पक्राउ परेकालाई लैजान दुई वटा विमान पठाउँदै चीन, स्वदेशमै लगेर मुद्दा चलाइने

2019-12-28

काठमाडौँ - चीनले नेपालमा पक्राउ परेका आफ्ना नागरिक स्वदेश लैजान दुईवटा विमान पठाउने भएको छ । नेपालमा बसेर चीनमा संगठित अपराध गरेको आरोपमा गत सोमबार पक्राउ परेका एक सय २२ जना चिनियाँलाई स्वदेशमै लगेर मुद्दा चलाउने चीनको तयारी छ । सोहीअनुसार आगामी साता दुईवटा विमान नेपाल आउने भएका हुन् ।

नेपालमा उनीहरूमाथि विस्तृत अनुसन्धान नै भएको छैन । हाल अभद्र मुद्दामा प्रमुख जिल्ला अधिकारीको आदेशमा थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ । एक–दुई दिनभित्रै उनीहरूलाई सामान्य धरौटीमा छाड्ने र अध्यागमनले भिसासम्बन्धी कसुरमा जरिवाना गराएर निष्कासनको तयारी थालेको छ । निष्कासनका लागि गृह मन्त्रालयले निर्णय गर्नुपर्ने हुन्छ ।

‘आगामी ४ वा ५ जनवरीमा लैजाने तयारी गरी दुईवटा चार्टर्ड जहाज ल्याइने चिनियाँ अधिकारीले जानकारी गराएका छन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘त्यहीअनुसार हामीले तयारी गरेका छौँ ।’ नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासनको प्रक्रियामार्फत उनीहरूलाई चिनियाँ अधिकारीसमक्ष बुझाउन लागिएको छ । अपराधमा संलग्न विदेशीलाई गृह मन्त्रालयले यसैगरी सम्बन्धित देशलाई बुझाउने र अपराध गरेर विभिन्न देशमा भागेका नेपालीलाई पनि यही प्रक्रियामार्फत नेपाल ल्याउने गरिएको छ ।

सोमबार पक्राउ परेका आठ महिलासहित एक सय २२ चिनियाँलाई विभिन्न प्रहरी कार्यालयमा थुनामा राखेर बयान लिने काम भइरहेको छ । सीधै निष्कासन गर्दा गलत सन्देश जाने भएकाले अभद्र मुद्दाका नाममा प्रहरीले उनीहरूलाई थुनामा राखेको प्रहरी स्रोत बताउँछ । मंगलबारभित्रै उनीहरूको मुद्दा टुंग्याउने र सबैलाई अध्यागमनमा बुझाउने तयारी भइरहेको छ । अभद्र व्यवहार मुद्दामा सामान्य जरिवानामै अभियुक्तहरू छुट्छन् ।

उनीहरूले चिनियाँहरूलाई नै ठगी गरेकाले त्यससम्बन्धी थप अनुसन्धान र कारबाही चीनमै हुने भएको छ । उनीहरूबाट बरामद ल्यापटप र मोबाइल भने के गर्ने भन्नेमा निर्णय भइसकेको छैन । उनीहरूले नेपालमार्फत चीनमा अनलाइन जुवा खेलाउने तथा विच्याटमार्फत प्रलोभन देखाएर ठगी गर्दै आएका थिए । चिनियाँ विदेश मन्त्रालयले समेत अन्तरदेशीय साइबर ठगीमा उनीहरूलाई पक्राउ गरिएको जानकारी गराइसकेको छ ।

एक हजार पक्राउ गर्ने योजना, एक सय २२ मात्र समातिए
चार्ली फोक्टरलाई नाम दिइएको यो अप्रेसनमा करिब हजार चिनियाँ पक्राउ पर्ने गृह मन्त्रालयको अनुमान थियो । तर, एक सय २२ जना मात्र पक्राउ परे । नेपालमा बसेर संगठित अपराधमा संलग्न चिनियाँहरू भाग्न सफल भएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले अप्रेसन अगाडि चिनियाँ बस्दै आएको ३५ घरमा छापा हान्ने योजना बनाएको थियो । तर, नौवटा घरमा मात्र छापा हानियो । अन्य घरमा प्रहरी पुग्दा उनीहरू भागिसकेका थिए । अप्रेसनमा सहभागी महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘हामीले सोचेभन्दा थोरै पक्राउ परे, केही चिनियाँहरू भाग्न सफल भए ।’

स्रोतका अनुसार पोखरामा पनि केही चिनियाँ नागरिक घर नै भाडामा लिएर आपराधिक गतिविधिमा संलग्न थिए । तर, उनीहरू त्यहाँबाट समेत भागिसकेका छन् । उनीहरूको पासपोर्ट नम्बर सुरक्षा निकायसँग नभएकाले अध्यागमनले समेत रोक्न सकेको छैन । धेरैजसो रसुवा नाकाबाट भागेको आकलन गरिएको छ । उनीहरू भागेपछि कतिपय घरबेटीले प्रहरीलाई खबर गर्न थालेका छन् भने चिनियाँलाई भाडामा घर दिएकाहरूले समेत छानबिन गरिदिन भनेको स्रोत बताउँछ ।

कम्बोडिया, भियतनाम तथा मलेसियाबाट भागेर आएकाबारे चिनियाँ पक्षले नेपाललाई सूचना दिएको थियो । चीन सरकारको आग्रहमा ती देशमा यसरी अवैध धन्दामा संलग्नविरुद्ध अप्रेसन चलिसकेको छ । तीन देशमा दुई हजार चिनियाँ पक्राउ परेका थिए । ती देशमा कडाइपछि गत वर्षदेखि उनीहरू नेपाल आएर घरभाडामा लिई आपराधिक गतिविधि सुरु गरेका थिए । नेपाल र चिनियाँ अधिकारीबीच तीन महिना लामो गृहकार्यपछि गत सोमबार अप्रेसन गरिएको थियो ।

२० जनासँग पासपोर्ट छैन
अवैध रूपमा नेपाल बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । ‘स्विप अपरेसन’अन्तर्गत उनीहरूलाई काठमाडौं मनमैजुको चार, बाँसबारीको दुई र बुढानीलकण्ठको एक घरमा छापा हानी पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये २० जनासँग पासपोर्ट नभएकाले उनीहरूलाई काठमाडौंस्थित चिनियाँ दूतावासले ट्राभल डकुमेन्ट जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ । त्यसैका आधारमा उनीहरूलाई चीन पठाउने तयारी छ । कतिपयको भिसाको अवधिसमेत सकिएको स्रोत बताउँछ । पक्राउ पर्नेमध्ये आपराधिक समूहले जागिरका लागि भनेर ल्याइएका कामदार पनि छन् । मालिकहरूले नै उनीहरूको पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाएर राखेकोसमेत अनुसन्धानमा खुलेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ