प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, फिजियोथेरापी सुरु

2020-03-07

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको चिकित्सकहरूले बताएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा बुधबार ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल आइसियूमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार फिजियोथेरापी गराइएको छ । पहिलाभन्दा अहिले उनको स्वास्थ्यमा धेरै सुधार आएको उपचारमा संलग्न डा. अरुण सायमीले बताए । ‘प्रत्यारोपण गर्नुअघि शरीरका भित्री अंगमा कस्तो समस्या छ भन्ने जानकारी थिएन,’ डा. सायमीले भने, ‘अहिले सबै परीक्षण गरिएको छ । उहाँमा कुनै समस्या छैन ।’ प्रधानमन्त्री ओलीका सबै ‘भाइटल’ तथा ‘ल्याब’ सूचक सामान्य अवस्थामा रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ओली उठेर बस्ने, हिँड्ने, कालो चिया खाने, ठोस खानेकुरा खाने र दिसापिसाब गर्न जाने अवस्थामा पुगेको डा. सायमीले बताए ।

प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपणले आफ्नो आयु १५ वर्ष सहज रूपमा बढेको चिकित्सकहरूसँग बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरूसँग उनले गरेको कुराकानी उद्धृत गर्दै डा. सायमीले भने, ‘तपाईंहरूले प्रत्यारोपण गरिदिएको नयाँ मिर्गौलाले काम गर्न थालिहाल्यो, कम्तीमा १५ वर्ष काम गरिहाल्ला, त्यसपछि त नयाँ–नयाँ डिभाइसहरू फेरि आइहाल्लान् नि । मेरा बा अहिले ९० वर्ष पुग्नुभयो, म पनि कम्तीमा त्यति त बाँच्छु नै ।’ प्रधानमन्त्री ओलीको मनोबल उच्च रहेको चिकित्सकहरूको भनाइ छ ।

प्रधानमन्त्रीसँग भेटघाटमा रोक
प्रधानमन्त्री ओलीलाई संक्रमणबाट जोगाउन अस्पताल प्रशासनले शल्यचिकित्सक, उपचार टिममा रहेका फिजिसियनबाहेक अरूलाई भेट्न दिएको छैन । प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई भने टेलिफोनमा कुराकानी गराइएको छ । प्रधानमन्त्री संक्रमणबाट मात्रै जोगिएमा कुनै समस्या नआउने डा. सायमीले बताए ।

ओलीले अमेरिकामा गर्न लागेको प्रत्यारोपण क्यान्सिल गराएर नेपालकै अस्पताल रोजेका थिए । अमेरिकामा प्रत्यारोपणको सबै तयारी छाडेर प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको एक चिकित्सकले बताए । उनका अनुसार अमेरिकामा प्रत्यारोपणका लागि सबै तयारी पूरा भइसकेको थियो । मिर्गौला प्रत्यारोपण गराउनुअघि र पछि ओलीले चिकित्सकलाई के–कस्तो हुन्छ भनेर नसोधेको डा. ज्ञवालीले बताए । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य अवस्था सुधार हँुदै गएको र उनलाई ठोस खानेकुरा दिन थालिएको अस्पतालले बताएको छ ।

ग्रान्डी अस्पतालमा दोस्रो मिर्गौला प्रत्यारोपण
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शुक्रबार ४२ वर्षीय पुरुषको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । उनको १२ वर्षअघि पहिलोपटक भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपित मिर्गाैलाले काम गर्न छोडेपछि दोस्रोपटक प्रत्यारोपण गरिएको हो । ३६ वर्षीया श्रीमतीले उनलाई मिर्गाैला दान गरेकी थिइन् । उनीहरूको नाम भने खुलाइएको छैन । प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गर्न सुरु गरिसकेको चिकित्सकहरूको भनाइ छ । प्रत्यारोपण टिममा प्रा.डा. प्रेमराज ज्ञवाली, डा. पवन चालिसे, डा. भोजराज लुइँटेल र डा. सुरेन्द्र अधिकारी तथा प्रा.डा. दिव्यासिंह साह, डा. विष्णु पहाडी, डा. उपेन्द्र जोशी सहभागी थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ