विश्वकप छनोट फुटबल खेल्न अस्ट्रेलिया पुग्यो नेपाली टोली

2019-10-09

क्यानबेरा (अस्ट्रेलिया): विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार अस्ट्रेलियाको राजधानी शहर क्यानबेरा पुगेको छ। सिड्नीमा करिब एक साता लामो अभ्यासपछि राष्ट्रिय फुटबल टोली मंगलबार दिउँसो सडक मार्ग हुँदै करिब चार घन्टाको यात्रा गरी क्यानबेरा पुगेको हो।

नेपाली टोलीले बिहीबार (असोज २३ गते) आफुभन्दा निकै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग उसैको घरेलु मैदानमा विश्वकपको छनोट खेल खेल्ने कार्यक्रम छ। असोज १६ गते नै अस्ट्रेलिया आइपुगेको राष्ट्रिय टोलीले सिड्नीस्थित ‘सिड्नी एकेडेमी अफ स्पोर्ट एन्ड रिक्रिएसन’ मा ६ दिन अभ्यास गरेको थियो।

राष्ट्रिय टोलीलाई सिड्नीमा अभ्यासका लागि सम्पूर्ण ब्यवस्था ‘अस्ट्रेलिया—नेपाल फुटबल संघ’ र एनआरएन अस्ट्रेलियाले मिलाएको थियो। सिड्नीबाट क्यानबेरा प्रस्थान गर्नुअघि नेपाली टोलीका सदस्यले ‘सिड्नी एकेडेमी अफ स्पोर्ट एन्ड रिक्रिएसन’ मै बडा दशैंको टिका थापेका थिए। टोलीका खेलाडी र अन्य सदस्यलाई टोली ब्यवस्थापक मधुसुदन उपाध्ययले टिका लगाइदिएका थिए।

क्यानबेरामा राष्ट्रिय टोलीलाई नेपाली राजदुतावासका पदाधिकारी र एनआरएन अस्ट्रेलियाका पदाधिकारीले स्वागत गरेका थिए। नेपाली टोलीको स्वागतका लागि अस्ट्रेलियास्थित नेपाली राजदुतावासकी कार्यवाहक राजदुत द्रुपदा सापकोटा पनि होटल पुगेकी थिइन्। सिड्नीको तुलनामा निकै चिसो मौसम रहेको क्यानबेरामा नेपाली खेलाडीले मंगलबार पनि नियमित अभ्यास गरेका छन्।

राष्ट्रिय टोलीले अभ्यास गरिरहँदा क्यानबेरामा हल्का वर्षा पनि भएको थियो। वर्षाका बीच नै चिसो मौसममा खेलाडीले करिब दुई घन्टा अभ्यास गरे। नेपाली टोलीका प्रशिक्षक योहान कालिनले टोलीको तयारी उत्कृष्ट रहेको बताए। उनले अस्ट्रेलिया बलियो टोली भए पनि आफ्ना खेलाडीको तयारी र मनोबल उच्च रहेको प्रतिक्रिया दिए।

यसैगरी नेपाली टोलीका कप्तान किरन चेम्जोङले पनि अस्ट्रेलियाविरुद्धको खेलका लागि आफुहरुले गतिलो तयारी गरेको बताए। उनले करिब एक साता अगाडि अस्ट्रेलिया आएर तयारी गर्न पाउँदा खेलाडीको मनोबल पनि उच्च भएको धारणा व्यक्त गरे।

यसैबीच, बिहीबार हुने खेलका लागि रंगशालामा नेपाली समर्थकलाई छुट्याइएको सम्पूर्ण टिकट बिक्री भइसकेको बताइएको छ। स्थानीय आयोजकका अनुसार नेपाल र अस्ट्रेलियाबीचको खेल हेर्न करिब १६ हजार दर्शक उपस्थित हुने अनुमान गरिएको छ। पछिल्लो फिफा वरीयतामा अस्ट्रेलिया ४४औं र नेपाल एक सय ६१औं वरीयतामा छन्।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले खेल्न लागेको यो तेस्रो छनोट खेल हो। यसअघि खेलिएका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ। कुवेतसँग उसैको घरेलु मैदान खेलिएको खेलमा नेपाल ७—० ले पराजित भएको थियो। त्यसपछि चाइनिज ताइपेईसँग उसैको घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली २—० गोलले विजयी भएको थियो।




थप समाचार


ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडाैं । नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे । राम्रो अवसर आएको अवस्थामा आफूलाई ...

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

काठमाडौँ । एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेदरल्याण्डलाई ३२३ रनको लक्ष्य दिएको छ । भारतको हैदरावादमा भएको छैटौँ खेलमा नेदरल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको ...

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ ...




ट्रेन्डिङ