कोरोना बिरुद्ध लड्ने सार्क कोषमा भारतको १ अर्ब, -यापिड रेस्पोन्स टिम तयार

2020-03-16

काठमाडौं - सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध साझा युद्ध गरी जित्ने वाचा गरेका छन्। कोभिड-१९ विरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ आयोजित ‘भिडियो कन्फरेन्स’मा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणविरुद्ध लड्न सरकारी संयन्त्रहरू मजबुत बनाएको बताए। ‘हामीले केन्द्रदेखि स्थानीय तहसम्म तयारी गरेका छौं र राष्ट्रियस्तरमा त्यसको मैले आफैं निरीक्षण गरिरहेको छु’, प्रधानमन्त्री ओलीले भने।

भिडियो कन्फरेन्सको अगुवाइ गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको इमानदार सहकार्यको खाँचो रहेको बताए। ‘महामारीको यो युद्ध हामीले सँगै लड्नु र जित्नु छ। दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा नमुना बनाउनु पनि छ। यसमा हामी सबैको इमानदार सहकार्य खाँचो छ’, मोदीले भने।

‘सार्क लिडर्स अन कमब्याटिङ कोरोना भाइरस : सेटिङ एन एक्जाम्पल फर दी वल्र्ड’ नामक भिडियो कन्फरेन्स गर्न मोदीले गत शुक्रबार आह्वान गरेका थिए। त्यसमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्र नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले समर्थन गरेका थिए।

एक घण्टा ४० मिनेट भएको छलफलको नेतृत्व मोदीले गरेका थिए। सार्क पर्यवेक्षक मुलुक चीनको हुपै प्रान्तको वुहानबाट फैलिएको कोरोनाका कारण विश्वभर ६ हजारभन्दा बढीले ज्यान गइसकेको छ। यसविरुद्ध लड्न सहकार्य गर्नुलाई सबै सदस्य राष्ट्रले सकारात्मक रूपमा लिएका छन्।

नेपालमा संक्रमण देखिएको छैन : ओली
प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरस नदेखिएको बताए। उनले संक्रमण नफैलियोस् भनेर सरकारले चालेका कदमहरूबारे सदस्य राष्ट्रलाई जानकारी दिए। उनले नेपाल भ्रमण वर्ष २०२० स्थगन, तेस्रो मुलुकका आगन्तुकलाई रोकजस्ता विषयबारे अवगत गराए।

यस क्षेत्रमा अधिक प्राकृतिक औषधि पाइने भएकाले त्यसको फाइदा लिन उनले सुझाव दिए। ‘हात मिलाउनुको सट्टा नमस्कार गर्ने हाम्रो संस्कार विश्वभर फैलिएको छ’, उनले भने, ‘यसो गर्दा भाइरस सर्न पाउँदैन।’ बिरामी परीक्षण र उपचारमा सीमा क्षेत्रका स्वास्थ्य संस्थाहरूको ठूलो भूमिका रहने उनको भनाइ थियो। महामारीविरुद्ध जित हासिल गर्न साझा पहल नै नेपालको चाहना रहेको उनले स्पष्ट पारे।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कन्फरेन्समा सहभागी ओलीले नेपालमा भेटिएका एक मात्र कोरोना संक्रमित बाहिरबाट आएका र ती व्यक्ति निको भएको स्पष्ट पारे। प्रधानमन्त्रीका साथमा उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्री थिए। पछाडि स्वास्थ्यमन्त्री, सल्लाहकार समूह र सरकारी अधिकारी थिए।

प्रधानमन्त्रीले केन्द्र, प्रदेश र स्थानीय तहमा समिति गठन गरी कोरोना संक्रमण हुन नदिन सचेतनाका काम भइरहेको उल्लेख गरे। कोरोनाको सम्भावित संक्रमणलाई ध्यानमा राखेर अस्पतालहरूमा आइसोलेसन सेन्टर स्थापना गरिनुका साथै क्षमतावृद्धि गरिएको, कसैलाई संक्रमण भए सरकारले नै उपचारको व्यवस्था गर्ने तयारी रहेको जानकारी उनले दिए। विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेकाले सतर्कतापूर्वक यसविरुद्ध अभियान चाल्नुपर्ने मोदीको चाहनामा नेपालले सहकार्य गर्ने र आपत्कालीन कोषबारे नेपालले सहयोग गर्ने उनको भनाइ थियो।

महामारीमा दक्षिण एसिया कम प्रभावित भए पनि यसको रोकथामका लागि सहकार्य अपरिहार्य भन्दै भारतको उक्त प्रस्तावलाई अपनत्व लिँदै सहकार्यमा खरो उत्रने वाचा सदस्य राष्ट्रले गरे। भारतमा उक्त भाइरसबाट दुई र पाकिस्तानमा एक जनाको मृत्यु भइसकेको छ।

प्रधानमन्त्री एवं सार्कका अध्यक्ष ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि शुक्रबार सरकारी निवास बालुवाटार फर्केका थिए। मोदीले भाइरस संक्रमण महामारीका रूपमा फैलिरहे पनि नआत्तिन सल्लाह दिए। भने, ‘दक्षिण एसियाको मूल मन्त्र नै सहकार्य र नआत्तिनु हो।’

साझा कोष आवश्यक : मोदी
भारतीय प्रधानमन्त्री मोदीले कोभिड-१९ सँग लड्न संयुक्त आपत्कालीन कोष स्थापना गर्नुपर्ने प्रस्ताव राखे। त्यसमा भारतले १ करोड डलर (१ अर्ब रुपैयाँभन्दा बढी) योगदान गर्ने भएको छ।

भारतमा बन्न लागेको टेस्टिङ किटसहितको चिकित्सकको र्‍यापिड रेस्पोन्स टिम चाहिएको बेला कुनै पनि सदस्य मुलुकमा जान सक्ने तयारी रहेको उनले बताए। भारतले तयार गरेको ‘इन्टिग्रेटेड डिजिज सर्भिलियन्स पोर्टल’को सफ्टवेयर पनि सदस्य राष्ट्रलाई दिने भएको छ।

साझा अनुसन्धान प्लेटफर्म बनाएर अघि बढ्नुपर्ने मोदीको भनाइ थियो। उनले भने, ‘हाम्रो कोषलाई सदस्य राष्ट्रले सम्बन्धित दूतावासमार्फत उपयोग गर्न सक्नेछन्।’

उनले कोभिड-१९ को प्रकोपले आन्तरिक तथा बाह्य अर्थतन्त्रमा असर पार्ने बताए। त्यसका लागि सार्क राष्ट्रबीचको सहकार्यले मात्रै यस समस्याको पार लाग्‍ने उनको धारणा थियो। यस क्षेत्रको अर्थतन्त्र मजबुत बनाउन दीर्घकालीन रणनीति अपरिहार्य रहेकामा उनले जोड दिए।

भिडियो कन्फरेन्समा प्रधानमन्त्री एवं सार्क अध्यक्ष ओली, मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ र पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जा सहभागी थिए। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सहभागिताभन्दा स्वास्थ्यमन्त्रीको आवश्यकता अपरिहार्य भन्दै उनलाई सहभागी गराए।

सबैको जोड- सहकार्य
बंगलादेश र पाकिस्तानले सार्क राष्ट्रका स्वास्थ्यमन्त्रीहरूको सम्मेलन अपरिहार्य रहेको जनाएका छन्। बंगलादेशकी प्रधानमन्त्री हसिनाले स्वास्थ्यमन्त्रीहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै यस कदमको स्वागत गरेकी हुन्। उनले आफ्नो मुलुकको तयारी सुनाउँदै सहकार्यले नै यस्ता महामारीविरुद्ध लड्न सक्ने उल्लेख गरिन्।

उनीजस्तै धारणा श्रीलंकाका राष्ट्रपति राजापाक्षले राखेका थिए। ‘हामी सहकार्य गरेरै अघि बढ्नुपर्छ। छरिएर आफैं सक्छु भनेर हुँदैन’, उनले भने।

अफगानिस्तानका घानीले पनि सार्कमा सबै राम्रो तर सहकार्य कम रहेको बताए। भुटानका प्रधानमन्त्री लोटेले सार्कको विशेषता भनेकै सहकार्य रहेको बताए। सार्कले सहकार्यमा ढिलाइ गर्न नहुने धारणा माल्दिभ्सका राष्ट्रपतिको थियो। पाकिस्तानका स्वास्थ्यमन्त्री मिर्जाले सार्क राष्ट्रबीचको यो सहयोग आदानप्रदान गर्न सार्क सचिवालयले भूमिका खेल्न सक्ने बताए।

भारतले लामो समयदेखि जम्मु कश्मीरमा इन्टरनेटलगायतमा प्रतिबन्ध लगाएको र आउजाउमा बाधा गराएको उनको गुनासो थियो। त्यस्ता विषयमा पनि ध्यान दिन उनले आग्रह गरे। उनले कोरोना भाइरस नियन्त्रणका लागि जम्मु कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आग्रह गरे।

 


अन्नपुर्ण पोष्टबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ