अमेरिका र तालिवानबीच शान्ति सम्झौतामा हस्ताक्षर हुँदै

2020-02-29

एजेन्सी - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य अफगानिस्तानको दीर्घकालीन शान्तिका लागि शनिबार अमेरिका र तालिवानबीच दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुँदै छ । अमेरिकाले अफगानिस्तानमा तत्कालीन तालिवान सरकारविरुद्ध युद्ध थालेको १८ वर्ष चार महिनापछि सम्झौतामा हस्ताक्षर हुन लागेको हो । सार्क अध्यक्षका रूपमा नेपालले शान्तिका लागि थालिएको कदमको स्वागत गरेको छ ।

सम्झौतामा हस्ताक्षर भएसँगै अफगानिस्तानको काबुलमा पनि अमेरिका र अफगान सरकारबीच संयुक्त घोषणा हुँदै छ । अमेरिका–तालिवान सम्झौताको दश दिनपछि अफगानिस्तान सरकार र तालिवानबीच संवाद सुरु हुनेछ । काबुलमा संयुक्त घोषणा सार्वजनिक गर्न अमेरिकी रक्षामन्त्री मार्क एस्पर र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जिन्स स्लोटेनबर्ग शनिबारै काबुल पुग्दै छन् । उनीहरू र अफगानिस्तानका राष्ट्रपति असरफ घानीबीच संयुक्त घोषणापत्र सार्वजनिक हुनेछ । अमेरिका र नेटोले अफगानिस्तानको शान्तिका लागि सुरु हुने घरेलु शान्ति प्रक्रियामा सघाउने वचनबद्धता जनाउनेछन् । शान्ति सम्झौताका कारण अफगानी राष्ट्रपति असरफ घानीको शपथ ९ मार्चका लागि सरेको अफगानिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ । शपथ शुक्रबारका लागि तय भएको थियो ।

तालिवानका १४ जना वार्ता टोली सदस्य र अफगानिस्तानको शान्तिका लागि अमेरिकाद्वारा नियुक्त विशेषदूत जालमेई खलिलजादबीच कतारमा भएको वार्तापछि २२ फेब्रुअरीमा सातदिने अस्थायी युद्धविराम भएको थियो । तालिवानका तर्फबाट कतारस्थित तालिवानको कार्यालयका उपप्रमुख मुल्लाह अब्दुल घानी बरादाले नेतृत्व गरेका छन् ।

शुक्रबार अपराह्नसम्म ३० देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि अमेरिका–तालिवान सम्झौता समारोहमा सहभागी हुन दोहा पुगेका छन् । अमेरिका र तालिवानबीच १० फागुनमा एकसाताका लागि युद्धविराम भएको थियो । सम्झौता समारोहमा सहभागी हुन भारतबाट विदेश सचिव हर्षवद्र्धन शृंगला र पाकिस्तानबाट परराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसी दोहा पुगिसकेका छन् ।

सम्झौता समारोहमा सहभागी हुन अफगानिस्तानका राष्ट्रपति घानीका तर्फबाट ६ जना प्रतिनिधिमण्डल शुक्रबार दोहा पुगेका छन् । अफगानिस्तान सरकारका प्रतिनिधि र तालिवान प्रतिनिधिबीच शनिबार नै प्रत्यक्ष संवाद हुनेछ । उनीहरूबीच अफगानिस्तानका विभिन्न जेलमा रहेका करिब पाँच हजार तालिवान कार्यकर्ता रिहाइका विषयमा छलफल हुनेछ ।

दोहा सम्झौतापछि के हुन्छ ?

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका पूर्वसल्लाहकार नस्रतुल्लाह हेवादवालका अनुसार १० मार्चमा काबुलमा सरकार र उच्च राजनीतिक नेताबीच छलफल हुनेछ । नस्रतुल्लाहले काबुलबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘सम्झौतामा हस्ताक्षर भएको १० दिनपछि अफगानिस्तानभित्र संवाद सुरु हुनेछ । सम्भवतः मार्च १० मा अफगानिस्तानभित्रै संवाद सुरु हुन्छ  । अफगानिस्तान सरकारका प्रतिनिधि र १५ जना उच्च नेताबीच सुरुको चरणमा छलफल हुनेछ ।’

अफगानिस्तानमा हुने सरोकारवालाहरूबीच तालिवानसँग भावी संवाद, नयाँ सरकारको समावेशी संरचनालगायतका विषयमा छलफल हुने उनले बताए । कतारको दोहामा हस्ताक्षर समारोहमा अफगानिस्तान सरकारका ६ जना प्रतिनिधि सहभागी हुनेछन् । तर, अमेरिका र तालिवानबीच हस्ताक्षर हुनेछ । नस्रतुल्लाहका अनुसार अमेरिका र तालिवानबीच भएका वार्तामा अफगानिस्तान सरकार सहभागी छैन, तर अमेरिकी प्रतिनिधिले वार्ताका सबै प्रक्रियाबारे जानकारी गराउँदै आएका छन् ।

तालिवानले अफगानिस्तानका पछिल्ला सरकारलाई अमेरिकी कठपुतली भन्दै मान्यता नदिने घोषणा गर्दै आएको थियो । तर, तालिवानले हिंसा त्याग्ने सर्तमा अफगानिस्तानबाट विदेशी सुरक्षा फौज फिर्ता लैजाने वचनपछि तालिवानले अफगानिस्तान सरकारसँग भविष्यमा वार्ता गर्न सहमत भएको नस्रतुल्लाहले बताए ।

सन् २००१ अक्टोबर ७ मा अफगानिस्तानमा अमेरिकाले तालिवानविरुद्ध युद्ध थालेको थियो । सोही वर्ष सेप्टेम्बर ११ मा अमेरिकाको पेन्टागनस्थित ट्विन्स टावरमा भएको हमलापछि अमेरिकाले अलकायदाका नेता ओसामा बिन लादेनलाई बुझाउन तत्कालीन तालिवान सरकारलाई आग्रह गरेको थियो । लादेनलाई बुझाउन तालिवान सरकारले अस्वीकार गरेपछि अमेरिकाले युद्ध थालेको थियो । त्यसको दश वर्षपछि २०११ मे २ मा अलकायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानको अबोटाबादमा अमेरिकी सेनाको आक्रमणमा मारिएका थिए । अमेरिकाले पुनर्निर्माण, अफगानिस्तानको रक्षा तथा सुरक्षा फौजको सुदृढीकरणलगायतका लागि हालसम्म १३७ अर्ब अमेरिकी डलर खर्च गरेको छ । पचास हजारभन्दा बढी अफगानिस्तानका नागरिक मारिएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफ्ना कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि सेप्टेम्बर २०१८ मा विशेषदूत नियुक्त गरेपछि तालिवानसँग वार्ता सुरु भएको थियो । खलिलजादले कतारस्थित तालिवान प्रतिनिधि, अफगानिस्तान सरकार तथा छिमेकको पाकिस्तानसँग चरणबद्ध वार्ता गरेका थिए । उनकै प्रयासमा तालिवानसँग सम्झौता हुन लागेको हो । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भनेका छन्, ‘हिंसाको अन्त्य मेरो चाहना हो । तालिवान हिंसा अन्त्य गर्न चाहन्छ कि चाहँदैन भन्ने कुराले अफगानिस्तानमा शान्तिको भविष्य सुनिश्चित गर्नेछ ।’

नेपाल दोहा समारोहमा सहभागी हुँदै

सम्झौता समारोहमा नेपालसहितका कूटनीतिक अधिकारी सहभागी हुँदै छन् । ‘अफगानिस्तानको शान्ति, स्थायित्वका लागि चालिने प्रयासलाई नेपालले सकारात्मक रूपमा लिएको छ, र स्वागत गर्दछ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘यो क्षेत्रको द्वन्द्व अन्त्य होस्, अफगानिस्तानले शान्ति र स्थायित्व हासिल गरोस् भन्ने हाम्रो शुभेच्छा छ । यो प्रयास सकारात्मक छ ।’ दोहामा हुने सम्झौतामा नेपालका तर्फबाट कतारका लागि राजदूत डा. नारदनाथ भारद्वाज सहभागी हुनेछन् । ‘शान्ति सम्झौतामा हस्ताक्षर हुने समारोहमा निमन्त्रणा गरिएको छ, नेपालका तर्फबाट म सहभागी हुँदै छु,’ राजदूत भारद्वाजले दोहाबाट नयाँ पत्रिकासँग भने ।

नेपालमा सम्झौताको प्रभाव

भू–राजनीतिक अध्येता एवं नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले दोहा सम्झौताको क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा प्रभाव पर्ने बताए । ‘अमेरिका र तालिवानबीच हुन लागेको ‘गुडविल एग्रिमेन्ट’को भू–राजनीतिक तथा अन्तर्राष्ट्रिय रणनीतिक प्रभाव हुनेछ । दक्षिण एसियाको राजनीतिमा सम्झौताको क्षेत्रीय सुरक्षा परिणामको असर देखिनेछ,’ बस्न्यातले नयाँ पत्रिकासँग भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा अमेरिकाले अन्तर्राष्ट्रिय शान्ति र क्षेत्रीय स्थायित्वमा भारतको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरेको छ । यो सम्झौताको असर अमेरिकाका प्रतिस्पर्धी चीन र रुसको सीमा क्षेत्रमा पनि देखिनेछ ।’ नेपालले आफ्नो भूभागमा हुने अतिवादी गतिविधिहरूमा अतिरिक्त चनाखो र सतर्कता अपनाउनुुपर्ने उनको सुझाब छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ