भीम उपाध्याय गिरफ्तार : एक आश्चर्यजनक खबर !

2020-04-23

पूर्व सचिव एवम् वर्तमान सरकार र संस्कारका प्रखर आलोचक श्री भीम प्रसाद उपाध्याय गए रातिनै गिरफ्तार भएको खबर आज लोकतन्त्रदिवसको एकाविहानैको हटकेक अर्थात ताजा खबरको रुपमा आयो !! विडम्बना यो हट केकलाई खान/पचाउन कठिन भयो र यसबारे प्रतिकृया जनाउनै पर्ने भयो !

लोकतन्त्र भनेको त लेख्न, बोल्न, छाप्न, सभा-संगठन गर्न, विरोध गर्न, निन्दा-भर्त्सना गर्न र भन्डाफोर गर्न समेत पाइने व्यवस्था पो भन्थे ! तर यहाँ त आजै उहाँलाई साइबर क्राइम ब्युरोले पकडेको भनेपछी त स्पष्ट हुन्छ कि फिजिकल क्राइम ब्युरोले होइन रहेछ किनकी मान्छे मारेको, बस्तु वा पैसा चोरेको, ठगी गरेको, भ्रष्टाचार गरेको, कालाबजारी गरेको, घुसखोरी गरेको अथवा गाली बेइज्जती/मानहानी आदि केही गरेको त रहेनछ !? खासै साइबर क्राइम अश्लील फोटो, भिडियो, लेखन आदि प्रसारण गरेको पनि त होइन, भएको भए त हामीले पनि देख्न पाइन्थ्यो !? त्यसो भए सरकाराको आलोचना गरेकै भरमा यसरी गिरफ्तार गर्नु त लोकतन्त्रको धज्जी उडाउनु हो !

प्रम, गृम जस्ता जननिर्वाचित, जनउत्तरदायी र जिम्मेवार जनप्रतिनिधि महानुभावहरुलाई थाहा छ कि छैन ? यस्तालाई यसरी यस्तोबेलामा यस्तोगर्ने यत्न गर्ने हो भने यत्रो आन्दोलन गरिल्याएको लोकतन्त्र त तानाशाहीतन्त्रमा परिणत हुन्छ ! यसै गर्नु छ र दमनै गरेर आलोचकहरु सिद्धाएर हिटलरै बन्नु छ भने त हाम्रो भन्नू केही छैन, नत्र यस्ता गतिविधी जसमा राहत बांड्ने ज्ञानेन्द्र शाही, उन्लाई डेरा दिने शक्ति शाहीलाई गिरफ्तार गर्ने अनि विद्यार्थी हेमराज थापा ( कपाल पालेका राहत बाँड्ने विद्यार्थी )कहाँ रहेको राहत खाद्यान्न पनि जफत गर्ने र उनी लगायत अन्य कटु आलोचकहरु प्रेम कैदी, प्रेम बस्न्यात, भरत दाहाल, नरेन्द्रजङ्ग पिटर, प्राडा सुरेन्द्र केसी, बालकृष्ण ढुङ्गेल, जगन्नाथ खतिवडा, लीलामणि पोखरेल, देवगुरुङ र भीम रावल जस्ता थुप्रै बुद्धिजीवी, पत्रकार, वकिल, लेखक, राजनीतिक र सांस्कृतिककर्मी आदि आलोचकहरुलाई गिरफ्तार गर्ने सूचीमा राख्ने र क्रमश: गिरफ्तार गर्दै जाने हो तर आफूहरुले भने संविधान, विधि, व्यवस्था सबै उल्लंघन गर्ने, अनियमितता, भ्रष्टाचार र कमिसनखोरीलाई संस्थागत र वैधानिकता दिंदैजाने हो भने के हुन्छ ?

यसै त कोरोनाको कहरले मानिसहरुमा चरम उकुसमुकुस र परम छट्पटी छ ! त्यसमाथी हालैका अध्यादेसहरुले आक्रोसलाई चुल्याएको छ र स्थिति अत्यन्त नाजुक, संवेदनशील र गम्भीर मात्र होइन विस्फोटक र कृटिकल नै छ ! यस्तो विषम परिस्थितिमा प्रतिगामी र प्रतिक्रियावादीहरु के निहुँ पाउँ कनिका बुकाउँ भनी दाउँ हेरेर, पासो थापेर र षड्यन्त्रका तानाबाना बुनेर बसिरहेका छन्, झन् त्यसमाथी आगोमा घिउ थप्नेगरी यसरी यस्ता गिरफ्तारी र दमन बढाउँदै जाने भनेको त आफ्नो खाल्टो आफैले खन्नु हुन जान्छ ! तसर्थ उहाँहरुलाई तत्काल रिहा गरियोस् ! बरु, आलोचनालाई निगरानी, नियन्त्रण र निषेध नै हो भने आफू र आफ्नाको पक्षमा होइन देस र जनताका पक्षमा, भ्रष्टाचार र कमिसनतन्त्रका पक्षमा होइन लोकतन्त्र र परिवर्तन/क्रान्तिका पक्षमा, पक्षपाती र पुँजीपतिका पक्षमा होइन समानता र न्यायका पक्षमा केही राम्रा, ठुला र दीर्घकालीन महत्वका काम गरियोस् ! यसो भयो भने विरोधी, प्रतिरोधी, आलोचक मात्र होइन आक्रमणकारी बुद्धिजीवी, पत्रकार, लेखक आदि सबैको मुख थुनिन्छ, कलम भाँचिन्छ र सामाजिक सन्जाल बन्द हुन्छ ! समयमै होश आओस् ! लोकतन्त्र दिवसको शुभकामना !!

 

Narayan sharma — OnlineDabali

लेखक : नारायण शर्मा (नेकपाका केन्द्रिय सदस्य तथा 'पुस्तक तथा अभिलेखालय विभाग'का प्रमुख)




थप समाचार


इन्धन उर्जा खपतमा विविधीकरण रणनीति: विश्वव्यापी अवस्था र नेपाल आयल निगमको भावी कार्यदिशा

दिपक प्रसाद घिमिरे
इन्धन उर्जा खपतमा विविधीकरण रणनीति: विश्वव्यापी अवस्था र नेपाल आयल निगमको भावी कार्यदिशा

विश्वव्यापी तेल उत्पादक राष्ट्रहरुको साझा संस्था ओपेकमा आबद्द रहेका अल्जेरिया र साउदी अरेबिया जस्ता मध्य पूर्व र उत्तर अफ्रिका लगायत धेरै तेल र ...

भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ : डा. भगवान कोइराला

भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ : डा. भगवान कोइराला

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् ...

मेरो मत किन बालेनलाई ?

मेरो मत किन बालेनलाई ?

वैशाख ३० गतेको स्थानीय निकायको चुनावले नेपालमा राजनीतिक माहोल तताएको छ। राजनीतिक दलहरुले गरिरहेका घरदैलो, सामाजिक संजाल र संचार माध्यमहरुमा यसको चर्चाले राजनीतिमा चासो नभएका ...




ट्रेन्डिङ