नेपाल आयल निगम चार वर्षदेखि निरन्तर नाफामा

2019-11-06

काठमाडौँ - नेपाल आयल निगममा सरकारको सेयर लगानी ११ अर्ब रुपैयाँ कायम भएको छ । निगममा सरकारी निकायले ०२७ सालमा २९ करोड २३ लाख ९५ हजार ७ सय रुपैयाँबराबरको सेयर लगानी गरेको थियो । पछिल्लो चार आर्थिक वर्ष निगमले १४ अर्ब ४७ लाख ४९ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्न सफल भयो । त्यसमध्ये १० अर्ब ७० करोड ७७ लाख रुपैयाँ बोनस सेयर दिएपछि सरकारी निकायको सेयर रकम ११ अर्ब रुपैयाँ पुगेको हो  ।

आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार अर्थ मन्त्रालयको स्वीकृति लिएर बोनस सेयर निष्कासन गरिएको थियो । ‘हामीले आर्जन गरेको नाफा बाँडफाँडका विषयमा अर्थ मन्त्रालयसँग राय लिएका थियौँ, त्यसक्रममा सरकारी निकायले रकम लिएर जानेभन्दा पनि सेयर पुँजी वृद्धि गर्नु भनेर निर्देशन आयो,’ उनले भने, ‘त्यसपछि सरकारकै निर्देशनअनुसार साधारणसभाबाट बोनस सेयर जारी गरी सरकारको लगानी वृद्धि गर्ने निर्णय भएको हो ।’

आयल निगम आर्थिक वर्ष ०७१/७२ देखि निरन्तर नाफामा छ । निगमले सो आवमा १५ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसपछि आव ०७२/७३ मा १९ अर्ब ३६ करोड, आव ०७३/७४ मा ९ अर्ब ४५ करोड र आव ०७४/७५ मा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । चार आर्थिक वर्षमा आर्जन गरेको नाफाले यसअघिको घाटा पूर्तिपछि १४ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ सञ्चित नाफा बाँकी थियो । सोही नाफा रकम बोनस सेयरबापत निगममा पुँजीकृत गरेको हो ।

१५ करोड लाभांश पनि बाँडेको थियो
आयल निगमले यसअघि ०७४ जेठमा सातवटा सेयरधनी सरकारी निकायलाई करिब १५ करोड रुपैयाँ लाभांश पनि वितरण गरेको थियो । निगमले आर्थिक वर्ष ०७२/७३ सम्म १ अर्ब ५८ करोड रुपैयाँ सञ्चित मुनाफा कमाएको थियो । सोही नाफा रकमबाट सेयर पुँजी २९ करोड २३ लाख ९५ हजार ७ सय रुपैयाँको ५० प्रतिशत हुन आउने रकमबराबर लाभांश वितरण गरेको निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए । ‘निगमले गरेको नाफा सेयरधनीकै रकम हो । त्यसैले हामीले लाभांश तथा बोनसबापत उपलब्ध गराइरहेका छौँ,’ उनले भने । गत आर्थिक वर्ष ०७५/७६ मा करिब ४ अर्ब रुपैयाँ नाफा (करपछि) गरेको र त्यसबाट पनि यसपटक लाभांश वितरण गर्ने योजना बनाएको उनले जानकारी दिए ।

बोनस सेयरको रकम पूर्वाधार निर्माणमा लगानी गर्ने योजना
नाफा भएको रकम पुँजीकृति भएपछि आयल निगमले विभिन्न परियोजनामा लगानी गर्न थालेको छ । स्रोतका अनुसार निगमले पाइपलाइन र भण्डारणगृह निर्माणमा पुँजीकृत भएको रकमलाई परिचालन गर्ने भएको छ । निगमले भर्खरै भारतको मोतीहारीदेखि चितवनको लोथरसम्म १ सय ३१ किलोमिटर ग्यास पाइपलाइन निर्माणको सर्भे सुरु गरेको । त्यसैगरी, बाराको अमलेखगन्जमा रहेको डिपोदेखि लोथरसम्म (६२ किमि) पेट्रोल, डिजेल र मट्टीतेलको पाइपलाइन विस्तारका लागि पनि सर्भे थालेको छ । लोथरमा निगमले यसअघि नै २२ बिघा जग्गा खरिद गरिसकेको छ । सो स्थानमा १ लाख किलोलिटरको पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धन र २० हजार मेट्रिकटन क्षमताको भण्डारणगृहसमेत बनाउन लागिएको निगमले जनाएको छ । पाइपलाइन र भण्डारणगृह निर्माणका लागि १५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक लागत अनुमान गरिएको छ । यी परियोजनामा निगमले पुँजीकृत भएको रकमलाई परिचालन गर्ने योजना बनाएको छ ।

त्यस्तै कर्णाली प्रदेशलाई ९० दिनका लागि पुग्ने भण्डारणगृह बनाउन सुर्खेतमा जग्गा पहिचान भएको छ । झापामा भारतको सिलगुडीदेखि पाइपलाइन बिछ्याउने र ग्यास भण्डारणगृह निर्माण गर्ने गृहकार्यमा पनि निगम जुटेको छ । यी परियोजनाहरूमा पुँजीकृत भएको रकमलाई लगानी गर्ने योजना बनाएको एक अधिकारीले बताए । बोनस सेयर जारी गरेर करिब ३ अर्ब रुपैयाँ कोषमा रहेको र सो रकमसमेत सरकारको अनुमति लिएर परिचालन गर्ने निगमको योजना छ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ