कुसुण्डा कसरी यताको समाजमा बिलिन भए ? ज्ञानीमैया कुसुन्डाको भोगाई अनि यात्रा यस्तो छ !

2019-10-19
८२ वर्षीया ज्ञानीमैयाँ कुसुन्डा र ४२ वर्षीया कमला कुसुन्डा।

कुसुन्डा भाषा जान्ने दुईजनामध्ये एक हुन् दाङकी ज्ञानीमैया कुसुन्डा । ज्ञानीमैैया जंगलमै जन्मिइन्, जीवनको एक दशक जंगलमै बिताइन् । अहिले उनलाई एउटै चिन्ताले सताएको छ– आफूपछि कुसुन्डा भाषा कसले बोल्ला ! उनीसँग कुसुन्डा जीवनबारे गरिएको वार्ताः

म जन्मेको अर्घाखाँची या गुल्मीतिरको कुनै घना जंगलतिर हुनुपर्छ । ठ्याक्कै थाहा भएन । त्यस ठाउँलाई बल्कोट भन्ने गरेको धमिलो सम्झना छ । अहिले त बूढी भएँ, कसरी सम्झन सक्छु र ?

कुसुन्डा जाति सेन ठकुरी हुन् । हामीसँगै जंगलमा बस्ने राउटे हाम्रा रैती हुन् अनि हामी उनीहरूका राजा । राम्रोसँग खान–लाउन पनि पुग्दैनथ्यो । तर पनि हामी आफूलाई राजा भन्थ्यौँ । राउटेको जस्तै हाम्रो घर पनि स्याउलाले नै बनेको हुन्थ्यो । अनि उनीहरूजस्तै गिठा–भ्याकुर खाएर हामी हुर्केका हौँ । जीवनभर दुःख भएपछि त्यो दुःख पनि दुःखजस्तो नलाग्दो रैछ । मनमा रहर त कति थिए नि ! म जंगलमा बस्ने कुसुन्डा न परेँ । सबै मान्छेको शरीर उस्तै हुन्छ । तर, यो जात भन्ने कुराले कत्ति फरक पार्दोरहेछ बाँच्न ।

हिसाब गरिहेर्दा– मेरो जन्म १९९२ मा भएको रहेछ । तर, विवाह गर्न ढिलो भएको र केटा नपाइएकाले उमेर घटाएको हुँ । मेरो नागरिकतामा २००१ साल लेखिएको छ । यसरी नागरिकताअनुसार, बुढा मभन्दा ७ वर्ष जेठा थिए । केटी मान्छेको उमेर केटाको भन्दा कम हुनुपर्छ भन्ने सोचाइ सबैको हुन्थ्यो । मेरो पनि त्यस्तै सोचाइ थियो । सायद उमेर नघटाएको भए मेरो बिहे नै हुने थिएन । किनभने मेरो उमेरका बिहे नगरेका केटा मेरो समुदायमा कोही पनि थिएनन् ।

कुसुन्डा राउटेजस्तै एकै ठाउँमा बस्दैनथे । तीन या चारवटा घर मात्रै सँगै हुन्थे । नौ वर्षको उमेरसम्म मेरो जीवन जंगलमै बित्यो । कष्टकर भए पनि जंगलको जीवन मलाई साह्रै रमाइलो लाग्थ्यो । जंगलमा हामीसँग रहर नै के थिए र ? हामीले देखेका नै के थियौँ र ? अहिले बूढी भएर पनि ‘राम्रो लाउन पाए हुन्थ्यो’ भन्ने रहर हुन्छ । तर, जंगल बस्दा कुनै रहर र सपना थिएन ।

जंगलमा जे पाइन्छ, त्यही खाइन्थ्यो । खान पाए पनि ठीक, खान नपाए पनि ठीक । यस्तो लाउन पाए हुन्थ्यो, यस्तो खान पाए हुन्थ्यो भन्ने मनमा कहिल्यै लागेन । मन लागेर पनि त्यसको के अर्थ हुन्थ्यो र ! हामी त्यस्तै थियौँ, हैसियतअनुसारको काम गर्नुपथ्र्यो । जंगलमा बस्दा लोग्ने मानिस सिकार खेल्न जान्थे । आइमाईहरू गाउँघरमा जान्थे– माग्नका लागि ।

गाउँघरबाट मागेर ल्याइएको अन्नपातले नै परिवारको गुजारा चल्थ्यो । कतैबाट केही पनि पाइएन भने गिठा–भ्याकुर खाएर पेट भर्नुपथ्र्यो । कहिलेकाहीँ भात खान साह्रै मन लागेको हुन्थ्यो । तर, कतैबाट पनि अन्नपात नपाइएपछि भोकै बस्नुपथ्र्यो । भरिपेट खाँदा हामी साह्रै खुसी हुन्थ्यौँ । आमाको पछि लागेर कहिलेकाहीँ म पनि गाउँतिर माग्न जान्थेँ । गाउँ पुग्दा हामीजस्तै केटीहरूले लुगा लगाएको देख्दा हाम्रा पनि त्यस्ता दिन आए हुन्थ्यो भन्ने लाग्थ्यो ।

पानी नचुहिने र हुरीले नउडाउने हुन्थ्यो तिनीहरूको घर । हाम्रो घरमा पानी चुहिन्थ्यो, हाम्रो घरलाई हुरीले उडाउँथ्यो । मन न हो, तिनीहरूको घर देख्दा म सोच्थेँ– यही घरको छोरी भएर जन्मेको भए मेरो संसारै अर्को हुन्थ्यो । तर, हाम्रा लागि मन र रहरको कुनै अर्थ नै थिएन । उनीहरूलाई रहरले खुसी बनाउँथ्यो, हामीलाई रहरले बेस्मारी रुवाउँथ्यो ।

त्यतिवेला खुबै आन्दोलन भएको कुरा गाउँ पुग्दा थाहा हुन्थ्यो । तर यो आन्दोलन, सरकार र राजनीतिबारे हामीलाई के मतलब ? जंगल नै हाम्रा लागि सरकार थियो, घर थियो अनि सिंगो देश थियो । गाउँमा माग्न जाँदा धेरैजसोले निकै हप्काउँथे । उनीहरूको भाषा बुझ्न मलाई निकै गाह्रो हुन्थ्यो । तर, पनि बोल्ने शैली हेर्दा निकै गाली गरेजस्तो लाग्थ्यो ।

जति गाली गरे पनि हाम्री आमा चुप बसिरहन्थिन् । भोकले मलिन बनेको मेरो अनुहारले आमालाई पिरल्थ्यो होला । लोग्नेमान्छे पनि गाली खाने काममा हामीलाई अगाडि सार्थे,र आफू सिकार खेल्न जान्थे । कहिलेकाहीँ पूरै गाउँ डुल्दा पनि एक छाक पुग्ने अन्न पनि पाइन्नथ्यो । त्यतिवेला आमा आँखाभरि आँसु पार्थिन् । बा जँगलबाट आइनपुग्दै पकाएर हामीलाई खान दिन्थिन् । सन्तानको भोक मेटिएपछि आमा नखाएरै अघाउने गर्थिन् ।

आइमाईलाई काम गर्न सक्दैनन् भनेर लोग्ने मानिस निकै हेप्थे । जति हेपिए पनि कसले आवाज उठाउने ! आजभोलि सानो कुरामा लोग्नेमान्छेले हेपे भने महिलाहरू के–के भनेर गाली गर्छन् । त्यसवेला साह्रै हेपिँदा पनि महिलाहरू खुसी नै हुन्थे । आफू हेपिएको थाहा पाउने चेतना पनि नभएर होला । जंगलको वास, स्याउलाको घर । वर्षामासमा साँच्चै धेरै दुःख हुन्थ्यो । सुतेको ठाउँमा पानी भरिन्थ्यो । अनि स्याउलाले ओतिएरै रात काँट्नुपथ्र्यो ।

आमाले हामीलाई काखामा सुताउँथिन् । जति पानी परे पनि आमाको न्यानो काँख पाएपछि हामी सुतिहाल्थ्याैँ । कहिलेकाहीँ ठूलो हुरीले छानो नै उडाएर लैजान्थ्यो । बाल्नका लागि हामीसँग केही हुँदैनथ्यो । आमा र बाले हामीलाई रातभरि रूखको टोड्कामा राख्थे । रूखको हाँगो समाउँदै रात बित्थ्यो । तर, खै किन हो, त्यो जंगलको वास रमाइलो थियो ।

हाम्रो जातिका मान्छे जंगलमै बस्नुपर्छ भन्ने सोचले पनि हामीलाई त्यो खासै दुःख लाग्दैनथ्यो । अहिले सम्झँदा त्यतिवेला साह्रै दुःख थियो भन्ने लाग्छ, तर त्यसवेला त्यस्तो लाग्दैनथ्यो । जंगलमा जनावरको खुब डर हुन्थ्यो । कतिपय त जनावरको आक्रमणमा परेर मर्थे पनि । हाम्रो पनि जिन्दगी त्यस्तै थियो । कहिले बाँच्ने, कहिले मर्ने कुनै ठेगान थिएन । हामी दुई भाइ, तीन बहिनी मात्रै हौँ । तर, सबै मरे, म मात्रै बाँचेँ ।

पैसाबारे नौ वर्षको हुँदासम्म मैले सुनेको थिइनँ । अहिलेको जस्तो कागजको कहाँ हुन्थ्यो र त्यतिवेला पैसा ? जंगलमा पैसा भएर पनि के काम ? कहाँ के किन्न जानु ? फेरि हामीलाई कन्दमुल, भात, रोटीबाहेक अरू खानेकुराबारे नै थाहा थियो र ? लोग्नेमान्छे विभिन्न सिकार गरेर कालिज, खरायो घर ल्याउँथे । त्यो पकाएरभन्दा पोलेरै खान्थ्यौँ । खानेकुरामा उति रोजाइ थिएन । भोक मेट्ने कुरा जे भए पनि हुन्थ्यो । पूरै जीवन जंगली थियो हाम्रो ।

जंगलमा बसेपछि पढ्ने कुरा पनि भएन । हामीलाई जंगलबाहेक बाहिरका केही पनि थाहा हुँदैनथ्यो । अहिले पो भन्छन्– त्यतिवेला राणाहरूको सरकार थियो रे । खोइ के हो राणा भनेको, हामीलाई थाहै थिएन । मान्छे जति जान्ने हुन्छ, उति दुःखी हुँदो रहेछ । जंगलमा हामीलाई केही थाहा हुँदैनथ्यो, त्यही भएर दुःख पनि केही थिएन ।

आमाको पेट ठूलो हुँदै गयो भने हामीलाई थाहा हुन्थ्यो, ‘भाइ या बहिनी आउन लागेको छ ।’ आमालाई हिँड्न–काम गर्न साह्रै गाह्रो पथ्र्यो । स्याउलाले बारेको घरभित्र आमा निकैबेर कराएपछि बच्चा जन्मिन्थ्यो । मन थाम्नै नसकेर म हेर्न जान्थेँ । आमा रगताम्य भएकी हुन्थिन् ।

त्यसो त जंगलमा दुःखै नभएका होइनन् । खाना पकाउँदा–पकाउँदै पानी पथ्र्यो, भौकै सुत्नुपथ्र्यो । पानी पनि खोलाबाट ल्याएर पिउनुपथ्र्यो । कहिलेकाहीँ असाध्यै बिरामी भइन्थ्यो । तर, तिनका समाधान पनि जंगलमै थिए । के रोग लाग्यो भन्ने कसरी थाहा पाउने ? टाउको दुख्दा, पेट दुख्दा, चोटपटक लाग्दा खोइ के–के जडीबुटी ल्याउँथे अनि लगत्तै निको पनि हुन्थ्यो ।

म अहिले ८४ वर्ष नाघेँ, तर अहिलेसम्म औषधि खाएकी छैनँ । कहिलेकाहीँ ज्वरो आउँछ, टाउको दुख्छ, रुघा लाग्छ । घरनजिकैको जंगल जान्छु र जडीबुटी खान्छु– निको पनि हुन्छ । आमाको पेट ठूलो हुँदै गयो भने हामीलाई थाहा हुन्थ्यो, ‘भाइ या बहिनी आउन लागेको छ ।’ यस्तो वेला आमालाई हिँड्न–काम गर्न साह्रै गाह्रो पथ्र्यो । तैपनि आमा सकिनसकी काम गरिरहन्थिन् । बच्चा जन्माउँदा आमालाई निकै धौ–धौ हुन्थ्यो । स्याउलाले बारेको घरभित्र आमा निकैबेर कराएपछि बच्चा जन्मिन्थे । मन थाम्नै नसकेर म हेर्न जान्थेँ । आमा रगताम्य भएकी हुन्थिन् । मेरा कत्ति साथीका आमा त बच्चा जन्माउँदा मरिसक्थे ।

त्यतिवेला छोरा–छोरी, जे जन्मे पनि खासै विभेद थिएन । परिवार नियोजनको त कुरा कसरी थाहा हुनु ! तर, जन्मेमध्ये निकै थोरै मात्रै बाँच्थे । हामीले लगाउने कपडा सामान्य खद्दरको हुन्थ्यो, त्यसलाई हामी शरीरमा बेथ्र्यौँ । भित्री वस्त्र हामीसँग हुँदैनथ्यो । बिहे गरेका प्रायः आइमाईको जिन्दगी बच्चा जन्माउँदै ठिक्क हुन्थ्यो ।
०००
म नौ वर्षको हुँदा बा बलबहादुर कुसुन्डा बिते । बा बितेपछि आमा जंगलमा एक्लै हामीलाई सम्हालेर बस्न सकिनन् । त्यसपछि हामी जंगलै–जंगलको बाटो भएर प्युठानको मैचन्ये भन्ने ठाउँमा पुग्यौँ । आमाले त्यहाँ अर्काको घरमा काम गरेर हामीलाई पालिन् । अर्काको घरमा काम गर्न निकै दुःख थियो । तर, पनि गाउँमा हामीले आफूलाई सुरक्षित महसुस ग-यौँ । जति दुःख भए पनि पेटभरि खान पाइन्थ्यो । हाम्रा लागि त्यही खुसी थियो ।

कुसुन्डाले कुसुन्डासँग बिहे गर्ने चलन थिएन । हाम्रो जातमा मामाकी छोरीसँग चाहिँ बिहे गर्न पाइन्थ्यो । कुसुन्डाको विवाह अरू जातिसँग हुन्थ्यो । १६ वर्षको हुँदा प्युठानकै जुरूपनियामा मेरो बिहे भयो । बिहेपछि झन् दुःख पाएँ । त्यतिवेला कोइलावासको गोरेटो बाटो निकै प्रचलनमा थियो । यहीँ आएर होटेल गरियो । दुःख यहाँ पनि उस्तै ।

मैले बोल्ने कुसुन्डा भाषा कसैले पनि जान्दोरहेनछ । सबैले हेला गरेको यही भाषाले मलाई पटक–पटक काठमाडांै पु¥याएको छ । नयाँ–नयाँ कुरा देख्ने–जान्ने मौका पाएकी छु । बूढी भएपछि यसरी मान्छेले चिन्छन् भन्ने सोचेकी थिइनँ । मैले जानेको यही भाषाले मलाई चिनाएको छ । आफ्नो भाषाको साह्रै माया लाग्छ । तर, मबाहेक यो भाषा बोल्ने दोस्रो मान्छे छैन ।

 


(वसन्त आचार्यले नयाँ पत्रिकाका लागि कुसुन्डासँग कुराकानी गरि तयार पारेको सामग्रीबाट साभार )




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ