प्रहरीको तीन अर्बको खरिदमा कानुनको उल्लंघन, अख्तियारले थाल्यो छानबिन !

2019-10-05

काठमाडौँ - नेपाल प्रहरीको पछिल्लो दुई वर्षका खरिदसम्बन्धी सबै फाइल झिकाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । स्केल, सवारीसाधन तथा अन्य बन्दोबस्तीका सामान खरिदमा ठेकेदारसँगको मिलेमतोमा अनियमितता गरेको उजुरीपछि आयोगले विस्तृत अनुसन्धान अघि बढाएको हो । जुत्ता, कपडालगायत सामान गुणस्तरहीन भएको र सम्झौताअनुसार आपूर्ति नहुँदै रकम भुक्तानी गरेको प्रारम्भिक छानबिनमा देखिएको छ । प्रहरीका उच्चपदस्थ अधिकारीहरूलाई बयानमा बोलाउने तयारीमा अख्तियार छ । आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा प्रहरीले गरेको करिब तीन अर्ब रुपैयाँको खरिदसम्बन्धी फाइल अख्तियारको नियन्त्रणमा छन् । हरेकजसो खरिदमा सार्वजनिक खरिद नियमावली तथा आर्थिक ऐन–नियमको उल्लंघन गरिएको स्रोतको दाबी छ ।

सामान दाखिला नै नगरी भुक्तानी
गत वर्ष जय सलिना इन्टरप्राइजेज र जय श्री सप्लायर्सले प्रहरीका २१ लाख ५१ हजार जोर सर्टपाइन्टको कपडा प्रतिमिटर एक सय ८० रुपैयाँका दरले आपूर्ति गर्ने बोलपत्र स्वीकृत भएको थियो । ३८ करोड ७३ लाख ६० हजारको यो ठेक्का अख्तियारको छानबिनमा छ । गुणस्तर तथा नापतौल विभागले निर्धारित मापदण्डसमेत पूरा नगरेको र ठेक्कामा उल्लेखित सामान नै दाखिला नगरी भुक्तानी गरिएको प्रारम्भिक छानबिनमा खुलेको छ । २० प्रतिशत मात्रै सामान दाखिला हुँदा आइजिपी सर्वेन्द्र खनालको निर्देशनमा सबै भुक्तानी दिइएको थियो ।

ठेकेदारहरू ज्ञानेन्द्र बस्नेत, हितनन्द झा, दामोदर दुलाललगायतसँग मिलेर उच्चपदस्थ अधिकारीले खरिदमा अनियमितता गरेको स्रोतको दाबी छ । यस वर्ष पनि उनीहरूकै कम्पनीलाई मिलेमतोमा ठेक्का दिन लागेको भन्दै अख्तियारमा उजुरी परेपछि ठेक्काको निर्णय रोकिएको छ । त्यस्तै समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुई करोड पनि अपारदर्शी ढंगले खर्च गरिएको अनुुसन्धानमा खुलेको छ । छानबिन नसकिएसम्म बोल्न नमिल्ने अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

अघिल्लो वर्ष अस्वीकृत बुट अर्को वर्ष खरिद : एक वर्ष नपुग्दै फाट्यो
आर्थिक वर्ष ०७४/७५ का लागि प्रहरी प्रधान कार्यालयले ३५ हजार डिएमएस बुट (जुत्ता)को टेन्डर गरेको थियो । जसको ठेक्का लिबर्टी सुज प्रालिले पायो । कम्पनीले चैतमा केही सामान बुझायो । प्रहरी प्रधान कार्यालयले नेट कुरियरमार्फत सो जुत्ताको गुणस्तर परीक्षणका लागि भारतको आइटिएस ट्रेडिङमा पठायो । गुणस्तर परीक्षणमा कम्पनीले आपूर्ति गरेको जुत्ता फेल भयो ।

यहीबीचमा प्रहरी नेतृत्व फेरियो । प्रकाश अर्यालले अनिवार्य अवकाश पाएपछि सर्वेन्द्र खनाल महानिरीक्षक भए । त्यसपछि पुरानै ठेकेदारलाई पुनः जुत्ता आपूर्ति गर्न लगाइयो । यसपटक भने परीक्षण सफल भयो । परीक्षणमा चाहिँ गुणस्तरीय नमुना पठाइएको, तर खरिद गर्दा भने पुरानै गुणस्तरहीन जुत्ता लिइएको आयोगको छानबिनबाट खुलेको छ । प्रहरीले दुई वर्षमा एक जोर डिएमएस बुट पाउँछन् । त्यसरी खरिद गरिएको कमसल जुत्ता एक वर्षमै फाटेको छ । यो पनि अनियमितताको आधार भएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

अघिल्लो वर्ष फेल भएको आइपिटी जुत्ता पनि अर्काे वर्ष खरिद
आर्थिक वर्ष ०७४/७५ मै प्रहरी प्रधान कार्यालयले आइपिटी जुत्ता पनि गुणस्तर परीक्षणमा फेल भएपछि फिर्ता गरेको थियो । वर्ष ०७५/७६ मा फेरि आइपिटी जुत्ताका लागि ठेक्का भयो । तीन करोड २१ लाख रुपैयाँको सो ठेक्का एमके ट्रेडर्सले पायो । तर, अघिल्लो वर्ष गुणस्तरहीन भनेर फिर्ता गरिएका जुत्ता नै अर्काे वर्ष नयाँ टेन्डरबाट खरिद गरिएको आयोगको प्रारम्भिक छानबिनमा देखिन्छ । ‘पछिल्लो वर्ष सो जुत्ता आयात गरेको प्रज्ञापनपत्र नै ठेकेदारले दिन सकेका छैनन्,’ स्रोत भन्छ, ‘त्यस्तो जुत्ता नेपालमा उत्पादन हुने सम्भावना पनि देखिँदैन ।’ जसबाट पुरानै जुत्ता एक वर्ष गोदाममा थन्क्याएर अर्काे वर्ष प्रहरीलाई बेचिएको थियो । सस्तो दरमा टेन्डर प्रस्ताव गरी प्रहरीको प्रबन्ध शाखाका प्रहरीसँग मिलेर यसरी अनियमितता भएको हो ।

अख्तियारले छानबिन गरिरहेको अर्काे विषय भिआइपी तथा भिभिआइपीको स्कर्टिङका लागि खरिद गरिएको मोटरसाइकल हो । बजेट नम्बर २९४११ बाट २१ करोड ६० लाख रुपैयाँमा ३८ वटा मोटरसाइकल खरिद खरिएको थियो । सस्तो दरको प्रस्ताव अस्वीकार गरी महँगोलाई स्वीकृत गरेपछि छानबिन पूरा नहुन्जेल भुक्तानी नदिन गत वर्ष नै अख्तियारले प्रहरीलाई निर्देशन दिएको थियो । तर, प्रहरीले भुक्तानी गरेको थियो । अहिले यो विषयमा आयोगले गम्भीरताका साथ अनुसन्धान गरिरहेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा करिब एक अर्ब रुपैयाँबराबरको औजार खरिद भएको थियो । जसमध्ये ६० प्रतिशत टेन्डर र ४० प्रतिशत कोटेसनमार्फत खरिद भएको स्रोत बताउँछ । त्यस्तै, गत वर्ष प्रहरीले प्रयोग गर्ने पाल, फरेस क्याप, ट्राफिक प्रहरीले प्रयोग गर्ने वर्षादी, गम बुट, नाएलटन पट्टीलगायत १२ थरी सामानका लागि एक करोड ४३ लाख दुई हजार एक सय २७ रुपैयाँ बजेट विनियोजन गरिएको थियो । टेन्टरमार्फत खरिद गर्नुपर्ने यी सामान सिल कोटेसनमार्फत थोरै–थोरै परिणाममा किनिएको थियो ।

कमिसनका लागि प्रदेशलाई बजेट बन्द
०७१ सालमा खरिद प्रक्रियालाई पारदर्शी बनाउन तत्कालीन क्षेत्रीय कार्यालयहरूलाई बजेट दिएर क्षेत्रबाटै खरिद गर्ने प्रणाली थालिएको थियो । त्यतिवेला क्षेत्रलाई स्केल तथा सवारीसाधन किन्न ५/५ करोड बजेट दिइएको प्रशासन विभागका तत्कालीन प्रमुख राजेन्द्रसिंह भण्डारी बताउँछन् । ‘उनीहरू आफैँ खरिद गर्दा क्षेत्रहरूबीच नै प्रतिस्पर्धा हुने भएकाले अनियमितता हुने सम्भावना कम हुन्छ,’ उनले भने, ‘अहिले खरिदलाई पारदर्शी बनाउने हो भने प्रदेश प्रहरीलाई नै बजेट दिनुपर्छ ।’

तर, केही वर्षयता प्रहरीको बजेट केन्द्रीकृत हुँदै आएको थियो । प्रहरी प्रधान कार्यालयले नै सबै सामान किनेर देशभरि ढुवानी गर्छ । प्रदेश कार्यालयले खरिद गरेमा प्रहरीको ढुवानी खर्चसमेत बच्ने गर्छ । यसरी बजेटलाई केन्द्रीकृत गर्नुको कारण खरिदमा हुने कमिसन नै हो । प्रदेशलाई बजेट दिँदा खरिदमा चलखेलको सम्भावना कम हुने र कमिसन नआउने भएकाले प्रहरी प्रधान कार्यालयले नै एकलौटी रूपमा खरिद गर्दै आएको छ । सामान पनि हरेक वर्ष एकै ठेकेदारहरूसँग खरिद हुने गरेको छ । केही वर्षयता ज्ञानेन्द्र बस्नेत र उनीनिकट ठेकेदारहरूले मिलिजुली ठेक्कामा हालिमुहाली गर्दै आएका छन् ।

आइजिपीलाई एक हजार पाँच सय र जवानलाई डेढ सय रुपैयाँ मिटरको किनिन्छ बर्दी
सबै प्रहरीलाई एउटै खरिदबाट स्केलका सामान लिइन्छ । तर, जवानको पोसाक हप्ता दिनमै खुइलिन्छ भने उच्च अधिकारीहरूको कपडा टिकाउ हुन्छ । यसको कारण हो, ठेकेदारले उच्च अधिकारीका लागि महँगो र जवानका लागि अत्यन्त सस्तो कपडा आपूर्ति गर्छन् । ‘सिपाहीले लगाउने कपडा मिटरको डेढ सय रुपैयाँ पर्छ,’ प्रहरीको प्रबन्ध शाखामा काम गरेका एक प्रहरी अधिकारी भन्छन्, ‘हाकिमहरूलाई महँगो कपडा खरिद गरेर दिन्छन् । महानिरीक्षकको कपडा १५ सय रुपैयाँ प्रतिमिटरको हुन्छ ।’ जुत्तालगायत अन्य सामान पनि उच्च अधिकारी र तल्लो तहका प्रहरीलाई छुट्टाछुट्टै दिने गरिएको प्रहरी स्रोत बताउँछ । गुणस्तर परीक्षणमा नै चलखेल गरेर सामान खरिदमा अनियमितता हुने गरेको स्रोतको दाबी छ ।

कहिल्यै समयमा पाउँदैनन् प्रहरीले स्केलका सामान
खरिदमा हुने चलखेलका कारण प्रहरी अधिकारीले कहिल्यै पनि गुणस्तरीय सामान पाउँदैनन्, त्यसमाथि समयभित्र पनि पाउँदैनन् । हरेक वर्ष जाडो महिनामा ज्याकेट अभाव हुने गर्छ । गत वर्ष पनि वैशाखमा मात्र प्रहरीले ज्याकेट खरिद गरेको थियो । यस वर्ष पनि त्यस्तै हुने अवस्था छ । जुत्ता, मोजा, टोपीलगायत अन्य सामानसमेत प्रहरीले कहिल्यै आवश्यकताअनुसार पाउँदैनन् ।

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी भन्छन्–प्रहरीलाई ठेक्का नै गर्न दिनुहुन्न
प्रहरीलाई ठेक्कापट्टामा सहभागी गराउनै हुन्न । गृह मत्रालय वा अन्य निकायबाट प्रहरीका आवश्यक सामान खरिद हुनुपर्छ । शान्तिसुरक्षामा खटिने प्रहरीले ठेकेदारसँग डिल गरेको सुहाउँदैन । प्रहरीको खरिदलाई विवादरहित बनाउने अर्काे विकल्प भनेको स्वदेशी उद्योगमै उत्पादित कपडा खरिद गर्नु हो । सामान खरिदमा हुने आम्दानी नै प्रहरी प्रमुखको ‘पावर मेकिङ’को माध्यम हुने गरेको छ, शक्ति नै त्यही हुने गर्छ । त्यसकारण प्रहरीको खरिद प्रक्रियामा आमूल परिवर्तन ल्याउन जरुरी छ । नत्र प्रहरीको इमेज झन् बिग्रँदै जान्छ ।

यी हुन् प्रहरीलाई बदनाम बनाउने ठूला भ्रष्टाचार काण्ड

सुडान घोटाला प्रकरण
प्रहरीको कल्याण कोषमा भएको अनियमिततालाई देशकै ठूलो भ्रष्टाचारका रूपमा लिइन्छ । यसलाई ‘सुडान घोटाला’ भनेर पनि चिनिन्छ । राष्ट्रसंघको आग्रहमा सुडान खटिन लागेको एफपियू मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा भएको सो भ्रष्टाचारमा बहालवालासहित तीन पूर्वआइजिपी जेल जानुपरेको थियो । गुणस्तरहीन सामान खरिद गरेर भ्रष्टाचार गरिएको थियो । २८ करोड ४० लाख रुपैयाँ अनियमितता भएको ठहर गरी जेठ ०६८ मा दुई ठेकेदार र ३४ प्रहरी गरी ३६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । जसमा विशेष अदालतले तीन आइजिपी र ठेकेदारलाई दोषी ठहर गरेको थियो ।

पेट्रोलपम्पमा लुट
केही वर्षअघिसम्म प्रहरीको पेट्रोलपम्प सञ्चालनको कुनै हिसाबकिताब थिएन । हाकिमहरूले आदेशको भरमा इन्धन हाल्न लगाउँथे । प्रहरीका आफन्तदेखि नेताहरूसम्मले पम्पमा व्यापक अनियमितता गरेका थिए । प्रहरी अधिकारीहरूको कमाइ काटेर जम्मा भएको कल्याण कोषअन्तर्गत सञ्चालित पेट्रोलपम्प मनोमानी ढंगले चलेको थियो । ०६६ मा तत्कालीन एसएसपी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा छानबिन समिति बन्यो । त्यसले पेट्रोलपम्पमा करिब पाँच करोड भ्रष्टाचार भएको भन्दै प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई प्रतिवेदन बुझायो । प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन कार्यान्वयनका लागि बुझायो । त्यसको चार वर्षपछि अर्थात् २८ असार ०७० मा अख्तियारले भ्रष्टाचार ठहर गरी विशेष अदालतमा मुद्दा चलायो । दुई करोड ३९ लाख घोटाला भएको भन्दै आयोगले इन्स्पेक्टर जोगलाल डंगोल, सइहरू पुष्पबहादुर वली, आनन्द रोक्का, डोरबहादुर राई र नयनबहादुर बोहराविरुद्ध मुद्दा चलायो ।

२० लाखको जग्गा दुई करोडमा खरिद
तत्कालीन अञ्चल प्रहरी कार्यालय बागमतीका लागि ०६६ मा काभ्रेको भैँसेपाटीमा चार रोपनी तीन आना जग्गा दुई करोडमा खरिद भयो । तर, पछि त्यो जग्गा प्रहरीका लागि अनुपयुक्त ठहर भयो । प्रहरीका ठूला गाडी नै नजाने खोँचको जग्गा मिलेमतोमा खरिद भएको थियो । जसमा तत्कालीन एसएसपी प्रेम चन्दसहितका प्रहरी अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दामा एसएसपी चन्दलाई विशेष अदालतले दोषी ठहर गरेकामा सर्वाेच्चले सफाइ दिएको थियो । २० लाखमा किनेको तीन महिनापछि जग्गाधनीले मिलेमतोका आधारमा सो जग्गा प्रहरीलाई दुई करोडमा बिक्री गरेको छानबिनमा खुलेको थियो ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ