नाटक 'सेतो कपाल' समिक्षा : यौन मनोविज्ञान र रंगकर्मिको पिडा

समिक्षक : दामोदर पौडेल, प्रधान सम्पादक, दुनियाँखबर डटकम

2020-02-19

दामोदर पौडेल, काठमाडौँ - एउटा रंगकर्मीले आफ्नो जीवनमा भोग्ने रहर, अभाव तथा मनोदशालाई समेटेर तयार पारिएको नाटक ‘सेतो कपाल’ शुक्रबारदेखि रातोपुलस्थित शैली थिएटरमा पुनः मञ्चन सुरु गरिएको छ । झन्डै एक दशकअघि रंगकर्मी विजय विष्फोटको लेखन तथा निर्देशनमा नाटकघर गुरुकुलमा सफल रूपमा मञ्चन गरिएको ‘सेतो कपाल’ अहिले पुनः मञ्चन गरिएको हो । नाटकलाई शैली थिएटर र रंग सारथीले संयुक्त रुपमा प्रस्तुत गरेका हुन् ।

यौन मनोविज्ञानले मनमा डेरा जमाएको नाटकको मुख्य पात्र कुमार अग्निलाई आफ्नो फुलेको सेतो कपाल पट्टकै मन पर्दैन । भर्खरका ठिटीहरुले अङ्कल भनेको पट्टकै मन पर्दैन । आफूभन्दा जेठा उमेरका तर हेर्दा आफु भन्दा भर्खरको देखिने घरबेटीले दाइ भनेको मन पर्दैन । उसको यो मनोदशालाई कलेज पढ्ने ठिटिहरुले 'अङ्कल अङ्कल' भनेर मजाकको विषय बनाएको त मनै पर्दैन। आफ्नो वास्तविक उमेर भन्दा पाको देखाउने सेतो कपाल विपनामा मात्रै होइन सपनामा समेत तनाव दिने विषय बनेको छ । यौन मनोविज्ञानले ग्रस्त उसको मनोदशामा फुलेको कपाल 'घाउमा चुक थपे' जस्तो हुन पुगेको छ । जसका कारण उसको कुण्ठा झन् बढ्दै जान्छ ।

नाटकका मुख्य पात्र कुमार अग्निले आफुले गर्न लागेको नाटकको पूर्वअभ्यासका लागि रंगमञ्चमा देखिएको दृश्यबाट नाटकको सुरुवात हुन्छ । ‘साइकोप्याथ’ नामक मानसिक रोगले ग्रस्त कुमारको दिमाग कथाको विषयवस्तु भन्दा आफ्नो वास्तविक जीवनको कथातिर मोडिन्छ ।

उसले आफुले जवानीमा युवतीलाई प्रेम प्रस्ताव गर्दा अस्वीकृत भएको सम्झिन्छ । सिमललाई (अहिलेकी श्रीमती) अप्रत्यासित रुपमा भगाएर ल्याएको सम्झिन्छ ।

आफ्नो हजुरबुबा र हजुरआमा बिचको रोमाञ्चक बातचित सम्झिन्छ। हजुरबुवाले बाँसुरीमा हुने ७ वटा प्वालको उत्ताउलो रहस्य पत्ता लगाएको सम्झिन्छ । उसको हजुरबुबालाई पनि आफ्नो फुलेको कपाल पट्टकै मन नपर्ने र श्रीमतीले बुढो भन्दा झर्किएको सम्झिन्छ । हजुरआमासंग जिस्किने निहुँले पण्डित बेकाममा नै आफ्नो घरमा आएको सम्झिन्छ । पण्डित र हजुरआमा बीचको उत्ताउलो वार्तालाप हुँदा हजुरबुबाले ब्यक्त गरेको प्रतिक्रिया सम्झिन्छ ।

नाटकको बीच-बिचमा जड्याहा कान्छाको समेत इन्ट्री हुन्छ । उसको श्रीमती पोइल गएकी छ । श्रीमती पोइल गएको झोंकमा भाउन्न बनेको कान्छो २४ सै घण्टा मातेर 'टिल' हुन्छ । आफ्नी श्रीमतीले छाड्नुको रहस्य उसलाई सहि नसक्नुको छ जुन उसले मातेकै बेलामा खोल्छ । त्यस यता कान्छोको पनि यौन मनोविज्ञानको पारो चढ्दो छ । उसले आजकल जताततै प्वाल देख्न थालेको छ - सानो प्वाल, ठुलो प्वाल । उसलाई प्वाल देख्ने बित्तिकै पिडा हुन्छ ।

मुख्य पात्रको मनभित्र २४ सै घण्टा खेल्ने यी र यस्ता मनोबैज्ञानिक माथापच्चिसीले घर उजाडिन अबस्थामा पुगेको छ । घरमा रहेकी साक्षात लक्ष्मी जस्ती श्रीमतीमा उनले नारीको रुप नै देख्न छोडिसकेको छ । कोठाको भित्तामा मोनालिसाको तस्बिर राखेको छ र बेला-बेलामा उसैसंग एकोहोरो कुराकानी गर्छ । छोराछोरीको स्कुलको फि तिर्ने पैसा छैन । बेलुका पकाउने चामल, नुन, तेल छैन । श्रीमतीले घरभित्रको यो अबस्थाबारे कुरा गर्दा उल्टै चर्को-झर्को मान्छ । बन्धनमा परेको महसुस गर्दछ । श्रीमती माइत गएको बेलामा कुमारले स्वतन्त्र महसुस गर्छ र टन्न रक्सि पिउँछ र आफ्ना पिंडाहरुबाट सधाका लागि मुक्ति पाउन आत्महत्याको प्रयास समेत गर्छ ।

नाटकमा बाजे र नातिको हबिगत एउटै छ । फरक यत्ति हो बाजेले ओभरकम गर्न सकेका छन् भने नातिले ओभरकम गर्न सक्दैनन् । नातिको हकमा यो एउटा मनोरोग बनेर देखा परिसकेको छ । जड्याहा कान्छाको पारो चढ्दो छ । पिडा भुलाउन पिउँदा-पिउँदा उसलाई अहिले रक्सीको लत नै बसीसकेको छ ।

कुमारको मनोदशा हाम्रै समाजको एक प्रतिनिधिमुलक मनोदशा हो । नाट्य क्षेत्रमा कुमारको आफ्नै मनोदशा एउटा राम्रो विषयबस्तु पनि हो । उसले यसका अलावा समाजको थुप्रै सत्य एवं तथ्य परिदृश्यलाई नाटक मार्फत उजागर गर्न सक्छ । तर एउटा रंगकर्मिको रुपमा उसको दुर्बल आर्थिक अबस्था यहाँ तगारो बन्न पुगेको छ । उ न नाटक क्षेत्र भन्दा पर जान सक्छ न नाटकबाट अभिनय गरेर परिवार चलाउन नै । नेपालको यो तितो सत्य परिदृश्य नाटकमा प्रस्तुत गरिएको छ । नाटकको भाबलाई उजागर गर्न बिम्बको अत्यधिक प्रयोग गर्न माइर निर्देशक विजय बिस्फोटले यो नाटकमा psycho analaysis and absurdism लाई मज्जाले समिश्रण गरि प्रस्तुत गरेका छन् ।

नाटकमा कुमार अग्निको भूमिका शेर शाही, पुस्कर दाहाल र सुरेन्द्र क्षेत्रीले निभाएका छन् भने सिमलको भूमिकामा ज्योति राई छिन । यसका अलावा जड्याहा कान्छोको भूमिकामा रबिन तामाङ्ग, हजुरबुवाको भूमिकामा बालकृष्ण रिजाल, हजुरआमाको भूमिकामा निमा पाण्डे, पण्डितको भूमिकामा सदीन लुइँटेल, घरबेटी बाको भूमिकामा कुमार जोशी र स्मृतिपात्र र स्कुले छात्राको भूमिकामा मिरा केसी, करिश्मा केसी, रिया चौधरी, नोरचेन लामा रहेका छन् ।

फाल्गुन २ गतेबाट मन्चन सुरु भएको नाटक 'सेतो कपाल' फागुन १७ गतेसम्म चल्नेछ ।

देवेन्द्र बब्लुको ध्वनि परिचालन रहेको नाटकमा प्रकाश परिचालन विशाल घिमिरेले गरेका छन् ।

 

 




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ