सिको स्वागतका लागि तीब्र तयारी, सवारीको पूर्वाभ्यास गरिंदै !

2019-10-06

काठमाडौँ - चीनका राष्ट्रपति सि जिनपिङ्को स्वागतका लागि तीब्र तयारी जारी छ । परियोजनासँग सम्बन्धित सम्झौता भन्दा पनि दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका रुपमा सरकारले भ्रमणको तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष कमाण्डमा भ्रमणको भौतिक, सुरक्षालगायतका तयारी भइरहेको छ । नेपाल आउनुभन्दा पहिला भारतको चेन्नई छेउको मामलापुरममा सिलाई स्वागतका लागि भारतले भव्य तयारी गरेको छ ।

स्रोतका अनुसार राष्ट्रपति सि ११ अक्टोबर अर्थात् २४ असोज अपरान्ह भारतको चेन्नेई पुग्ने कार्यक्रम छ । त्यहाँबाट ५० किलोमिटर परको पुरातन मामलापुरम् (महावलीपुरम् पनि भनिन्छ)मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सिबीच अनौपचारिक वार्ता हुनेछ । मामलापुरम सातौँ र आठौँ शताब्दिमा चीनसँग व्यापार तथा बुद्धधर्म प्रबद्र्धनगर्ने यो महत्वपूर्ण तटीय शहर हो । सि र मोदीबीच कोभालमस्थित समुद्रीतटको होटलमा रात्रीभोजसहित अनौपचारिक वार्ता हुनेछ । चारवटा पुराना सम्पदामा तस्बिर खिचाउने तथा केही चरणमा वार्ता गर्ने गरि तयारी भइरहेको छ । त्यहाँका होटलमा बस्ने विदेशी नागरिकहरुबारे नियमीत रिपोर्टिंग गर्न प्रशासनले निर्देशन जारी गरेको छ । विदेशीहरुलाई निगरानी शुरु भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार २१ असोजदेखि त्यहाँका पसल बन्द गर्न, होटल खाली गर्न प्रशासनले आदेश दिएको छ । तिब्बति तथा तिनका समर्थकले कुनै प्रकारको प्रदर्शन नगरुन् भन्नेमा सतर्कता अपनाइएको छ । यसअघि वाराणसीमा हुने भनिएको भ्रमण तिब्बतिहरुको सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै दक्षिण भारत सारिएको हो ।

भारतमा एकरात बसेर भोलिपल्ट नेपाल आउने तय भएको छ । भ्रमण मिति सार्वजनिक हुन बाँकी छ । तर, परराष्ट्रमन्त्रालयले प्रधानमन्त्रीसँग सिको भ्रमणबारे सोझै समन्वय गरिरहेको छ ।

‘सुरक्षा, सडकको व्यवस्था, बसोबासको प्रबन्धलगायत सबै बिषयमा प्रधानमन्त्रीज्यूले नै प्रत्यक्ष समन्वय गरिरहनुभएको छ, ’ जानकार स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘सबै सम्बद्ध निकायले प्रधानमन्त्रीसँगै समन्वय गरिरहेका छन् । अत्यन्त गोप्यरुपमा भ्रमणको तीब्र तयारी भइरहेको छ ।’

सोमवार सुरक्षा र सवारी अभ्यास गरिँदै
सिको भ्रमणको सुरक्षा र राजकीय सवारीको अभ्यास भोलि गरिँदैछ । नेपाली सेना, कर्मचारीसहितको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सि ओर्लिएपछि उनको सवारी, गार्ड अफ अनरको अभ्यास गर्ने छ । सुरक्षा स्रोतका अनुसार एयरपोर्टमा सिको विशेष विमान उत्रिएपछि सिलाई होटल सोल्टी पुर्याइने कार्यक्रम छ । त्यहाँ केही बेर आरामपछि उनको सवारी शीतल निवासमा हुनेछ । शीतल निवासमा भेटवार्ता सकेर सि होटल सोल्टी फर्किनेछन् । बाँकी सबै भेटवार्ता त्यहीँ हुनेछन् । सिको सवारीपूर्व तीन घण्टा सडक बन्द हुनेछ ।

भदौ २२ देखि २४ सम्म चीनका स्टेट काउन्सिलर वांग यीको नेपाल भ्रमणले राष्टपतिको भ्रमण टुंगिएको हो । उनी असोज अन्तिम साता एक रात बस्नेगरी काठमाडौं ओर्लँदैछन् । पहिलो कार्यकालमा भारत, पाकिस्तान, मालदिभ्स, श्रीलंका र बंगलादेश भ्रमण गरेका राष्टपति सि नेपाल आएनन् । सन् २०१६ मा उनी आउने चर्चा थियो । तर केपी ओली नेतृत्वको सरकार हटेसँगै चर्चा सेलाएको थियो ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई हामीले उच्च महत्व दिएका छौँ, हामी उहाँलाई व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छौँ’नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नयाँ पत्रिकासँग भने । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुन्जमान सिंह र चीनका तर्फबाट राजदूत युयान जोङ्सियाङले हस्ताक्षर गरेका थिए । त्यसको एक बर्षपछि दुई देशबीच उच्चस्तरीय भ्रमण हुँदै आएका छन् ।

चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले २०५३ मंसिर १९ र २०मा नेपालको राजकीय भ्रमण गरेका थिए । उनीपछिका राष्ट्रपति हु जिन्ताओले नेपाल भ्रमण गरेनन् । २३ बर्षपछि राष्ट्रपति सि आउन लागेका हुन् । सि नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुनेछन् । २०४० साल चैत ६ देखि १० सम्म चिनियाँ राष्ट्रपति ली सियान्यिानले नेपाल भ्रमण गरेका थिए । उनीपछि २०५३ सालमा जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए ।

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ