कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तार सुरु

2019-10-18

काठमाडौं - कलंकीदेखि महाराजगन्जसम्मको दोस्रो चक्रपथ विस्तारको काम थालिएको छ। सडक विभागले दसैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रूख काट्न सुरु गरेको हो। सरकारले पहिलो चरणमा कोटेश्वरदेखी कलंकीसम्म आठ लेनको विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि महाराजगन्जसम्मको ८.५ किलोमिटर भाग पनि सोहीअनुसार विस्तार गर्न लागेको हो।

सडक विभागका अनुसार चीन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। चक्रपथ विस्तारमा एक–एकवटा अण्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव गर्न जनाइएको छ। सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाले भने, ‘सडक बनाउन पहिला क्लियरेन्सको काम गर्नुपर्छ। त्यसैले हामीले कलंकीबाट सडक दायाँबायाँका रूख काट्ने, विद्युतीय संरचना हटाउने, घरटहरा हटाउने काम सुरु गरेका छौं।’

उनका अनुसार चक्रपथ विस्तारका लागि खानेपानीका पाइपहरु हटाउनुपर्ने देखिएको छ। महाराजगन्जका घरहरू पनि भत्काउनुपर्ने देखिएको छ। त्यस्तैगरी चक्रपथ विस्तारमा स्वयम्भूको गेटमा रहेको बुद्धको ठूलो मूर्ति हटाउनुपर्नेछ। वनस्थली र स्वयम्भूको बीचमा पर्ने १ सय ३२ केभीको विद्युत टावर पनि हटाउनुपर्ने आएको छ। ‘हामीलाई ३१ मिटरको बाटो क्लियरेन्स चाहिएको हो,’ उनले भने, ‘२५ मिटरभित्रै बुद्धको मूर्ति भएकाले हटाउनुपर्छ।

घरहरू पनि अधिग्रहण गर्नुपर्ने देखिएको छ। घरधनीलाई दिने मुआब्जाको विषयमा पनि छलफल भइरहेको छ।’ उनले फागुनसम्ममा चाइनिज आएपछि डिजाइनको काम हुने बताए। उनले भने, ‘चीन सरकारको सहयोगमा सडक विस्तार हुने भएकाले उनीहरू आएपछि सबै काम गर्छन्। त्यतिबेलासम्म रूख काट्ने, बिजुलीको पोल सार्नेलगायत काम लगभग सकिन्छ। विस्तारको तयारीमा हामी जुटेका छौं।’ कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तार कार्यमा करिब ६ अर्ब लाग्ने उनको अनुमान छ। सडक विभागका अनुसार चक्रपथमा पर्ने बालाजुको नयाँ बजार चोकमा ओभरपास तथा महाराजगन्ज चोकमा अण्डरपास बनाउने गरी प्रस्ताव गरिनेछ। आठ लेनको चक्रपथमा ओभरपास तथा अन्डरपास भने चार लेनको मात्रै हुनेछ।

दोस्रो चक्रपथ विस्तारमा सडक सुरक्षामा पनि धेरै ध्यान पु¥याएर काम अघि बढाउने सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए। ‘पैदलयात्रुु र चालकको सुरक्षाका लागि हामी संवेदनशील भएर लाग्छौं,’ उनले भने, ‘सडक सुरक्षाका लागि मूल सडकका बीचमा डिभाइडर पनि राखिन्छ। छलफल गरेर यात्रु सुरक्षित सडक बनाउँछौं।’ उनका अनुसार विभागले महाराजगन्जबाट बढाएर गोपीकृष्णसम्म पनि चक्रपथ विस्तार गर्ने प्रस्ताव गर्नेछ।

उनले भने, ‘चीन सरकारको अनुदानमा सडक बन्ने हो। सबै सडक विस्तारको डिजाइन नबनेकाले ठ्याक्कै सडक कस्तो बन्ने भन्नेबारे अहिले भन्न सकिँदैन।’ उनका अनुसार पहिलो चरणको कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तारको शैलीमा निर्माण गरिने भए पनि यो सडक खण्डमा सुरक्षाका विषयमा सुधार आउनेछ। उनले कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ लेनमा यात्रु सुरक्षाका लागि पुलहरू निर्माण गर्दै आएको बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ