दशैंका लागि १२ लाख यात्रु बाहिरिए, अझै १२ लाख बाहिरिने !

2019-10-03

काठमाडौँ - दसैँ नजिकिँदै गर्दा काठमाडौंबाट घर फर्किनेको भिड बढ्दै गएको छ । दसैँका लागि उपत्यकाबाट २५ लाख व्यक्ति बाहिरिने ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको अनुमान छ । एक हप्तायता बुधबारसम्म १२ लाख बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर, यात्रुलाई काठमाडौंका नाका छिचोल्न मुस्किल पर्ने गरेको छ । भत्किएका सडक र कमजोर ट्राफिक व्यवस्थापनका कारण नाकाहरूमा जामको समस्या छ । थानकोट–नागढुंगा–नौबिसे सडकखण्डमा घन्टौँ जामका कारण १० असोजमा काठमाडौं आउँदै गरेका रौतहटका बिरामी रूपलाल साहको बाटैमा ज्यान गयो ।

उपत्यकाबाट बाहिरिने मुख्य चार नाका छन् । थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाका हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाबाट मात्रै ६० प्रतिशत यात्रु बाहिरिन्छन् । दोस्रोमा कोटेश्वर–भक्तपुर–धुलिखेल नाका हो, जहाँबाट २५ प्रतिशत यात्रु बाहिरिन्छन् । त्यस्तै, बल्खु–चोभार नाका हुँदै १० प्रतिशत र बालाजु तथा टोखा–छहरे हुँदै पाँच प्रतिशत यात्रु बाहिरिन्छन् । तर, बालाजु हुँदै नुवाकोटको ककनीतर्फ जाने सडक बिग्रिएकाले त्यसको चाप पनि नागढुंगामा परेको महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले बताए ।

‘यस वर्ष नागढुंगा नाका विगत दसैँमा भन्दा बढी व्यस्त हुनेछ । बालाजु–गोलढुंगा–ककनी सडक बिग्रिएको छ । त्यसैले नुवाकोट र रसुवा जाने यात्रु धादिङको गल्छी हुँदै घर जानेछन् । यसले नागढुंगा नाकालाई थप व्यस्त बनाउनेछ,’ उनले भने ।

महाशाखाका अनुसार यात्रुको सुविधाका लागि ट्राफिक प्रहरीले उपत्यकाका १४ स्थानमा सहयोग कक्ष राखेको छ । कलंकी, बालाजु, नयाँ बसपार्क, चाबहिल, गौशाला, काटेश्वर, सातदोबाटो, बल्खु, सुन्धारा, पुरानो बसपार्कलगायत क्षेत्रमा सहयोग कक्ष राखिएको हो । यात्रुले जुनसुकै वेला सहयोग लिन सक्छन् । टिकट ब्ल्याक गरेको, मापसे गरेको, सिट नपाएको, यात्रु बढी हाल्ने घटनाको अनुगमन गर्न ट्राफिक प्रहरीले विशेष सुरक्षा योजनासमेत बनाएको छ । कसैले बदमासी गरेको भेटिए कारबाही हुने प्रहरीको भनाइ छ । ‘यात्रुको सहयोगका लागि १४ स्थानमा हेल्पडेक्स राखेका छौँ । डेक्समा चौबिसै घन्टा प्रहरी परिचालन हुनेछन् । यसका अतिरिक्त प्रत्येक चोक र नाकामा मापसे चेक हुन्छ । यात्रुको अवस्था जाँच गरिन्छ । टिकट पाएर सिट नपाएको अवस्था छ–छैन सोधपुछ गरिन्छ । कसैले गल्ती गरेको भेटिए कारबाही हुन्छ,’ प्रवक्ता एसपी पौडेलले भने ।

१६, १७ र १८ असोजमा दैनिक चार लाख यात्रु बाहिरिने
टिकट काउन्टरमा सबैभन्दा धेरैले १६, १७ र १८ असोजको टिकट काटिरहेका छन् । ती दिनका लागि नियमित र थप गरिएको टिकटसमेत सकिएको पश्चिम नेपाल बस व्यवसायी कम्पनीका शाखा इन्चार्ज डिल्लीराज भुसालले बताए । सार्वजनिक बिदा सुरु हुने भएकाले पनि ती दिनमा दैनिक चार लाखसम्म बाहिरिने ट्राफिक प्रहरी र यातायात व्यवसायीको अनुमान छ ।

ठूला मालवाहक साधनलाई रोक
अत्यावश्यकबाहेकका ठूला मालवाहक सवारीसाधनलाई १२ देखि १८ असोजसम्म काठमाडौं भित्रिन रोक लगाइएको छ । १० चक्के र त्यसभन्दा बढी चक्का भएका मालवाहक गाडीलाई चितवनको नारायणगढमै रोकिएको हो । अत्यावश्यक खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थलगायत तत्कालै नास भएर जाने सामग्रीको ढुवानी भने रोक लगाइएको छैन ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ