सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

2019-10-15

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । चिनियाँ पक्षले समेत नेपाली सुरक्षाकर्मीको प्रशंसा गरेका छन् ।

सीको भ्रमणमा तिब्बती शरणार्थीका गतिविधिलाई मुख्य सुरक्षा चुनौती आकलन थियो । स्वतन्त्र तिब्बतका पक्षमा आन्दोलन गर्न भारतको धर्मशालामा बस्ने शरणार्थीहरू समेत नेपाल आएका थिए । जसको अग्रिम सूचना पाएर प्रहरीले कतिपयलाई विराटनगरमै रोकेको थियो भने केहीलाई फर्पिङबाट पक्राउ गरेको थियो । त्यस्तै, विगतमा चीन विरोधी गतिविधिमा संलग्न शरणार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसका साथै सवारीमार्गका पाँच/पाँच मिटरको दूरीमा सुरक्षाकर्मी राखिएकाले पनि तिब्बती शरणार्थीले कुनै गतिविधि गर्न पाएनन् ।

‘यो भ्रमण हाम्रा लागि निकै चुनौतीका साथै आफ्नो क्षमता देखाउने अवसरका रूपमा लिएका थियौँ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘सम्भावित थ्रेट केलाएर सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएकाले कुनै गतिविधि हुन पाएन ।’

दसैँ बिदामा समेत सुरक्षा तयारी
यो वर्ष दसैँमा समेत प्रहरी अधिकारीहरू सी भ्रमणकै सुरक्षा तयारीमा जुटेका थिए । भ्रमणमा ट्राफिक व्यवस्थापन पनि सफल भएको छ । ‘सर्वसाधारणलाई सकेसम्म कम असर हुने गरी सवारी मिलाएका थियौँ, सर्वसाधारणको सहयोगले हामी यसमा सफल भयौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने । सीको भित्री सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हालेको थियो । अन्य व्यवस्थापनको काम नेपाल प्रहरीले गरेको थियो ।

सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट समेत विशेष टोली भ्रमणमा खटिएका थिए । भ्रमणका लागि नेपाल प्रहरीले उपत्यकाबाहिरबाट १८ सय प्रहरी ल्याएको थियो । समग्रमा करिब १५ हजार सुरक्षाकर्मी खटिएका थिए ।

प्रधानमन्त्री र गृहमन्त्रीद्वारा धन्यवाद
राष्ट्रपति सीको भ्रमणलाई सफल बनाउन चुस्त सुरक्षा व्यवस्थापन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार साँझ निवासमा बोलाएर सुरक्षा निकायका प्रमुखहरूलाई धन्यवाद दिएका हुन् । त्यस्तै गृहमन्त्री सोमबार गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरूसँगको बैठकमा उनले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताए ।

चिनियाँ पक्षले समेत भ्रमणको क्रममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराएका थिए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो-याउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए ।

गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरूलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठूलो सहयोग पुग्ने बताए । बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की, नेपाली सेनाका उपरथी शशीचन्द्रबहादुर सिंहलगायत सहभागी थिए । शनिबार नेपाल भ्रमणमा आएका सी आइतबार स्वदेश फर्किएका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ