आजका विश्‍व घटना : बुर्किना फासोमा ३५ महिलाको मृत्यु, अफगानिस्तान हमलामा ६ सिपाहीको निधन

2019-12-27

श्रीनगर - कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ । दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् ।

पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा जनाएको छ । त्यसपछि आफूहरुले गोली चलाएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ । हाजी पीर सीमा क्षेत्रमा सीमा वारपार गोलीबारी भएको थियो । पाकिस्तानी सेनाले यस घटनालाई 'युद्धविरामको उल्लंघन' भएको टिप्पणी गरेको छ ।

भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कलियाले भने रामपुर क्षेत्रमा आफ्ना सिपाही पाकिस्तानी सेनाको आक्रमणबाट मारिएको जनाएका छन् । गत अगस्ट महिनादेखि नै कश्मीर क्षेत्रमा आम नागरिकको दैनिकी स्थिर हुन सकेको छैन ।

भारतीय प्रधानमन्त्रीले सूर्यग्रहण हेरेको 'मजाक' भएपछि...
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारको सूर्यग्रहण हेर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा ठट्टाको विषय बनेको छ । मोदीले बिहीबार बिहानै विशेष चश्माको सहायताबाट सूर्यग्रहण हेरेका केही तस्बिर ट्वीटरमा सार्वजनिक गरेका थिए ।

तर ट्वीटर प्रयोगकर्ताले उनको मजाक नै बनाए । दिल्लीमा बादलका कारण प्रष्टसँग सूर्यग्रहण देख्न नसकिएको मोदीले जनाएका थिए । यस्तैमा एक प्रयोगकर्ताले मोदीका तस्बिरमा टिप्पणी गर्दै उनले लगाएको चश्मा एक लाख ६० हजार रुपैयाँ मुल्यको उल्लेख गरेका थिए । उनले मोदीले लगाएको चश्माको खास दाम वेबसाइटमै खोजेर त्यसको स्कृन सट समेत राखेका थिए ।

गप्पिस्तान रेडियो नामको प्रयोगकर्ताले मोदीको उक्त तस्बिर सार्वजनिक गर्दै 'यसको मजाक बनिरहेको छ' भन्दै लेखेका थिए । मोदीले भने 'स्वागत छ, आनन्द लिनूस् !' भन्दै जवाफ फर्काए ।

चिनियाँ नागरिकलाई जापानमा मृत्युदण्ड
टोक्यो : जापानमा चारजनाको परिवारको हत्याका दोषी चिनियाँ नागरिकलाई फाँसीको सजाय सुनाइएको छ । ४० वर्षीय चिनियाँ नागरिक वेइ वेइलाई मृत्युदण्डको फैसला सुनाइएको हो । जुन् २००७ पछि विदेशीलाई मृत्युदण्ड सुनाइएको पहिलो घटना हो ।

स्थानीय मिडियाका अनुसार ती चिनियाँ नागरिकले २००३ मा अन्य दुई चिनियाँ साथीसँग मिलेर जापानमै चारजनाको परिवारको हत्या गरेका थिए । तर हत्यामा संलग्न दुई चिनियाँ भने भागेर चीन पुगिसकेको बताइएको छ । तर ती दुई चीनमै समातिएका थिए । एकजनाले भने चीनमै मृत्युदण्डको सजाय पाइसकेका छन् ।

फिलिपिन्समा आँधीबाट १६ को मृत्यु, १० हजार विस्थापित
मनिला : फिलिपिन्समा क्रिसमसको दिन आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या १६ पुगिसकेको छ । १० हजारजति मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । सरकारी अधिकारीहरुका अनुसार ठूलो संख्यामा भौतिक संरचनाको क्षति भएको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार मिडियाका आँधीको गति प्रतिघण्टा १ सय ९५ किलोमिटर थियो । जसकारण कतिपय घरका छाना उडाउनुका साथै देशभर विद्युत् आपुर्ति ठप्प भएको छ । मोबाइल तथा इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

देशको विमानस्थल समेत पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । सरसफाइ र उद्धाका लागि सुरक्षाफौज खटेको बताइएको छ । फानफुन नाम दिइएको यस पटकको आँधी २०१३ मा आएको हैयान आँधीभन्दा कम शक्तिशाली भएको मापन गरिएको छ । हैयानका कारण ७३ हजार भन्दा धेरै मानिसको ज्यान गएको थियो ।

टर्कीमा पानीजहाज पल्टिँदा सातको मृत्यु, ६४ को उद्धार
टर्की : पाकिस्तान, बंगलादेश र अफगानिस्तानका आप्रवासी तथा शरणार्थी बोकेर यूरोपतर्फ जाँदैगरेको पानी जहाज टर्कीमा दुर्घटनाग्रस्त हुँदा सातजनाको मृत्यु भएको छ । अरु ६४ जनाको सुरक्षित उद्धार भएको छ ।

इरानको सीमा नजिकै टर्कीको बिटलिस प्रान्तको लेक भानमा उक्त जहाज डुबेको हो । लेक भान इरानसँगको सीमा नजिकैको क्षेत्र हो । जसलाई टर्की हुँदै युरोप छिर्ने शरणार्थी तथा आप्रवासीले नियमित प्रयोग गर्दैआएका छन् । दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो । दुईजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

बुर्किना फासोमा श्रृंखलावद्ध हमला, ३५ महिलाको मृत्यु
बुर्किना फासो : बुर्किना फासोमा सैन्य आक्रमणमा ३५ जना सर्वसाधारण महिलाको मृत्यु भएको छ । बुधबार एकै दिन लगातार दुई आक्रमण हुँदा उनीहरुको ज्यान गएको हो ।

मंगलबार भएको आक्रमणमा सात सिपाही र ८० सुरक्षाफौजको ज्यान गएको थियो । माली र नाइजरको छिमेकी मुलुक बुर्किना फासोमा अतिवादी समूहले २०१५ देखि निरन्तर आक्रमण गर्दैआएको छ । जहाँ सयौंको संख्यामा नागरिकको मृत्यु भइसकेको छ ।

हालै ३५ जनाको मृत्युपछि राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले ट्वीटरमा दुख व्यक्त गर्दै घटनाबारे लेखेका छन् । साथै बिहीबार यहाँ ४८ घण्टाका लागि राष्ट्रिय शोक घोषणा गरिएको छ ।

अफगानिस्तानमा आत्मघाती हमला, ६ सिपाही मारिए
काबुल : अफगानिस्तानमा सैनिक क्याम्पलाई लक्षित गर्दै भएको शक्तिशाली कार बम विस्फोटमा ६ जना सुरक्षाफौज मारिएका छन् । रक्षा मन्त्रालयले यस आत्मघाती विस्फोटको आरोप तालिबानी समूहलाई लगाएको छ । यद्यपि घटनाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।

बाल्ख प्रान्तमा बिहीबार बिहान भएको यस घटनापछि सरकारले विज्ञप्ति निकाल्दै 'आतंकवादी हमला' भनेको छ । पछिल्लो समय अफगानिस्तानको बाल्ख प्रान्त क्षेत्रमा तालिबानी समूह सक्रिय रहँदैआएको छ । उनीहरुले सैनिक क्याम्पलाई लक्षित गर्दै आक्रमण गर्दैआएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ