चुनावको ऋण तिर्न मलेसिया पुगेका नेता बाकसमा फर्किए

2019-12-08

बझाङ - नदी किनारमा राखिएको शवमाथि नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको थियो। खोरीगाड दोभानको बगरमा उभिएका मान्छेहरु सबैको अनुहार मलिन र उदास थियो। एकजना मलामीले लम्पसार पारिएको शवतिर हेर्दै भने, ‘जिन्दगीभर राजनीति-राजनीति भने तर त्यही राजनीतिले यस्तो हालत बनायो।’

बझाङ छबिसपाथिभेरका रमेशबहादुर बोहरा यहाँका नेता थिए। स्थानीय तहका सबै समस्या समाधानका लागि सधैं अग्रसर रहन्थे। कसको घरमा के समस्या छ भन्ने उनलाई कण्ठै थियो। लोकतन्त्रले मात्र हामी दुर्गमका दुःख बुझ्छ भन्ने ठान्थे उनले। तर, नियति यस्तो निर्मम भइदियो कि अरुको समस्या टाउकोमा राखेर हिँड्ने उनै रमेशले मलेसियामा ज्यान गुमाए। त्यो पनि अकालमा।

‘चुनावमा ऋण लागेपछि मलेसिया भासिएका थिए उनी। १३ मंसिरमा उनको अचानक मृत्यु भएछ’, मृतकका भाइ बसन्त बोहराले भने, ‘दाइको मृत्युको कारण पनि थाहा पाइएको छैन। हामीले त पत्याएकै थिएनौं। यस्तो होला भन्ने कसैले सोचेको थिएन।’

शुक्रबारमात्रै छबिसपाथिभेरा गाँउपालिका वडा नम्बर ७ का बोहराको अन्तिम संस्कार गरियो।

दाहसंस्कारमा जम्मा भएका उनका आफन्त, सुभेच्छुक र पार्टी कार्यकर्ताहरु उनको मृत्युपछि मात्र एउटा राजनीतिकर्मीको विवशता र बाध्यताका आयामहरुबारे छलफल गरिरहेका थिए। भएको के रहेछ भने, गाउँपालिकाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट बोहरा वडाध्यक्ष पदको उम्मेदवार बनेका थिए। चुनावमा साम–दाम त हाम्रो संस्कृति जस्तै बनेको छ। पैसा खर्च गर्ने र भोट बटुल्ने स्पर्धा नै चल्छ। उम्मेदवार बनेका बोहरालाई पनि निर्वाचन जित्नुपर्ने दबाब थियो।

स्वभाविक रुपमा यस्तो दबाब छिचोलेर वडाको नेतृत्व लिन उनले आफ्ना साथीभाइ र आफन्तहरुसँग ऋण लिए। खर्च गरे। तर, उनले झिनो मतान्तरले चुनाव हारे।

‘चुनावमा बोहरा १ सय २ मतले पराजित भएका थिए। चुनावमा उनको झण्डै ७–८ लाख रुपैयाँ खर्च भएको थियो। पैसा खर्च भए पनि बोहरा पराजित भए’, उनका एक आफन्तले सुनाए, ‘चुनावमा पराजित हुनुको पीडा त छँदै थियो त्यसैमाथि पनि उनी ऋणका कारण बेचैन थिए। हामीसँगको भेटमा यत्रो पैसा कसरी चुक्ता गर्ने भन्ने चिन्ता मात्र गरिरहन्थे।’

अन्ततः झण्डै दुई वर्षअघि उनी घरका लालाबाला छोडेर ऋण तिर्नकै लागि मलेसिया उडे। बोहराका दुई छोरी र एक छोरा छन्। जेठी छोरी १० वर्षीया, कान्छी छोरी ३ वर्षीया र छोरा ८ वर्षका छन्।

‘पैसाको पीर नलिनु, म तिर्छु। बालबच्चा पढाउँछु भनिरहनुहुथ्यो’, रमेशकी श्रीमती अञ्जनाले भक्कानिदै भनिन्, ‘आधा ऋण त तिरिसक्नु भएको थियो तर बीचैमा के भयो के भयो थाहै भएन।’

श्रीमानको मृत्युका पछाडि अधिक चिन्ता र दबाब पनि कारण रहेको उनले बताइन्। ‘मान्छेहरुले 'हर्ट हट्याक'ले बितेको भन्छन्। चिन्ताका कारणले पनि यस्तो भएको हुनसक्छ। बरु यतै बसेको भए जीवन रहन्थ्यो होला’, श्रीमती अन्जनाका आँखाबाट आँसु बगे, ‘अब यी बालबच्चाको भविष्य मैले कसरी बनाउने? कति दुःख गर्ने?'




थप समाचार


क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

काठमाडौं - क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन ...

सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

काठमाडौं- सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०७७ ल्याउने भएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना ...

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवाद उन्मुख भनिएको पनि छ ! अझ ...




ट्रेन्डिङ