प्रधानमन्त्रीलाई उपचारका लागि अमेरिका लगिने, व्यवस्थापन गर्न राजदुत काठमाडौँमा

2019-12-03

काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ।एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने।प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ।

नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए। ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ती नेताले अन्नपूर्णसँग भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताइएको छ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन्। नातामा भान्जे पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको ‘फस्र्ट पर्सन नोट’ पठाउँदै शनिबार स्वास्थ्य लाभको कामना गरेका थिए। ०६४ सालमा प्रधानमन्त्री ओलीले भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए।

ओलीले पुनः प्रत्यारोपण अमेरिकामै गर्न चाहेका छन्। ओलीलाई स्वास्थ्य उपचारका लागि विदेश लैजाने तयारी भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण धकेलिएको छ। उनी २४ मंसिरमा पार्टी नेताहरुको नेतृत्व गर्दै चीन जाने तयारीमा थिए।

‘पार्टीभित्र प्रधानमन्त्रीको उपचार विदेश लगेर गरिने गरी आन्तरिक छलफल छ। त्यही कारण अध्यक्ष नेतृत्वको टोलीको चीन भ्रमण धकेलिएको छ,’ दाहालसँगै चीन जाने तयारीमा रहेका नेकपाका एक स्थायी समिति सदस्यले भने।

प्रधानमन्त्री ओलीको उपचारको व्यवस्थापनकै लागि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि काठमाडौंमै छन्। काठमाडौं बोलाइएपछि उनी तीन दिनअगाडि स्वदेश आएका हुन्। प्रधानमन्त्री ओलीका शुक्रबार गरिने स्वास्थ्य परिक्षणको विवरण हेरेपछि यससम्बन्धी निर्णय गरिने स्रोतले जनाएको छ।

आईसीयूबाट भने, ‘उठेर बोल्न सक्छु’
प्रधानमन्त्री केपी ओलीले आईसीयूबाटै भिडियो सन्देश पठाउँदै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन्। स्वास्थ्य बिग्रंदै गएको भ्रम चिर्दै सोमबार साँझ भिडियो सन्देश प्रवाह गरेका प्रधानमन्त्रीले डिस्चार्ज पनि ‘सरप्राइज’ ढंगले हुने जानकारी दिए।

एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत ओलीले उठेर बोल्न सक्ने अवस्थामा रहेको बताए। उनको गत मंगलबार शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रंदै गएको भन्ने हल्ला चलिरहेका बेला उनले भिडियो सन्देश सार्वजनिक गरेका हुन्। ‘शल्यक्रियापछि उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने र समाचार हेर्न सक्ने अवस्थामा छु,’ उनले भनेका छन्।

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली आफैंले स्वास्थ्य प्रगतिबारे जानकारी दिने चाहना व्यक्त गरेपछि व्यवस्था मिलाइएको बताए। ‘प्रधानमन्त्रीज्यूको बोलीबाटै स्वास्थ्यस्थितिमा भइरहेको प्रगति सार्वजनिक भएको छ। जे जति अफवाह फैलाइरहेका थिए, ती दुष्टतापूर्ण थिए भन्ने पुष्टि भएको छ,’ थापाले भने।

गत मंगलबार पेटको एपेन्डिसाइटिसको शल्यक्रियाका क्रममा संक्रमण भएको थियो। ‘बाहिर पनि इन्फेक्सन (संक्रमण) भएको हुनाले हटाउनैपथ्र्यो। त्यस कारण उपचारका क्रममा साता–दस दिन लाग्ने भयो। तर, मेरो स्वास्थ्यमा राम्ररी सुधार भइराख्या छ’, ओलीले भनेका छन्।

अचानक आउने रोग भएकाले आफूलाई पनि अप्रत्यासित रूपमा एपेन्डिसाइटिस आइलागेको उनको भनाइ थियो। उनले भनेका छन्, ‘त्यसमा इन्फेक्सन भएछ। त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यसलाई हटाउनुप¥यो।’

१३ औं दक्षिण एसियाली खेलकुद (साग) उद्घाटन समारोह पूरै हेरेको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले सागको प्रत्यक्ष प्रसारण आइप्याडमा हेरेका थिए। प्रधानमन्त्रीले उद्घाटन समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीलगायत सबैलाई धन्यवाद दिएका छन्। उनले खेलाडीहरूलाई मैत्रीपूर्ण खेलबाट मुलुकको इज्जत बढाउन र क्षेत्रीय मित्रता अघि बढाउन आग्रह गरेका छन्।

 

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ