विश्‍वभर आज : नेपालका छिमेकी देशहरुमा कोरोना संक्रमण बढ्दो, सुकीको सम्‍मान खोसियो

2020-03-07

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहँदा यसबाट जोगिने अनेक उपाय खोजिँदैछ । वैज्ञानिकहरु यसविरुद्धको खोपको परीक्षण गर्दैआएका छन् । बिबिसीका अनुसार वैज्ञानिकहरुले यस्तो खोपको विकास गरी जनावरमाथि परीक्षण गरिरहेका छन् ।

तर मानवमाथि नै परीक्षण गर्ने अवस्थामा उनीहरु पुगेका छैनन् । जनावरमाथिको परीक्षण सफल भएको खण्डमा मानिसमाथि परीक्षण गरिनेछ । जुन तत्काल सम्भव नभएको बताइन्छ । अमेरिकी उपराष्ट्रपतिले केही दिनअघि मात्रै अबको ६ महिनामा सम्भव हुने प्रतिक्रिया दिएका थिए ।

वैज्ञानिकहरुको पहल हेर्दा अबको ६ महिनासम्म पनि यो सम्भव छैन । बिबिसीको एक रिपोर्टले के देखाएको छ भने कोरोना भाइरस विरुद्धको खोप विकास भइसके पनि आम रुपमा प्रयोग गर्न ६ महिनामा पनि सम्भव हुनेछैन ।

जस अनुसार खोप २०२१ को मध्यतिर मात्रै उपलब्ध हुनसक्ने बताइन्छ । वैज्ञानिकहरुले यसको खोप विकास गर्दा अन्य खोप निर्माण गर्ने भन्दा भिन्न विधि अपनाएको पनि बिबिसीमा उल्लेख छ । यसको अनुवांशिक कोड थाहा पाएकाले खोप निर्माण गर्नसक्ने बताइएको छ । जुन कोडलाई अर्कै हानिरहित भाइरसमा राखी वैज्ञानिकहरुले परीक्षण गरिरहेका छन् ।

म्यानमारकी नेत्रीको सम्मान खोसियो
यंगुन : रोहिंग्या समुदायमाथि दमन गरेका कारण म्यानमारकी नेत्री आन साङ सुकीलाई बेलायतको ‘सिटी अफ लण्डन कर्पोरेसन’ले दिएको सम्मान खारेज गरेको छ । उक्त संस्थाले सुकीलाई तीन वर्षअघि ‘फ्रिडम अफ सिटी’ सम्मान दिएको थियो । सुकी गत वर्षको डिसेम्बरमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा समेत उपस्थित हुनु परेको थियो ।

म्यानमारमा उनले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि सेना परिचालन गरी हत्या, अपहरण, बलात्कार जस्ता चरम अमानवीय गतिविधि गराएकोमा अन्तर्राष्ट्रिय अदालतको प्रश्न सामना गर्नु परेको थियो ।

पछिल्लो समय विवादित बनेपछि सुकीलाई बेलायती सिएलसीले दिएको सम्मान फिर्ता लिएको हो । यसका सभापति डेभिड वुटनले म्यानमारमा सुकीले गराएको मानवता विरोधी गतिविधिको भत्र्सना समेत गरेका छन् । शान्ति स्थापना र प्रजातन्त्रका लागि म्यानमारमा लामो समय संघर्ष गरेकी नोवेल शान्ति पुरस्कार विजेता आन साङ सुकी पछिल्लो समय विवादित बनेकी छन् ।

साउदी अर्थमन्त्री बर्खास्त
रियाद : अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल-टुवाइज्रीलाई पदबाट बर्खास्त गरेका छन्। साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अल-जदानलाई दिइएको जनाएको छ।

टुवाइज्रीलाई पदबाट बर्खास्त गरिए पनि मन्त्री सरहको शाही सल्लाहकार पदमा नियुक्त गरिएको छ। दश दिन पहिले साउदी राजाले तीन वटा नयाँ मन्त्रालयहरु पर्यटन, खेलकुद र लगानी सिर्जना गरेका थिए।

गत महिना पनि मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्व ऊर्जा मन्त्री खालिद अल-फालिहलाई लगानी मन्त्रीका रुपमा पुन:र्नियुक्ती गरिएको थियो। गत सेप्टेम्बरमा फालिहलाई ऊर्जा मन्त्रालयबाट बर्खास्त गरिएको थियो।

विश्वमै सबैभन्दा बढी कच्चा तेल निर्यातक राष्ट्र साउदी अरेबिया अहिले राजकुमार मोहम्मद बिन सल्मानको महत्वाकांक्षी भिजन २०३० सुधार कार्यक्रममा लगानी गर्न सङ्घर्षरत छ। तर नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै तेलको मूल्यमा गिरावट आउन थालेको छ।

कोरियन एयरले जाँच्‍न थाल्यो यात्रुको तापक्रम
सोल : कोरियामा पनि कोरोना भाइरस (कोभिड–१९) को प्रभाव देखिएपछि कोरियन एयरले हरेक यात्रुको उड्नुअघि तापक्रम जाँच्न थालेको छ । बोर्डिङ गेटमा तापक्रम नाप्दा ३७.५ डिग्री सेल्सियसभन्दा बढी हुनेलाई यात्रामा रोक लगाउने निर्णय गरेको छ । कोरियाको इन्चेन इन्टरनेसनल एयरपोर्टबाट उड्ने उक्त एयरलाइन्सका हरेक विमानका यात्रुलाई यो नियम लगाइएको छ ।

त्यसका लागि ८ वटा थर्मल इमेजिङ क्यामेरा र ह्यान्डहेल्ड थर्मोमिटर व्यवस्था गरिएको उक्त एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै कोरियन एयरले हरेक विमानको संक्रमण निरोध चक्रलाई एक महिनाबाट हप्ता दिनमा झारेको छ ।

भुटानमा पनि कोरोना संक्रमित
थिम्पु : चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) छिमेकी देश भुटानमा पनि देखा परेको छ। शुक्रबार एक अमेरिकी नागरिकमा भाइरस संक्रमण पुष्टि भएको हो। सोमबार भारत हुँदै भुटान पुगेका ती ७६ वर्षीय अमेरिकी नागरिकमा संक्रमण पुष्टि भएपछि भुटानले तुरुन्तै सीमा नाका बन्द गरेको छ।

प्रधानमन्त्री कार्यालयले फेसबुकपेज मार्फत भुटानले कम्तिमा दुई हप्ताका लागि पर्यटकलाई स्वदेश प्रवेशमा रोक लगाउने निर्णय गरेको बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

यसैगरी थिम्पु लगायत आसपासका विद्यालयहरू पनि शुक्रबारदेखि दुई साताका लागि बन्द गरिने बताइएको छ। डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण हालसम्म विश्वभर ९८,३८७ जनामा पुष्टि भएको छ। साथै संक्रमणका कारण ३,३८३ जनाले ज्यान गुमाइसकेका छन्।

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिवको निधन
लिमा : संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द कोयारको लिमास्थित आफ्नै निवासमा १ सय वर्षको उमेरमा निधन भएको छ। दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका उनलेले दक्षिण अमेरिका, अफ्रिका, एशिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सन् १९८१ मा उनी पाँचौं महासचिव नियुक्त भएका थिए। दक्षिण अमेरिकी क्षेत्रबाट उनी पहिलो महासचिव बनेका थिए। उनकै कार्यकालमा इरान र इराकबीच सन् १९८८ मा युद्धविराम भएको थियो। राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले कोयारको निधनको खबरबाट आफू अत्यन्त दुःखित भएको बताए।

पेरुका राष्ट्रपति मार्तिन भिसकाराले ट्वीट गर्दै कोयार लोकतन्त्रवादी रहेको र उनको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएका छन्।

भारतमा ३० व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि
नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट ३० जना संक्रमित भएका छन्। भाइरसबाट संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन्।

यसअघि बिहीवार संघीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना संक्रमित भएको बताएका थिए। राज्यसभामा बोल्दै उनले भने, ‘देशभर यही मार्च ४ देअि अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरूको संख्या २९ पुगेको छ।’ उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्यांकन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए।

कोरोनाको संक्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारका तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयास गरिएको मन्त्रीले बताए। विश्व स्वास्थ्य संगठनको सुझाव र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको उनलदे दाबी गरे। उनले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि बताए। उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायतका नाकामा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ