देउवालाई निर्णय फिर्ता गराउन पौडेल र सिटौलाको हातेमालो

2020-09-06

काठमाडौं - सभापति शेरबहादुर देउवाले गरेका निर्णय फिर्ता गराउन संस्थापन इतरका दुई समूह पुनः एकै ठाउँमा उभिने भएका छन्।

मनोनित केन्द्रीय सदस्य र विभागमा नेता कृष्णप्रसाद सिटौला पक्षले भाग लिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग सम्बन्ध टाढिएको थियो। देउवाको पछिल्लो निर्णय क्रमले ‘महाधिवेशन प्रभावित पार्ने खेल’बुझेका दुवै पक्ष एकै स्थानमा उभिने भएका हुन्।

वरिष्ठ नेता पौडेल पक्षले सभापति देउवाको निर्णयविरुद्धमा निर्णय गर्न बोलाइएको शनिबारको भर्चुअल मिटिङमा सिटौला पक्षका नेताहरु पनि सहभागी भएका थिए। नेता गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरी भर्चुअल मिटिङमा सहभागी भएका थिए। शनिबारको बैठकमा सिटौला भने सहभागी भएनन्। देउवाले आफूखुसी गरेका निर्णयविरुद्ध संस्थापनइतरका दुवै समूह सँगसँगै जानेमा प्रतिबद्ध रहेको पौडेल पक्षका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। बैठकमा २४ जना सहभागी थिए।

क्रियाशील सदस्यता वितरणमा सभापतिले अन्य पक्षको सहमति नलिइकन विधानभन्दा बाहिरबाट फारम वितरण गर्न थालेसँगै दुवैपक्ष देउवाविरुद्ध दबाबका कार्यक्रम गर्न सहमत भएका हुन्। पौडेल पक्षले मनोनित केन्द्रीय सदस्य र विभाग गठनमा सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ। महाधिवेशन कार्यतालिका प्रकाशित भइसकेपछि भएका निर्णय फिर्ता गराउन सिटौला पक्षलाई पनि साथसाथै लैजानुपर्ने आवाज उठेपछि दुबै समूह एकै ठाउँमा आइपुगेका छन्।

मनोनित केन्द्रीय सदस्य र विभागमा भागबण्डा लिएर देउवालाई सहयोग पुर्‍याएको आरोप सिटौला पक्षले झेल्दै आएकोे थियो। गत फागुनमा देउवाले शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको संयोजक तोकेका थिए भने सुधीरकुमार शिवाकाटी आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए।

भर्चुअल मिटिङमा प्राप्त रायका आधारमा तीन दिनभित्र विरोधको दस्तावेज तयार गर्ने नेता घिमिरेले जानकारी दिए। घिमिरेसहित जीवन परियार र बद्री पाण्डेले तयार गरेको प्रतिवेदनलाई परिमार्जनसहित केन्द्रीय कार्यालयमा दर्ता गर्ने बताइएको छ।

‘केन्द्रीय समितिको नाममा भएका निर्णय फिर्ता गराउन अल्टिमेटमसहित दर्ता गरिनेछ,’ घिमिरेले भने,‘अल्टिमेटमको अवधिभर देशभर अन्तर्क्रिया हुन्छ। त्यसलगत्तै ७७ जिल्लामा धर्ना सुरु हुन्छ,’ धर्नाबाट माग सुनवाइ नभए रिले अनशन सुरु गर्ने संस्थापन इतरको तयारी छ।

देउवाले आफ्ना निर्णय फिर्ता नलिए दबाबको अन्तिम रुप आमरण अनशन हुने बताइएको छ। आफ्नो समूहका नेताले केन्द्रीय समितिबाट राजीनामा दिने विषय उठे पनि दबाबको कार्यक्रमका लागि तयार प्रतिवेदनमा समावेश भने गरिएको छैन। दबाब बढाउन नेताहरुले स्वविवेकमा निर्णय गर्न सक्ने बताइएको छ।

पछिल्लो समय संस्थापनइतर समूहले देउवाले जिल्ला सभापतिभन्दा बाहिरबाट क्रियाशील सदस्यता वितरण गरेकाे जनाएको छ। दुई समूहका नेताहरुको भर्चुअल मिटिङमा डडेल्धुरा,सर्लाही,कैलाली,रसुवा लगायतका जिल्लामा ‘आउट डोर’बाट क्रियाशील सदस्यता वितरण भएको बताएका थिए। गत फागुनमा देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएका डडेल्धुराका जनकराज कनौलीको नाममा सभापतिको गृह जिल्लामा ११ सयभन्दा बढी क्रियाशील सदस्यता गएको बताइएको छ।

जिल्ला सभापति कर्णबहादुर मल्ल सभापति देउवाभन्दा फरक समूहमा रहेकै कारण देउवाले विधानभन्दा बाहिरको बाटो रोजेको बताइएको छ। मल्लले जिल्लामा संगठन समायोजनको कार्य सकेर नामावली केन्द्रमा पठाए पनि विवाद रहेको जनाउँदै उनलाई क्रियाशील सदस्यता वितरण गर्न नदिएको बताइएको छ। कलाैनी पूर्व माओवादीबाट कांग्रेस प्रवेश गरेका थिए।

आमन्त्रित केन्द्रीय सदस्य बनेका कैलालीका मोहनसिंह राठौर र सर्लाहीकै शम्भुलाल श्रेष्ठको नामबाट ती जिल्लामा क्रियाशील सदस्यता जिल्ला सभापतिलाई बाइपास गरेर पठाइएको जनाइएको छ। सर्लाहीमा संगठन समायोजनको कार्य नै सकिएको छैन। साथै,रसुवामा तत्कालीन नयाँ शक्तिबाट आएकालाई सदस्यता प्रदान गर्न १२ बढी फारम पठाइएको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका सुनील थापाको समूहलाई ५ हजार क्रियाशील सदस्यता दिने गरि देउवा अघि बढेको संस्थापनइतर पक्षले जनाएको छ।

तीन नेताले तयार पारेको छ पृष्ठको प्रतिवेदनमा कहाँ-कहाँ विधानविपरीत क्रियाशील सदस्यता वितरण भएको विस्तृत उल्लेख भएको बताइएको छ। विधानविपरीत धाँधलीपूर्वक वितरण गरिने क्रियाशील सदस्यताको विरोध गरिने नेता अर्जुननरसिंह केसीले बताए। स्थानीय निर्वाचनअघि विभाग गठन भएको भए मान्न सकिने अवस्था भए पनि महाधिवेशननजिक बनेको विभाग गठन स्वीकार्य नहुने उनले बताए।

देउवाको विरोधकै कारण पूर्व सभापति सुशील कोइरालाले गठित विभागहरु भंग गरेको पनि उनले स्मरण गराए। ‘विधानविपरीतकाे विभाग गठन र महाधिवेशन गर्न आलटाल गरिएको प्रक्रियालाई सशक्त प्रतिरोध गरिन्छ,’ नेता केसीले भने,‘ठाउँ-ठाउँमा क्रियाशील सदस्यता विधानभन्दा बाहिर गएर भएका छन्। जिल्ला सभापतिमार्फत् नभएका क्रियाशील सदस्यता सबै खारेज हुनुपर्छ।’

अरु पार्टीबाट आएकालाई क्रियाशील सदस्यता दिने निर्णय केन्द्रीय समितिबाट नगराई सभापतिले मनमौजी तरिकाले गरेको घिमिरेले बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ