कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता हुने योजना कार्यान्वयनमा

2020-02-11

काठमाडौं - उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ।

आन्तरिक राजश्व विभागले निर्माण गरेको प्रणालीको मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेका हुन्। विभागबाट तयार गरिएको प्रणालीमा उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केटको त्रिपुरेश्वर शाखा तथा केकेएफसी न्युरोड शाखाबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताहरुमा सुरु गरिएको हो।

विद्युतीय भुक्तानीसम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताको खाताबाट बिक्रेताको बैंक खातामा र बिक्रेताको खाताबाट पुनः उपभोक्ताको बैंक खातामा रकम जम्मा हुन्छ। यो प्रणालीका मुख्य सरोकारवाला पक्षहरु विद्युतीय बिजक जारी गर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएका बिक्रेता, भुक्तानी प्रणाली संचालक, भुक्तानी सेवा प्रदायक संस्थाहरुको सक्रिय सहयोग प्राप्त हुने विश्वास राखिएको विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताए।

उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका फोन–पे, इ–सेवा, खल्ती, सेल पे र कनेक्ट आईपीएसजस्ता भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थासँग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुमा पनि लागू गरिएको छ। यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा १ हजारदेखि १ लाख रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन्। यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बिजक लिने दिने बानीमा थप सुधार हुने अपेक्षा गरिएको छ।

साथै आजैदेखि करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुभारम्भ गरिएको छ। जसमा प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिने छ।

कुनै साझेदारी फर्म वा कम्पनीलाई मूल्य अभिवृद्धि करमा दर्ता गर्दा सो निकायको व्यवसायिक सूचनाका अतिरिक्त निकायको प्रमुख कार्यकारी व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई बायोमेट्रिक दर्ता प्रणालीमा अभिलेख रहने प्रणालीको विकास गरिएको छ।

यो प्रणाली हाल आन्तरिक राजस्व कार्यालय टंगाल र नयाँ सडकबाट प्रारम्भ गरिएको छ। यो प्रणालीलाई क्रमशः अन्य आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा विस्तार गरिने विभागले जनाएको छ। यो प्रणालीले करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्ने र हाल मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताहरुको विवरण क्रमशः नयाँ दर्ता प्रणालीमा अद्यावधिक हुनेछ।




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ