यस्ता छन् असार १० गते बस्न लागेको नेकपा स्थायी कमिटी बैठकका एजेन्डा !

2020-06-22

काठमाडौं - नेकपा स्थायी कमिटी बैठक दुई पटकसम्म स्थगित भई असार १० गते बस्न लागेकाले नेताहरुमा चासो बढेको छ। गत मंसिर २९ पछि पहिलो पटक बस्न लागेको हो। यसबीचमा धेरै घटना चर्चामा आएकाले पनि बैठकमा प्रस्तुत हुने एजेन्डा चासोको विषय बनेको छ।

बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्ने राजनीतिक दस्तावेजलाई नेताहरुले केन्द्रमा राखेर हेर्ने भएका छन्। अध्यक्षद्वयले चित्त बुझ्दो दस्तावेज ल्याउन नसके स्थायी कमिटीका नेताहरुले फरक दस्तावेज ल्याउने चेतावनी दिइसकेका छन्। पार्टी नेताहरुलाई चित्त बुझ्दो दस्तावेज ल्याउनुपर्ने चुनौती अध्यक्षद्वयलाई छ।

बैठकमा कुन-कुन एजेन्डा हुने भन्ने विषयमा जानकारी नभए पनि समसामायिक विषयमा हुने भनिएको नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), कोरोना भाइरस नियन्त्रणमा सरकारले खेलेको भूमिका, सरकार ल्याएको बजेटको समीक्षा, नयाँ नक्सा जारी भएपछिको राजनीतिक तरंग लगायतका विषयमा छलफल हुने एक सचिवालय सदस्यको भनाई छ।

यस्तै बैठकको एजेन्डामा नसमेटिए पनि पार्टी विधान बमोजिम एक व्यक्ति एक पदको एजेन्डा कतिपय नेताहरुले उठाउने तयारी गरेका छन्। एमसिसी र सरकारको कामको आलोचना नै मुख्य विषय हुने कतिपय नेतहरुको बुझाइ छ।

यसअघि २० स्थायी कमिटी नेताहले २५ वैशाखमा अध्यक्ष प्रचण्डलाई भेटेर बैठकका एजेन्डाहरु बुझाएका थिए। तर, ३१ वैशाखको स्थायी कमिटी बैठक नै स्थगित भएपछि ती एजेन्डा सेलाएका थिए। त्यतिबेला समेटिएका कतिपय एजेन्डा असार १० मा बस्ने बैठकमा उठ्न सक्ने आकलन गरिएको छ। त्यतिबेला तयार एजेन्डमा एमसिसी, एक व्यक्ति एक पद, दललाई फुटाउन सजिलो हुनेगरी ल्याएको अध्यायदेश, कोरोना नियन्त्रणमा सरकार असफल हुनुका साथै मन्त्रीहरु नै अनियमिततामा मुछिएको विषय थिए।

एक दिनको स्थायी कमिटी बैठक नमान्ने
स्थायी कमिटी बैठक असार १० गते ११ बजे बालुवाटारमा बस्ने तयारी गरिएको नेकपा कार्यालय सचिव रिजालले बताए। ‘हामीलाई असार १० गते बिहान ११ बजे बस्ने जानकारी दिएको छ’, रिजालले भने, ‘तर, बैठक एक दिन हो कि दुई दिन केही भनिएको छैन।’

नेताहरुले स्थायी कमिटी बैठक एक दिनले मात्रै समय नपुग्ने बताएका छन्। एक दिनको स्थायी कमिटी बैठकको कुनै अर्थ नहुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन्। ‘बैठकमा बोल्नुपर्ने विषयहरु धेरै छन्। हाम्रा कुरा नेतृत्व तहमा भएका नेताज्यूहरुले सुन्नुपर्छ’, शाक्यले भनिन्, ‘एक दिन बैठक राखेर झारा टार्न खोजिए मानिदैन।’

बैठकमा सबै नेताहरुले एकएक गरी आ–आफ्ना धारणा राख्न पाउनुपर्ने शाक्यको भनाई छ।

२० स्थायी कमिटी सदस्यको आफ्नै रणनीति
स्थायी कमिटी बैठक बोलाउन २० जना नेताहरुले अध्यक्ष ओली प्रचण्डलाई पत्रै लेखेर माग गरे। पार्टीमा विवाद बढ्दै गएकाले छलफल गर्नुपर्ने भन्दै प्रचण्ड र नेपाल समूहका स्थायी कमिटी नेताहरुले पत्र लेखेर बैठक बोलाउन दबाब दिए। नेताहरुकै दबाबमा नेकपाले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलायो। तर अघिल्लो दिन मोबाइल सन्देश मार्फत बैठक स्थगित गरिएको सूचना दिइयो।

बैठक स्थगित भए लगतै १८ स्थायी कमिटी नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरी एजेन्डाहरु तय गरेर प्रचण्डलाई बुझाए। फेरि वैशाख ३१ गते स्थायी कमिटी बैठक बोलाइए पनि सबै नेताको पिसीआर टेष्ट नभएको भन्दै स्थागित गरियो।

आगामी असार १० गते बोलाएको स्थायी कमिटी बैठकका लागि कुनै तयारी नगरिएको नेता मणि थापाले बताए। ‘यसअघि स्थायी कमिटीमा कुनकुन एजेन्डा लग्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बाहिर आएको पनि थियो’, थापाले भने, ‘अब बस्ने स्थायी कमिटी बैठकमा पेश हुने एजेन्डा विषयमा छलफल भएको छैन।’

अध्यक्षद्वयको दस्तावेजमा पेश भएका एजेन्डाका आधारमा रणनीति बनाइने एक स्थायी कमिटी सदस्यले बताए। ‘अझै स्थायी कमिटी बैठक बस्ने समय आइसकेको छैन। बैठकमा केके एजेन्डा ल्याउँछन् त्यो बुझ्छौं’, ती स्थायी कमिटी सदस्यले भने, ‘यदि अध्यक्षहरुबाटै चित्त बुझ्दो एजेन्डा पेश नभए अर्को दस्तावेज समेत पेश हुन सक्छ।’

सचिवालय र स्थायी कमिटीमा एमसिसीको पक्ष-विपक्ष
एमसिसीको विषयमा नेकपाका नेताहरु स्पष्ट देखिने गरी पक्ष विपक्षमा विभाजित भएका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल एमसिसी संशोधन नगरेरै तत्काल संसदबाट पारित हुनुपर्ने अडानमा छन्। एमसिसी पक्षमा माहोल बनाउन प्रधानमन्त्री ओली सहित सचिवालय सदस्य पोखरेल र पौडेल लगायत नेताहरु तीव्र रुपमा लागेका छन्।

एमसिसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। उनीहरु एमसिसीको विषयमा पार्टी कमिटीले निर्णय गरेर संसदबाट पारित गर्नुपर्ने अडानमा छन्।

सचिवालयका ९ मध्ये तीनजना मात्रै ओली समूहका नेता भएकाले एमसिसीमा विषयमा सो पक्षले सचिवालयबाट आफू अनुकुल निर्णय गर्न सक्ने अवस्था छैन। ओलीले एमसिसीमा आफ्नो बहुमत देखाउन थापा र श्रेष्ठलाई फकाइरहेका छन्। थापालाई बढुवा गरेर उप्रधानमन्त्रीको लोभ देखाइएको छ भने श्रेष्ठलाई मन्त्रीको आशा देखाइएको छ। तर, श्रेष्ठ र थापाले एमसिसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने अडान लिएका छन्।

यस्तै स्थायी कमिटीमा ४५ जनामध्ये ओली समूहका ११ जना, प्रचण्ड समूहका १७ जना र नेपालव समूहका १२ जना छन्। स्थायी कमिटीमा पनि ओली समूह समेत स्पष्टै अल्पमतमा छ। सचिवालयमा जस्तै स्थायी कमिटीमा पनि प्रचण्ड-नेपाल समूहका नेताहरु एमसिसीको विपक्षमा उभिएका छन्। सचिवालयदेखि स्थायी कमिटीसम्म प्रचण्ड-नेपाल समूहका नेताहरु एक ठिक्का भएकाले ओलीले फकाएर आफ्नो पक्षमा ल्याउन कठिन देखिएको छ।

ओलीले पार्टीको निर्णयलाई लत्याएर एमसिसी संसदबाट पारित गराउन सक्ने अवस्था छैन।

ओली समूह
१. केपी शर्मा ओली (अध्यक्ष)
२. ईश्वर पोखरेल
३. पृथ्वीसुब्बा गुरुङ
४. शंकर पोखरेल
५. सत्यनारायण मण्डल
६.सुवास नेम्वाङ
७. किरण गुरुङ
८. प्रदीप ज्ञवाली
९. छविलाल विश्वकर्मा
१०. विष्णु रिमाल
११ रघुविर महासेठ

नेपाल समूह
१ माधवकुमार नेपाल
२. भीम रावल
३. अष्टलक्ष्मी शाक्य
४. युवराज ज्ञवाली
५. घनश्याम भुसाल
६. भीम आचार्य
७. गोकर्ण विष्ट
८. योगेश भट्टराई
९. सुरेन्द्र पाण्डे
१०. रघुजी पन्त
११. बेदुराम भुसाल
१२ मुकुन्द न्यौपाने

प्रचण्ड समूह
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अध्यक्ष)
२. नारायणकाजी श्रेष्ठ (प्रवक्ता)
३. देव गुरुङ
४. टोपबहादुर रायमाझी
५. गिरिराजमणि पोखरेल
६. हरिबोल गजुरेल
७. वर्षमान पुन
८. शक्ति बस्नेत
९. जनार्दन शर्मा
१०. पम्फा भुसाल
११. मातृका यादव
१२. गणेश साह
१३. लेखराज भट्ट
१४. देवेन्द्र पौडेल
१५. चक्रपाणि खनाल
१६. लीलामणि पोखरेल
१७. मणि थापा

 


बिरेन्द्र ओलीले नेपाल लाइभमा लेखेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ