उपसभामुखले छाड्न नमानेपछि विकल्पमाथि छलफलमा गर्दै प्रचण्ड-नेपाल !

2020-01-15

काठमाडौँ - सत्तारुढ नेकपा सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपाभित्र सम्भावित अर्को कदमबारे छलफल सुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीकै ‘भरोसा’ मा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल गरेका छन् ।

तुम्बाहाङफेको अडानले नेकपाले सभामुख गुमाउने स्थिति आउन सक्ने आँकलनसहित विभिन्न विकल्पबाट अघि बढ्ने विषयमा केन्द्रित रहेर प्रचण्ड र नेपालले छलफल गरेका हुन् । पार्टी निर्णयलाई उपसभामुख तुम्बाहाङफेले अवज्ञा गरेपछि प्रचण्ड र नेपालले आइतबारबाटै जटिलता समाधानमा केन्द्रित रहेर छलफल थालेका थिए । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली तुम्बाहाङफेको अडानमा मौन बसेकाले समस्या जटिल बनेको उनीहरूको बुझाइ छ । बानेश्वरको एक होटेलमा आइतबार दिउँसो भएको भेटर्वार्तामा प्रचण्ड र नेपालले सचिवालयको पछिल्लो निर्णय कार्यान्वयनमा देखिएको जटिलतामा केन्द्रित रहेर छलफल गरेका थिए ।

स्थायी समिति सदस्य मणि थापाले उपसभामुखको अडानले निम्त्याएको जटिलताबारे सामान्यतया सचिवालयका सबै नेताबीच अनौपचारिक छलफल चलिरहेको बताए । ‘पछिल्लो जटिलताबारे सबै नेताबीच अनौपचारिक छलफल भइरहेकै छ,’ थापाले नयाँ पत्रिकासँग भने, ‘वरिष्ठ नेता नेपालले एकता महाधिवेशन सम्पन्न नहुँदासम्म पूर्वसमझदारीअनुसार माओवादी समूहले नै सभामुख लिँदा ठीकै हुन्छ भन्ने सकारात्मक धारणा राखेको बुझिन्छ ।’

छलफलमा दुई विकल्प
पहिलो विकल्प : स्तुम्बाहाङ्फेबाहेकबाट उम्मेदवार बनाउने
नेपालनिकट एक नेताका अनुसार तुम्बाहाङफेले पार्टी निर्णयलाई चुनौती दिएकाले उनीबाहेकको विकल्पबाट छिटो उम्मेदवार छान्नुपर्ने समझदारी प्रचण्ड–नेपालबीच भएको छ । तुम्बाहाङफेबाहेक सभामुखमा पूर्वएमाले समूहबाट सुवास नेम्बाङ तथा माओवादी समूहबाट अग्नि सापकोटाको नाम चर्चामा छ । सभामुखको उम्मेदवार टुंग्याएपछि उपसभामुखले चाल्ने कदमका आधारमा अघि बढ्न सहज हुने दुवै नेताको बुझाइ रहेको ती नेताले बताए । अघिल्लो साता भैँसेपाटीस्थित नेता वामदेव गौतमको निवासमा भएको छलफलमा पनि नेताहरूबीच तत्काल उपसभामुखलाई राजीनामा गर्न लगाएर सभामुख चयन प्रक्रिया अघि बढाउने सहमति भएको थियो । छलफलमा नौ सदस्यीय सचिवालयमध्ये प्रचण्डसहित नेपाल, गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

दोस्रो विकल्प : समानुपातिक सूचीबाट नाम हटाउने
उपसभामुखकै मागअनुसार केन्द्रीय सचिवालयबाट उम्मेदवार चयनपछि पनि राजीनामा नआए संवैधानिक र कानुनी विकल्पबाट अघि बढ्ने विषयमा पनि प्रचण्ड–नेपालबीच छलफल चलेको छ । आइतबारै उनीहरूले केही निकटस्थ कानुन व्यवसायीसँग गोप्य कुराकानीसमेत गरेको स्रोतले जनाएको छ ।

कानुनी व्यवस्थाअनुसार कुनै पनि दलले आफ्ना समानुपातिक सांसदको नाम सूचीबाट हटाउन सक्ने भएकाले संसद बैठक बस्नुअगावै उनलाई सांसद पदबाट हटाएपछि उपसभामुख पद पनि स्वतः रिक्त हुने र सभामुखसहित दुवै पद रिक्त भएको अवस्थामा नेकपाले सभामुख पद जोगाउन सक्ने कानुन व्यवसायीहरूले सुझाब दिएका छन् । ‘उहाँहरूबीच सभामुख पद जोगाउन सबै विकल्प अपनाउने सहमति भएको छ,’ प्रचण्डलाई उद्धृत गर्दै एक नेताले भने, ‘पार्टी निर्णयलाई नै चुनौती दिने व्यक्तिलाई सभामुखमा निर्वाचित गर्ने हो भने केपी ओलीबाहेक कोही प्रधानमन्त्री हुनुभयो भने संसद्मा बिल पास गराउन कसरी सहयोग गर्नुहोला भन्ने गम्भीर प्रश्न उठेकाले धम्क्याउने, निहँु खोज्ने व्यक्तिलाई उम्मेदवार बनाउन सकिँदैन भन्नेमा उहाँहरू प्रस्ट हुनुहुन्छ ।’

ओलीको जोड सहमतिमा, नभए बहुमतको पक्षमा प्रचण्ड
सभामुख चयनमा नेकपा सचिवालयमा नेताहरू फरक–फरक कित्तामा उभिएका छन् । गत साता भैँसेपाटीमा भेला भएका नेता सचिवालयबाटै छिटो उम्मेदवार टुंग्याउने पक्षमा उभिएका छन् भने ओली दुई अध्यक्षबीच सहमति जुटेपछि मात्र अघि बढ्ने पक्षमा छन् । ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । नौ सदस्यीय सचिवालयमा बहुमत सदस्य आफ्नो पक्षमा देखिएपछि प्रचण्ड सहमति नभए बहुमतबाट भए पनि अघि बढ्ने पक्षमा छन् ।

तत्काल निर्णयमा जाँदा आफूअनुकल सांसदलाई सभामुख बनाउन सकिनेमा प्रचण्ड विश्वस्त छन् । पछिल्लोपटक गत आइतबार ओलीसँग बालुवाटारमा भएको भेटमा प्रचण्डले सचिवालयबाटै छिटो निर्णय गर्नुपर्नेमा जोड दिएको उनीनिकट एक नेताले बताए । ‘तपाईं र मबीच कुरा मिल्दैन भने सचिवालयबाटै छिटो उम्मेदवार टुंग्याऊँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । तर, भैँसेपाटी भेलापछि प्रचण्डसँग रुष्ट बनेका ओलीले सहमतिविना पार्टी चलाएर देखाउन चुनौती दिएका छन् ।

प्रचण्डले पूर्वएमाले समूहका नेतासँग समीकरण गरेर अनुकुल बहुमत जुटाउने कसरत गरेपछि ओलीले पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मनाउने प्रयास गरिरहेको स्रोतको दाबी छ । ओलीले बादललाई सोमबार बालुवाटारमै बोलाएर गोप्य भेटर्वातासमेत गरेको बादलनिकट स्रोतले जनाएको छ । स्थायी समिति सदस्य थापाले अध्यक्ष ओली पार्टीको पछिल्लो निर्णयबारे मौन रहेकाले पनि उपसभामुख अडानमा कायम रहन बल पुगेको बताए ।

गत शनिबार बसेको सचिवालय बैठकले सभामुखमा उम्मेदवारी दिने र उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो । अध्यक्षद्वय ओली र प्रचण्डले राजीनामा दिएर बाटो खुलाउन तुम्बाहाङफेलाई भनेका थिए । महासचिव विष्णु पौडेलले सचिवालयको निर्णय पत्रमार्फत तुम्बाहाङफेलाई जानकारी गराएका थिए । तर, पनि तुम्बाहाङफेले पार्टी सदस्य नभएकाले आफूलाई ह्विप नलाग्ने दाबी गर्दै राजीनामा दिन अस्वीकार गर्दै आएकी छिन् ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ