वामदेवलाई राष्ट्रियसभा लैजाने नेकपाका शीर्ष नेताकाे अडान

2020-02-29

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा निरन्तरता दिने अडान लिएपछि नेकपाका शीर्ष नेताहरू पार्टी केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन गराउन थप सक्रिय भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा शुक्रबार बिहान भएको भेटघाटमा तीन शीर्ष नेताहरुले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णयलाई जसरी पनि कार्यान्वयन गर्ने अडान व्यक्त गरेका छन् । शुक्रबार बिहान अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम पुगेका थिए । चार शीर्ष नेताबीच सचिवालयको निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल भएको थियो ।

‘राष्ट्रिय सभाको रिक्त पदमा गौतमको नाम सिफारिस गर्ने सचिवालयको निर्णय कार्यान्वयन गर्ने सहमति नेताहरुबीच भएको छ’, स्रोतले भन्यो, ‘पार्टीको निर्णय भएकाले जसरी पनि कार्यान्वयन गर्नुपर्छ भन्ने निष्कर्षमा नेताहरु छन् ।’

बुधबार भएको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपतिद्वारा मनोनित हुने राष्ट्रियसभा सदस्यको रिक्त कोटामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो, यो निर्णयप्रति प्रधानमन्त्री ओली असहमत थिए । ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने कोटामा निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको मात्र समर्थन मिल्यो ।

लामो समयदेखि ओलीलाई साथ दिँदै आएका महासचिव विष्णु पौडेलले समेत खतिवडालाई निरन्तरता दिने प्रस्तावमा सहमति जनाएनन्, बरु ‘खतिवडालाई नै लैजानुपर्ने त्यस्तो के कारण छ ?’ भन्ने प्रश्न ओलीसँग गरिदिए । ‘त्यसो भए तपाईंहरुलाई जे लाग्छ, त्यहीअनुसार निर्णय गर्नुस्’ भन्दै ओली बैठकबाट उठेका थिए । त्यसपछि बैठकको निर्णयको रुपमा गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने’ निर्णय माइन्युटिङ गरिएको थियो ।

आफ्नो इच्छाविपरीत गौतमलाई पठाउने निर्णय र माइन्युटिङ गरिएपछि ओलीले वरिष्ठ नेता नेपालसँग बुधबारै छुट्टै कुराकानी गरी कुनै हालतमा खतिवडालाई नै सिफारिस गर्ने अडान व्यक्त गरेका थिए । खतिवडालाई लैजाने अडानबाट ओली पछि हटेका छैनन्, यस्तो स्थितिमा सचिवालयको निर्णयको कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल गर्न अध्यक्ष प्रचण्ड निवासमा चार शीर्ष नेताको बैठक बसेको हो ।

तीन शीर्ष नेताहरुसँगको बैठक सकिएलगत्तै चितवन प्रस्थान गरेका प्रचण्डले पार्टी निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुने बताएका छन् । चितवन पुगेर उनले गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णयविपरीत प्रधानमन्त्री रहेको भन्ने कुरा गलत भएको दाबी पनि गरेका छन् ।

‘पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगर्ने भन्ने कुरा म कल्पना पनि गर्न सक्दिनँ’ प्रचण्डले भनेका छन्, ‘२१ (फागुन) सम्ममा उहाँले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउन सिफारिस गर्नुहुन्छ, किनभने यो सर्वसम्मत निर्णय भएको कुरा हो ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ