विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

2020-05-30

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबैखाले सम्बन्ध तोडेको घोषणा गरेका छन्। ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन गर्न नसकेको आरोप लगाउंदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

'उनीहरू अनुरोध गरिएको र एकदमै आवश्यक रहेको सुधार गर्न असफल भएका छन्। आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं र उसलाई दिदैं आएको सहयोग रकमलाई अरू विश्वव्यापी र अत्यन्त आवश्यक्तामा रहेका सार्वजनिक विश्व स्वास्थ्य कार्यहरूलाई दिनेछौं', शुक्रबार ट्रम्पले भने।

ह्वाइट हाउसको रोज गार्डेनमा सम्बन्ध तोडेको घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भाइरसको सही सूचना दिनुपर्ने जिम्मेवारी निर्वाह नगरेको र विश्व स्वास्थ्य संगठन पनि चीनको दबाबमा महामारीका बारेमा समयमै सूचना तथा चेतावनी नदिएको र यसले विश्वभर लाखौं मानिसको ज्यान गएको आरोप पुनः दोहोर्याए।

'वार्षिक ४० मिलियन अमेरिकी डलरमात्र दिने चीनको नियन्त्रणमा विश्व स्वास्थ्य संगठन छ,जबकी अमेरिकाले उसको दाँजोमा संगठनलाई ४ सय ५० मिलियन डलर दिदैं आएको छ', ट्रम्पले भने।

अमेरिकाको यो निर्णय वासिङ्टन र बेइजिङबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ।

धेरैले यसलाई अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्दै आएका छन्। ट्रम्पको यस कदमलाई उनको राष्ट्रपति पुनः निर्वाचित हुन प्रयोग गरिएको चीन विरोधी कार्डका रूपमा समेत हेरिएको छ। तर, संगठनसँग सम्बन्ध तोड्ने घोषणा गरेका ट्रम्प स्वयं देशभित्र महामारीविरुद्धको व्यवस्थापनका लागि आलोचित हुँदै आएका छन्।

कोरोना भाइरसको महामारी सबैभन्दा पहिला चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको थियो। त्यसयता यो महामारीले विश्वव्यापी रूप लिइसकेको छ। हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको पहिलो नम्बरमा छ।

ट्रम्पको यो निर्णय चिनियाँ राष्ट्रपति सि जिङपिङले गत साता आगामी दुई वर्षमा कोरोना महामारीसँग लड्न डब्लुएचओलाई दुई बिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेपछि आएको हो। चीनले घोषणा गरेको यो रकम झण्डै विश्वस्वास्थ्य संगठनको गत वर्षको बजेट बराबर हुन आउँछ।

ट्रम्पले गत महिना संगठनलाई दिदैं आएको सहयोग रकम बन्द गर्ने घोषणा गरेका थिए। त्यतिबेला उनले संगठनलाई ३० दिनभित्र उसले सुधार गर्नुपर्ने कार्यहरूसम्बन्धी पत्र दिएका थिए। हाल विश्व स्वास्थ्य संगठनमा विश्वका १९४ राष्ट्र आबद्ध छन्।

सन् १९४८ मा संगठनसँग जोडिएको अमेरिकालाई संगठनसँग १ वर्षको समयसीमा दिएर अलग हुने अधिकार छ।

विश्व स्वास्थ्य संगठनले पछिल्लो अमेरिकी कदममा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन। उसले आफू चीनको प्रभावमा परेको भन्ने अमेरिकी आरोप र महामारीको व्यवस्थापन र चेतावनी दिन चुकेको आरोपको भने खण्डन गर्दै आएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ