नेकपा संगठनात्मक प्रतिवेदनको सार : गुटबन्दी मौलायो, जिम्मेवारी 'राम्राले भन्दा हाम्राले' पाए !

2020-01-30

काठमाडौं - बुधबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्दै पार्टीमा गुटबन्दी घोषित र प्रत्यक्ष बन्दै गएको बताएका छन्।
प्रतिवेदनको ‘पार्टीको आन्तरिक जीवनमा देखापरेका समस्याहरू’ भन्ने खण्डमा उनले विभिन्न कोणबाट नेकपाभित्रको समस्या केलाएका छन्।

‘हाम्रो सामू गुटबन्दीलाई संस्थागत गर्ने र पार्टीलाई गुटहरूको फेडरेशन बनाउने वा गुटबन्दीलाई समाप्त गर्ने र संस्थागत ढंगले तय गरिएका विधि, नीति र निर्णयका आधारमा पार्टीलाई एकताबद्ध तुल्याउने भन्ने प्रश्न ज्वलन्त बनेर उपस्थित भएको छ’, उनले भनेका छन्।

प्रस्तुत छ, पौडेलद्वारा प्रस्तुत प्रतिवेदनको ‘पार्टीको आन्तरिक जीवनमा देखापरेका समस्याहरू’ खण्डः

० हामीले आगामी महाधिवेशनसम्मका लागि पार्टी निर्माणका सम्बन्धमा संक्रमणकालीन प्रबन्ध गरेका छौं। हामी एकातिर जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तमा आधारित हुन चाहन्छौं भने अर्कोतिर सहमतिमा निर्णय गर्नुपर्ने विशेष अवस्थामा छौं।

तर यतिबेला पार्टीमा जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र सहमतिमा निर्णय गर्ने परिस्थितिलाई ठिक ढंगले बुझ्ने समस्या देखापरेको छ। यतिबेला हामी एकता प्रक्रिया टुंगिएर लोकतान्त्रिक मूल्याकंन प्रणालीमा आधारित नहुँदासम्म, एकआपसमा अन्तरघुलन भएर पूर्व समूहको सम्झनाबाट माथि उठ्ने अवस्था नआउँदासम्म आपसी सल्लाह, समझदारी र सहमतिमा अघि बढ्नुपर्ने अवस्थामा छौं। एकतालाई जोगाउन, अघि बढाउन र सबल तुल्याउन यस्तो तरिका अवलम्बन गर्नुपरेको हो।

० तीन महिनामा सम्पन्न गर्ने भनिएको एकीकरणको काम हालसम्म पनि सम्पन्न नहुनु निःसन्देह दुःखद विषय हो। लामो समयसम्म एकीकरण सम्पन्न हुन नसक्दा पार्टीको ठूलो पंक्ति निष्क्रिय भएको छ। पार्टीको समग्र शक्ति गतिशील हुन र सकारात्मक परिणाममा प्रकट हुन पाएको छैन।

पार्टीका पूर्व घटकहरूको आपसी सम्बन्धको पृष्ठभूमि र तीन महिनामा एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्ने हाम्रो योजनाका बीचमा कहीँ न कहीँ अन्तरविरोध थियो। आजसम्म आइपुग्दा हामीले निर्धारण गरेको तीन महिनाको समयसीमा एकताले उत्साहित भएको मनोविज्ञानमा आधारित तर अव्यवहारिक थियो भन्ने पुष्टि भएको छ।

त्यतिमात्र होइन, हामीले संस्थागत रुपमा गृहकार्य गर्ने, एकीरणका सम्पन्न गर्ने र मात्र पुरानो कमिटी भंग गर्नुपर्नेमा त्यसो नगरी सुरुमै सम्पूर्ण कमिटीहरू भंग गरेर संगठनात्मक समस्या निम्त्याउने काम गर्‍यौं। जसले गर्दा चुनावी तालमेल र पार्टी एकीकरणले जनतामा पैदा भएको अभूतपूर्व एवं असाधारण उत्साहलाई गतिमा र गतिलाई शक्तिमा बदल्न सकिएन।

तर अब हामीले एकीकरणका बाँकी काम सम्पन्न गर्ने विषयलाई सर्वाधिक प्राथमिकता दिनुपर्दछ। एकता प्रक्रियामा विलम्ब हुनुको पछाडि आपसी सम्बन्धको सम्वेदनशीलताले पनि काम गरेको छ र हामीले त्यसलाई ठीक ढंगले सम्बोधन गरेर अघि बढ्नुपर्छ।

० हामीले अझै पनि पार्टीको आन्तरिक जीवनलाई विधिसम्मत, संस्थागत र कमिटी प्रणालीमा आधारित बनाउन सकेका छैनौं। पूर्व समूहको मानसिकता र पूर्व समूहका पनि गुटका प्रशाखाहरू पार्टीका सामू चुनौती बनेर उपस्थित भएका छन्। पार्टीमा गुटबन्दी घोषित र प्रत्यक्ष बन्दै गएको छ। अराजकता र अनुशासनहीनताको समस्या झाँगिदै गएको छ।

हाम्रोसामू गुटबन्दीलाई संस्थागत गर्ने र पार्टीलाई गुटहरूको फेडरेशन बनाउने वा गुटबन्दीलाई समाप्त गर्ने र संस्थागत ढंगले तय गरिएका विधि, नीति र निर्णयका आधारमा पार्टीलाई एकताबद्ध तुल्याउने भन्ने प्रश्न ज्वलन्त बनेर उपस्थित भएको छ।

हामीले गुटबन्दीलाई निर्ममतापूर्वक अस्वीकार गर्नुपर्दछ। त्यसका लागि निर्णय प्रक्रियामा सम्बद्ध सबैको सहभागिता र संस्थागत निर्णयको प्रणालीलाई दृढताका साथ अवलम्बन गर्नुपर्दछ । संस्थागत निर्णयहरूको प्रतिरक्षा र कार्यान्वयनमा सिंगो पार्टी पंक्तिलाई एकताबद्ध तुल्याउनु पर्दछ।

० पार्टीमा भएको छलफल र निर्णयका सम्बन्धमा अनधिकृत, तोडमरोड गरिएका र गलत सूचना सम्प्रेषण गर्ने रोगबाट पार्टी आक्रान्त बनेको छ। पार्टीको केन्द्रीय सचिवालयसमेत यस प्रवृत्तिबाट अलग रहनसकेको छैन। यस्तो प्रवृत्ति बारम्बार दोहोरिने हो भने हामी बैठकमा मिडियाको प्रत्यक्ष र नियमित उपस्थितिका लागि तयार हुनुपर्ने अवस्थामा पुग्नेछौं।

गलत समाचार सम्प्रेषण हुनुभन्दा बैठकमा मिडियाको नियमित उपस्थिति र प्रत्यक्ष प्रसारण मन्जुर गर्नु उचित हुनेछ। के हामी यसका लागि तयार हुने हो? हामी बैठकका औपचारिक निर्णय र आवश्यक विषय आधिकारिक ठाउँबाट सार्वजनिक गर्ने प्रणालीमा कायम रहनुपर्दछ । पार्टीको प्रतिष्ठामा क्षय हुनेगरी अनधिकृत र गलत ढंगले सूचना सम्प्रेषण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नु पर्दछ।

० हामीले एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्न निश्चित मापदण्ड र कार्यविधि अवलम्बन गर्ने निर्णय गरेका छौं। तर कार्यान्वयनका सन्दर्भमा भने केही ठाउँहरूमा पार्टीको निर्णय र निर्देशन विपरीतका कामहरू भएको गुनासो तथा उजुरीहरू आएका छन्।

हामीले नीति, विधि र निर्णयविपरीत भएका कार्यहरूलाई अविलम्ब सच्याउन पर्दछ। पार्टीको केन्द्रीय सचिवालयले प्राप्त गुनासा तथा उजुरीहरू अध्ययन गर्न, स्थलगत निरीक्षण गर्न र निर्णय एवं निर्देशन विपरीतका कार्यहरूलाई सच्याउन केन्द्रीय संगठन विभागलाई जिम्मेवारी प्रदान गरेको छ। संगठन विभागको अग्रसरतामा ती समस्याहरूको समाधान गर्न जरुरी छ।

० पार्टीको राष्ट्रिय महाधिवेशन र प्रदेश तथा स्थानीय कमिटीहरूको अधिवेशनका लागि संगठित सदस्यको नवीकरण अनिवार्य पूर्व शर्त हो। तर आजसम्म पनि हामीले पार्टी सदस्य र संगठित सदस्यको अभिलेख अद्यावधिक गर्न र नवीकरण गर्न सकेका छैनौं।

केन्द्रीय सचिवालयले २०७६ चैत मसान्तभित्र नवीकरण सम्पन्न गर्ने निर्णय गरेको छ। तदनुरुप निर्धारित समयभित्र पार्टी सदस्य तथा संगठित सदस्यको अभिलेख अद्यावधिक गर्ने र नवीकरण सम्पन्न गर्ने काममा केन्द्रित हुन जरुरी छ।

० हामीले केही समय अघिदेखि उद्देश्यमूलक र योजनाबद्ध ढंगले सिंगो पार्टी शक्तिलाई परिचालित गर्न राष्ट्रिय अभियानको आवश्यकता महसुस गर्दै आएका हौं। यस बैठकमा उक्त योजनाका सम्बन्धमा गम्भीरतापूर्वक छलफल र सार्थक निर्णयमा पुग्न जरुरी छ। ततसम्बन्धी निर्णयलाई समस्त पार्टीपंक्तिले एकरुपताका साथ बुझ्न र कार्यान्वन गर्न जरुरी छ।

० हामीले प्रारम्भिक गृहकार्यका आधारमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरूको कार्यविभाजन गरेका छौं। हामीले गरेको कार्यविभाजनमा केही न केही कमिकमजोरी रहको तथ्यप्रति हामी सबै जानकार नैं छौं। सकेसम्म व्यक्तिको योग्यता, रुची र पार्टी कामको आवश्यकताबीच संयोजन गर्नुपर्नेमा कतिपय सन्दर्भमा त्यसो हुनसकेको छैन।

त्यसैले कार्यविभाजनमा पुनःसमायोजन गर्नुपर्ने आवश्यकता छ। यसनिम्ति केन्द्रीय कमिटीका सदस्य कमरेडहरूको सुझाव समेतलाई पनि ध्यानमा राखेर कार्यविभाजनमा परिमार्जन गर्न जरुरी छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ