कोरोना भाइरससंग जुध्न सेना र प्रहरीको यस्तो तयारी, ५२ बेडकोे आइसोलेसन वार्ड निर्माण

2020-03-19

काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ ।पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमा विभिन्न युनिटमा कार्यरत सकल दर्जालाई तालिम गराएको छ । स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनिकलाई प्रशिक्षण दिइएको प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए । ‘तालिम पाएका एक सय ८१ जनाले अब आठ पृतना र मातहतका बाहिनी र युनिटमा गएर तालिम दिनेछन्, यो प्रशिक्षक प्रशिक्षण तालिमजस्तै हो,’ प्रवक्ता पाण्डेले भने, ‘हाम्रो जनशक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको यो आन्तरिक तयारीसम्बन्धी तालिम हो ।’

सेनामा ९६ हजार पाँच सय जनशक्ति छ । एउटा ब्यारेकमा आठ सयसम्म जनशक्ति छ । उनीहरूलाई लक्षित गरेर दु्रत गतिमा तालिम दिने र सरकारी निर्देशनका आधारमा नागरिकको स्वास्थ्योपचार र सुरक्षामा खटाउने सेनाको तयारी छ । तालिममा सेनाले कोरोना भाइरससम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गरेको थियो । क्वारेन्टाइन सेटअप र पानीको शुद्धीकरण, फोहोर व्यवस्थापन, बिजुली तथा पानीको धारा व्यवस्थापन, फिल्डका शौचालय व्यवस्थापन, भाइरस रोकथाम र नियन्त्रणका विषयमा सैनिक टोलीलाई सैद्धान्तिक र व्यावहारिक तालिम दिइएको पाण्डेले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार नौवटा श्रेणीमा विभाजन गरेर हरेक टेन्टमा दुईजना व्यक्ति रहने गरी क्वारेन्टाइन तयार गर्ने तालिम सेनाले दिएको छ । ‘आठै पृतनाबाट सहभागी सैनिकले अब आफू कार्यरत युनिटमा गई कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यकबमोजिम स्थानीयस्तरमा क्वारेन्टाइन क्याम्प स्थापनासहित भाइरस संक्रमण रोकथाम र नियन्त्रणको काम गर्नेछन्,’ पाण्डेले भने । सरकारको निर्णयबमोजिम कोरोना भाइरसको उच्च जोखिमविरुद्ध रोकथाम र नियन्त्रणका लागि उपलब्ध भएका सबै उपाय अवलम्बन गर्न प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।

५२ बेडको आइसोलेसन वार्ड
कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यान दिँदै सेनाले ५२ बेडसम्मको आइसोलेसन वार्ड तयार गरिरहेको छ । यसअघि चीनबाट ल्याइएका १७५ नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइन व्यवस्थापन गरेको सेनाले अहिले काठमाडौंको छाउनी अस्पताल तथा सबै पृतना एवं क्षेत्रीय सैनिक अस्पतालमा तयारी थालेको हो । सो क्वारेन्टाइन केन्द्र पनि भविष्यका लागि उपयोगमा ल्याउने गरी सरकारले तयारी अवस्थामा राखेको छ ।

सबै पृतनामा कम्तीमा दुईवटा र नेपालगन्ज, पोखरा र धनगढीस्थित क्षेत्रीय सैनिक अस्पतालमा पनि कम्तीमा दुई–दुईवटा आइसोलेसन वार्ड तयार भएका छन् । ‘फिल्ड एम्बुलेन्समा समेत गरेर हामी ५२ वटा आइसोलेसन बेड तयार गर्दै छौँ । तत्कालका लागि हामीले आन्तरिक प्रयोजनका लागि उपयोग गर्नेछौँ,’ पाण्डेले भने ।

सेनाले ब्यारेकमा रहेका खुला स्थानमा कम्तीमा ३० बेडदेखि ८४ बेडसम्मको टेन्ट राख्ने पनि तयारी गरेको छ । ०७२ को भूकम्पमा आएका टेन्ट सेनाले आठैवटा पृतना र मातहतका ब्यारेकका लागि पठाएको छ । ‘तालिमका क्रममा टेन्ट पनि तयार हुँदै जान्छन्, सरकारी निर्णयका आधारमा भविष्यमा सैनिक र गैरसैनिकका लागि यो प्रयोग गर्छौँ,’ पाण्डेले भने, ‘सरकारी निर्णय नहुन्जेलका लागि भने सैनिक जनशक्तिका लागि यो प्रयोग हुन्छ । हामीले अहिले खुला स्थान हेरेर कतिसम्म टेन्ट राख्न सकिन्छ बुझ्नू भन्ने निर्देशन पठाएका छौँ ।’

पाण्डेका अनुसार सेनाले ब्यारेकबाहिर पिटी परेड खेल्न सामूहिक रूपमा ब्यारेक बाहिर निस्कन रोक लगाइसकेको छ । नियमित ज्वरो जाँच्न र हरेक ब्यारेकमा साबुनले हात धुने व्यवस्था मिलाइएको छ । आइसोलेसन वार्ड बनाउने र सफा गर्ने उपाय पनि सेनाले बताएको छ ।

शान्ति मिसनमा सतर्कता, दक्षिण सुडानमा सैनिक नजाने
सेनाले विश्वका विभन्न शान्ति स्थापक मिसनमा कार्यरत नेपाली शान्ति सैनिकका लागि कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न ‘नियन्त्रणात्मक र निषेधात्मक’ उपाय अपनाइएको जनाएको छ । सेनाले दक्षिण सुडानमा शान्ति सैनिक तत्काल नपठाउने भएको छ । मिसनमा तैनाथ शान्ति सैनिकद्वारा सचेतना कार्यक्रम र संक्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको जंगी अड्डाले जनाएको छ । ‘संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कबाट सतर्कता अपनाउन निर्देशन प्राप्त भइरहेको छ भने नेपाली सेनाको जंगी अड्डाबाट समेत मिसनमा तैनाथ शान्ति सैनिकका लागि निरन्तर रूपमा आवश्यक निर्देशन दिइरहेको छ’ जंगी अड्डाद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । विश्वका विभिन्न ११ वटा मुलुकमा पाँच हजार १०१ जना शान्ति सैनिक र पर्यवेक्षकका रूपमा कार्यरत छन् । ‘संक्रमणको जोखिमको मूल्यांकन गरी नेपाली शान्ति सैनिकद्वारा आफ्ना अपरेसनल तथा अन्य गतिविधि सीमित गरिएको र नेपाली शान्ति सैनिकद्वारा स्थानीय बासिन्दालाई समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्’ जंगी अड्डाले भनेको छ ।

दक्षिण सुडानले एसियाली पाँच मुलुकहरू चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकको हवाई आवागमनमा रोक लगाएको छ । अहिले सुडानमा तैनाथ हुन जाने शान्ति सैनिकहरूको पूर्वपरिचालन स्थगित गरिएको छ । ‘स्वास्थ्य परीक्षण गरी कोरोनामुक्त भएको यकिन गरेपछि मात्र मिसनमा तैनाथ गर्नका लागी आवश्यक व्यवस्था मिलाइएको छ र सोहीबमोजिमको जानकारी न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय तथा मिसन हेडक्वार्टरमार्फत दक्षिण सुडान सरकारलाई गराइसकिएको छ’ सैनिक मुख्यालयले भनेको छ ।

प्रहरीलाई बिदा बस्न रोक
देशमा कोरोना संक्रमण भए कसरी काम गर्ने भन्नेबारे नेपाल प्रहरीले आन्तरिक कार्ययोजना बनाएको छ । संगठनकै सदस्यमा सतर्कता बढाउनेदेखि पुलिसिङको योजनासमेत बनाएको छ । सतर्कताअन्तर्गत भिडभाड हुने क्षेत्रमा खटिँदा अनिवार्य रूपमा मास्क लगाउन थालिएको छ । बुधबार उपत्यकामा कार्यरत सबै प्रहरीलाई मास्क वितरण गरिएको छ । मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नसमेत निर्देशन दिइएको छ ।

संगठनमा एकजनालाई संक्रमण भएमा एकैपटक धेरैमा फैलन सक्ने भएकाले कतिपय कार्यालयमा थर्मल गनमार्फत ज्वरो नाप्नसमेत थालिएको छ । हिरासतमा उच्च जोखिम हुने भएकाले सावधानी अपनाउन भनिएको छ ।

कोरोना संक्रमणको अवस्था आएमा बजारमा कालोबजारी बढ्न सक्ने भएकाले विशेष सक्रियता अपनाउनुपर्ने कार्ययोजनामा उल्लेख छ । अत्यावश्यकबाहेक प्रहरीलाई बिदा बस्नसमेत रोक लगाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । सरकारले फिल्महल, जिम, डिस्कोसमेत बन्द गर्ने निर्णय गरेकाले त्यस्ता क्षेत्रमा अनुगमनमा समेत प्रहरी खटाउन लागिएको छ ।

७७ जिल्लामै सशस्त्र प्रहरीको तयारी
सशस्त्र प्रहरी बलले ७७ जिल्लामै कोरोनाविरुद्ध तयारी गरिरहेको छ । हरेक कार्यालयमा क्वारेन्टाइनका लागि कोठा बनाइएको छ । सर्वसाधारण तथा प्रहरी दुवैलाई हुने गरी कोठा तयारी अवस्थामा राखिएको छ । सीमा क्षेत्रमा यात्रु जाँचमा सशस्त्र प्रहरीलाई समेत खटाइएको छ । स्वास्थ्यकर्मीलाई सहयोग गर्नसमेत सरकारले सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । त्यस्तै, संक्रमण देखिएमा आकस्मिक जिम्मेवारीका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ ।

 

 

नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ