पशुपतिमा ४५ किलो सुन चढाइएको तथ्य फेला पर्यो ! कसले र किन लुकायो बाँकी ३६ किलो सुन ?

2019-10-16

काठमाडौं - पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो।

समितिले पशुपति भण्डार तहबिल कार्यालयलाई ‘भक्तजनले चढाएको सुन र चाँदीको सम्पूर्ण विवरण समावेश भएको छ, छैन ? नभएको भए हालसम्मको विवरण खुलाई साथै तहबिलले बजार खरिद गरी चढाएको सुन र चाँदीसमेत खुल्ने गरी’ जानकारी दिन पत्राचार गरेको थियो। प्रतिवेदन आउनुअघि कोषसँग न आफ्नो जग्गाबारे कुनै प्रामाणिक अभिलेख थियो न त सुनचाँदीबारे नै। ‘पशुपतिनाथको नाममा रहेका चलअचल सम्पत्ति सार्वजनिक गरेरै छोड्छौं। गम्भीर छानबिन र विशेष ताकेतापछि करिब ४५ किलो ६३६ ग्राम सुन रहेको तथ्य फेला पारेका हौं’, समिति संयोजक एवं कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले अन्नपूर्णसँग भने।

अघिल्लो प्रतिवेदनअनुसार पशुपतिनाथमा ५६ वर्षको अवधिमा जम्मा ९ किलो २७६.६४ ग्राम सुन देखिएको थियो। कोषमा २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण पनि अभिलेखमा थिएन। २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ सालको पनि सुनको अभिलेख भेटिएको छैन। ‘मिति उल्लेख छ, तर सुनको विवरण छैन’, एक कर्मचारीले भने, ‘सुन ढुकुटीमा नराखी गायब बनाइएको हुन सक्छ।’ यही शंकाका आधारमा खोजी गर्दा करिब ४५ किलो सुन फेला परेको डा. थापाले बताए।

यसअघि प्रतिवेदनमा ३ सय १६ किलो ५८६ ग्राम चाँदी पशुपतिमा चढाइएको तथ्यांक पाइएको थियो। उनका अनुसार, अहिले १३ सय २५ किलो ९२७ ग्राम चाँदी रहेको पाइएको छ। करिब एक हजार किलो चाँदी थप फेला परेको हो। यसबाहेक मुकुट आदिमा हिरा, मुगा र माणिकसमेत जडित भएको पाइएको छ। चढाइएका सुन र चाँदी मूल ढुकुटीमा राख्ने गरिन्छ। सर्वोच्च अदालतको २०६६ पुस २७ को परमादेशका कारण मूलढुकुटी खोलेर हेर्न मिल्दैन। ढुकुटीभित्रका चलअचल सम्पत्तिबारे कोष पूर्णरूपमा अनभिज्ञ छ। भित्र राखिने चलअचल सम्पत्तिबारे कोषसँग पूर्ण अभिलेखसमेत थिएन।

पछिल्लो अभिलेखअनुसार राणा प्रधानमन्त्री वीर शमशेर, चन्द्र शमशेर, देव शमशेर, जुद्ध शमशेर, भीम शमशेर र तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले सुन चढाएको तथ्य फेला परेको छ। महेन्द्रले ३५० तोला, त्रिभुवनले ३०० तोला, वीर शमशेरले १०२ तोला, बमबहादुर राणाले १०७ तोला सुन चढाएको देखिन्छ। विगतमा पशुपतिनाथको वार्षिक आम्दानीबाट सुन किन्ने तर अभिलेख नराख्ने प्रवृत्तिले सुनको यथार्थ अवस्था थाहा पाउन समस्या भएको संस्कृतिविद्को भनाइ छ।

विगतमा बाला चतुदर्शीका दिन वर्षभरको भेटीघाटीबाट सुन किन्ने चलन थियो। समिति संयोजक थापाले छानविन समितिले एक वर्ष लगाएर गरेको अध्ययन कम्तिमा पाँच वर्ष काम गर्न पाएको भएमात्र पूर्ण हुने बताए। उनले भने, ‘२०६८ सालमा ऐन र नियमावली बन्नुअघि सुन र सम्पत्ति जति दाखिला भएको छ त्यो पूर्ण छैन। हामी अझै सुनचाँदी र जग्गाबारे सुक्ष्म छानबिन गरिरहेका छौं।’

भेटी गन्न सीसीटिभी
पशुपतिनाथ मन्दिरमा चढाइने दैनिक भेटी बैंकका कर्मचारीसमेत बसेर गणना गरी सोही दिन बैंकमा दाखिला सुरु गरिएको छ। हरेक दिन साँझ कोषका कर्मचारी र सुरक्षाकर्मी बसेर गणना गर्दै आएकोमा सोमबारदेखि नेपाल इन्भेस्टमेन्ट बैंकका कर्मचारीसमेत गणनामा सहभागी भएका छन्। यस सम्बन्धमा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारीअधिकृत ज्योतिप्रकाश पाण्डेबीच हस्ताक्षर भएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए। ‘चाँडै यो गणनाको सीसीटिभीमार्फत भक्तजनले पनि प्रत्यक्ष हेर्न पाउनेछन्’, उनले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ