किन दिए वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले राजीनामा ?

2020-01-20

काठमाडौं - नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्। आइतबार अध्यक्ष खरेलले राजीनामा दिएका हुन्। उनलाई भदौ २७ गते संचालक समिति सदस्यमा नियुक्त गरिएको थियो। लगत्तै भदौ ३१ गते मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अधिकार प्रयोग गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी दियो।

किन दिए खरेलले राजीनामा?
खरेलले निगमको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको कार्ययोजनामा निगमसँग रहेका सबै जहाज प्रभावकारी रुपमा उडाउने प्रतिबद्धता जनाएका थिए। त्यस्तै दुर्गमका सबै विमानस्थल संचालनमा ल्याउने समेत उनको प्रतिबद्धता थियो। तर यी प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै उनीप्रति सरकारको दृष्टिकोण बदलिएको थियो।

खरेलको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असन्तुष्टि जाहेर गर्दै आएका थिए। ‍

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स अहिले चरम आर्थिक संकटमा परेको भन्दै उनको आलोचना हुन थालेको थियो। नेपाल एयरलाइन्सको ऋण मात्रै ४० अर्बभन्दा बढी भइसकेको भन्दै एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले विमान उडाएर ऋणको किस्ता र ब्याज तिर्न नसक्ने घोषणासमेत गरिसकेका थिए। ४० अर्ब ऋण बोकेको पूर्ण सरकारी स्वामित्वको यो संस्थासँग अहिले वार्षिक किस्ताको रुपमा नै करिब ४ अर्बको दायित्व छ।

'वाइडबडी' विमान किन्न नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग लिएको २४ अर्ब ऋको किस्ता तिर्न अहिले एयरलाइन्सले सकिरहेको छैन।

यसका साथै उनले राजीनामा दिनुपर्ने अन्य कारणसमेत रहेका देखिएको छ। २२ जना पाइलटले सामूहिक राजिनामा दिने भएपछि खरेल आफैँले राजीनामा गरेका हुन्। एयरलाइन्सका पाइलटहरूले खरेलको कार्यशैलीमा चित्त नबुझेपछि सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका थिए। तर खरेलले उनीहरूको चेतावनीप्रति कुनै चासो नराखेपछि पाइलटहरूको असन्तुष्टि झनै बढेको थियो। अन्ततः पाइलटहरुले वास्तवमा नै राजीनामा गर्ने तयारी गरेपछि खरेल आफैले राजीनामा दिएर मैदान खाली गरिदिएका छन्।

खरेल कार्यकारी अध्यक्ष भएको लामो समय नबित्दै निगम आर्थिक रुपमा धराशायी भएको भन्दै श्वेत पत्र जारी गरी सरकारसँग ऋण माग्दै आएका थिए। तर सरकारले निगमलाई ऋण दिने उपयुक्त आधार देखेन। बरु उनीमाथि नै सरकारी दृष्टि परिवर्तन भयो। खरेलले राजीनामा दिनुपरेको यो पनि एक कारण भएको निगम स्रोतले बताएको छ।

यस्तै उनले प्रधानमन्त्रीसँग गरेको प्रतिबद्धताअनुसार आन्तरिक उडानमा रहेका सबै जहाज सञ्चालन योग्य बनाउन सकेनन्। केही विमानस्थलमा हवाइ सेवा संचालन गर्ने तयारी गरे पनि त्यसमा खरो उत्रन सकेनन्। बरु उनको ध्यान आफू निकटका कर्मचारी र पाइलटलाई बढुवादेखि सेवासुविधामा एक्लौटी सिफारिस गर्न तर्फ गयो।

यसैगरी निगमले नयाँ बजार विस्तार गर्न विदेशका विभिन्न विमानस्थलमा उडान भर्ने तयारी गरेको थियो। यसका लागि आवश्यक जहाज पनि निगमसँग थिए। बजार विस्तारकै क्रममा निगमले जापानको ओशाका विमानस्थललाई रोज्यो। तर जापानकै नारिता छाडेर ओशाका रोजेको निगमको अपेक्षाअनुसारका यात्री पाउन सकेन। यही स्थानमा जापानकै ओशाकाबाट काठमाडौं सिधा उडान गरेको भए यात्रु पाउन सहज हुन्थ्यो तर ओशाका उडान भर्दा प्रत्येक एक राउन्ड उडानमा एक करोडभन्दा बढी घाटामा निगम पुग्यो। यसले खरेललाई नैतिक संकटमा पारेको थियो।

यस्तै अघिल्लो वर्षसम्म नाफामा रहेको निगम व्यवस्थापकीय कमजोरीका कारण गत वर्ष २ अर्ब घाटामा पुग्यो। यसले पनि कार्यकारी अध्यक्षको कार्यशैलीप्रति प्रश्न खडा गरेको थियो। अन्ततः उनले आइतबार राजीनामा दिएर निगमबाट बिदा मागेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ