु हुन् !

ग. आर्थिक भ्रष्टाचार :
अनियमित तरिकाले आफू वा अर्को कुनै निश्चित व्यक्ति, शक्ति वा समूहलाई अनुचित आर्थिक लाभ पुराउने गरी भए-गरिएका सामूहिक, सरकारी, सामाजिक वा सार्वजनिक सम्पत्तिको अपचलन, अपव्यय, फजुल खर्च, घुसखोरी, कमिसनखोरी, दलाली, नजराना, करछली, राजश्व ठगी, करभार वृद्धि, कालाबजारी, महङ्गी, अनुदान, चन्दा, पुरस्कार, भत्ता, सुविधा, बोनस आदि मार्फतका अवान्छित आर्थिक लेनदेनसँग सम्बन्धित कार्यहरु आर्थिक भ्रष्टाचारका दायराभित्र पर्दछन् । सोझो र सामान्य अर्थमा भ्रस्टाचार भन्नाले यसै अन्तर्गतका आर्थिक लेनदेनसँग सम्बन्धित गतिविधिहरु भनेर बुझिने गरिएको छ ।

घ. सांस्कृतिक भ्रष्टाचार :

सोकाल्ड सज्जनद्वारा हुने सर्वमान्य सोंच, शैली, सभ्यता, संस्कार, संस्कृति, संहिता र समाजविपरीतका चरित्रहीन, नैतिकताहीन, मूल्यमान्यताहीन, अनुशासनहीन र आचारसंहिताहीन कृयाकलापहरु यसै सांस्कृतिक भ्रष्टाचारभित्र पर्दछन् ।

समग्र र सारमा सरल र स्पष्ट शब्दमा भन्नू पर्दा आज देसका नेता-नायक, वेत्ता-विधायक, शासक-प्रशासक, व्यापारी-बुद्धिजीवी, विज्ञ-विशेषज्ञ वा धनपती-गनपति आदि जो जतिले आफूलाई देस र दुनियाँभन्दा, सहयोद्धा र सहकर्मीभन्दा, राज्य र राजनीतिभन्दा, विधि र विधानभन्दा, पार्टी र पद्धतिभन्दा ठुलाबडा देखाउने धृष्टता, धूर्त्याइँ र धाकधक्कू गरिरहेका छन्, तिनका विगतदेखि वर्तमानसम्मका सम्पूर्ण कृयाकलापहरु मिहीनरुपमा गहिरोसङ्ग खोतलेर हेर्ने हो भने बाहिर उनीहरु जति राम्रा, असल, महान्, भद्र र स्वच्छ देखिन्छन्; भित्रभित्रै उनीहरु त्यति नै कुरुप, खराब, नीच, अभद्र र भ्रष्ट पाइन्छन् ! यतिमात्र होइन, उनीहरु त गुण्डा, हिंस्रक, ठग, बेइमान, व्यभिचारी, योनदुराचारी, अनैतिक, निकृष्ट र पतीत पनि हुन्छन् ! त्यसैले त भन्न खोजिएको हो कि भ्रष्टाचार ठुलाबडाहरुको बडो बिचित्रको बिडम्बनापूर्ण बिशेषता भो भनेर ! यो खालि भन्नको लागि वा आरोपित र अपमानित गर्नको लागि अनुमानको आधारमा अभिव्यक्त गरिएको होइन ! यस्ता केही कुरा त अहिले पनि प्रमाणित भैरहेका छन् र भोलि समयक्रमसङ्गै अरु पनि कैयौं प्रमाणित हुने छन् !

समाजमा सानसौकत र रोवरवाफ देखाउने यी पद, पावर, पहुँच, पैसा र प्रतिष्ठाले पुरिएकाहरुको बाहिर देखाउने र भित्र गर्ने दुईथरी रुप हुन्छन् ! तथापि विडम्बना यो भएको छ कि यिनै भ्रस्टाचारी, बलात्कारी र ब्यभिचारी भ्रष्ट, दुष्ट, दास र दलालहरुलाई आज जानाजान प्रार्थना, पूजा, प्रशंसा, प्यार र प्रसस्ति पनि गरिएको दु:खद स्थिति छ !

यस्तो देख्दा लाग्छ कि यी भ्रष्ट, दुष्ट र निकृष्ट कथित ठुलाबडाहरुको जस्तो दोहोरो चरित्र अर्थात् "भित्र-भित्र कुहिजा, बाहिर-बाहिर निको होइजा"को जस्तो अनैतिक, अपवित्र, अवान्छित र अपृय आचरण र व्यवहार अवलम्बन र प्रदर्शन गर्न नसक्नेहरु वा नगर्ने स्वच्छ, स्वाभिमानी, स्वतन्त्रताप्रेमी, स्वविवेकी र स्वावलम्बी छोंटाहरु असक्षम, असफल, अमिल्दा, अपाच्य र अलोकपृय हुन् र तिनको यो दुनियाँमा कुनै काम नै छैन !? उनीहरु खालि दुख गर्न, उपेक्षित हुन, अपमानित बन्न र घृणित-तिरष्कृत हुन यो संसारमा जन्मिएका हुन् !? होइनन् ! एक, दुई, तीन होइनन् !! हुँदै होइनन् !!!

प्रस्ट छ, पुँजीवादी शक्ति, समाज र सत्ताको पर्याय बनेको यो भ्रष्टाचार पुँजीवादको प्रकोप हुँदासम्मको लागि मात्र हो ! त्यसैले यसको समग्र चिरफार गर्नु र यसकै चिहानमा समाजवाद-साम्यवादको सुन्दर संसार सिर्जना गरेर मात्रै माथि उल्लिखित र अन्य थुप्रै प्रकारका भ्रष्टाचार र भ्रष्टाचारजन्य अपराधहरुलाई अन्त्य गर्न सकिन्छ ! र, हामी सम्पूर्ण स्वच्छ र सच्चा साम्यवादीहरुले यो अभिभारा पूरा गर्न सक्नैपर्छ ! त्यसको लागि हामीले पनि हाम्रो सोंच, संस्कार र शक्तिलाई स्वच्छ र साहसयुक्त पार्दै संगठितरुपमा संयुक्त संघर्षमा समर्पित हुनु जरुरी छ ।

धन्यवाद !

 

लेखक नारायण शर्मा नेकपाका 'पुस्तक तथा अभिलेखालय विभाग'का प्रमुख हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ