नेपाल ल क्याम्पसको भर्ना विवादले शैक्षिक सत्र नै खेर गयो !

2020-01-19

काठमाडौं - नेपाल ल क्याम्पसमा एलएलबी (स्नातक) प्रथम वर्षमा विद्यार्थी भर्नासम्बन्धमा देखिएको विवादबारे उच्च सरकारी अधिकारीले चिन्ता व्यक्त गरेका छन्। प्रवेश परीक्षामा सहभागी सबैलाई भर्ना गर्नुपर्ने विद्यार्थीको माग र तीन सयभन्दा बढी विद्यार्थी भर्ना गर्न नसक्ने प्रशासनको अडानका कारण यहाँ एलएलबीको प्रवेश परीक्षा हुन सकेको छैन। विवाद नभएको भए गत वैशाखदेखि नै पढाइ सुरु हुनुपर्थ्यो।

समयमै विद्यार्थी भर्ना हुन नपाएपछि एलएलबी प्रथम वर्षको एक शैक्षिक सत्र नै खेर गएको छ। विद्यार्थी नभएपछि शिक्षक खाली हात बस्नुपरेको छ। नौ महिनादेखिको विवाद साम्य नभएपछि बिहीबार महान्यायाधिवक्ता कार्यालयमा समस्या समाधानका लागि उच्च सरकारी अधिकारीबीच छलफल भएको थियो।

छलफलमा महान्यायाधिवक्ता अग्नि खरेल, त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटा, त्रिवि कानुन संकायका डिन, सर्वोच्चका रजिस्ट्रार, नेपाल बार एसोसिएनसका पदाधिकारी तथा ल क्याम्पसका प्रमुख सहभागी थिए।

असन्तुष्ट विद्यार्थीसँग छलफल गर्न तत्काल उच्चस्तरीय संयन्त्र बनाउने र सकेसम्म छिटो पढाइ सुचारु गर्ने निर्णय भएको थियो। उक्त क्याम्पसमा तीन सयभन्दा बढी विद्यार्थी भर्ना नगर्ने निर्णय पनि उनीहरूले गरेका छन्। तर, यहाँ एलएलबी प्रथम वर्षमा ३ हजार विद्यार्थीले प्रवेश परीक्षाको फाराम भरेको क्याम्पस प्रमुख डीएन पराजुलीले बताए। पछिल्लो समय बजारमा कानुन पढेका जनशक्ति अभाव हुँदै गएकाले यस विषयलाई अझ विस्तार गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। अहिले बजारमा करिब १० हजार कानुन व्यवसायी अभ्यासरत छन्। तर, केही समयअघि प्रधानमन्त्रीलाई बुझाइएको जनशक्ति प्रक्षेपणसम्बन्धी कार्यदलको प्रतिवेदनमा २१०० सालभित्र यस्तो जनशक्ति न्यूनतम २४ हजार चाहिने उल्लेख छ।

‘यस हिसाबले पनि कानुनको पढाइ विस्तार गर्नुपर्ने देखिन्छ’, छलफलमा सहभागी शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले भने। क्याम्पसले अहिले स्नातक तहअन्तर्गत १० जोड दुई उत्तीर्ण गरेका विद्यार्थीका लागि पाँचवर्षे बीएएलएलबी र अन्य संकायबाट स्नातक तह उत्तीर्ण गरेकालाई तीनवर्षे एलएलबीको पढाइ सञ्चालन गरिरहेको छ। दुवै पढाइको समकक्षता स्नातक तह बराबर हो।

यो क्याम्पसमा ०५३ सालबाट त्रिविले कानुनमा एलएलबी पढाइ सुरु गरेको थियो। बिहानी सत्रमा पढाइ हुन्छ। गत वर्ष पनि क्याम्पसले विद्यार्थी संगठनकै दबाबमा १० हजार ८ सय ६३ विद्यार्थी भर्ना गरेको थियो। धान्नै नसक्ने गरी विद्यार्थी आएपछि त्यतिखेर पनि प्रवेश परीक्षा लिएर क्षमताअनुसार मात्रै विद्यार्थी भर्ना लिने अडान क्याम्पसले लिएको थियो।

तर, विद्यार्थीको मागलाई पनि पूरा गर्ने भन्दै डिन कार्यालयसँग छलफल गरेर एक पटकलाई ८ सय विद्यार्थी भर्ना गर्ने निर्णय गरेर क्याम्पसले प्रवेश परीक्षा सञ्चालन गरेको थियो। त्यो निर्णय पनि अमान्य भएको भन्दै असन्तुष्ट विद्यार्थीले प्रवेश परीक्षा स्थलमै प्रश्नपत्र तथा उत्तरपुस्तिका च्यातिदिए। प्रवेश परीक्षा नै हुन नपाएपछि डिन कार्यालयकै निर्देशनमा क्याम्पसले पढ्न चाहने सबै विद्यार्थीलाई भर्ना गरेको थियो। ती विद्यार्थी अहिले दोस्रो वर्ष पढिरहेका छन्।

 

 

अन्नपुर्ण पोष्ट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ