पेप्सी कम्पनिमा कर्मचारीको आन्दोलन, प्रशासन नेपाली कर्मचारी निकाल्दै भारतीय राख्दै

2019-09-29

नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० स्थित बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी)का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। कम्पनीमा कार्यरत श्रमिकहरुले विभिन्न ९ बुँदे मागसहित विगत ५ महिनादेखि चरणबद्ध आन्दोलन थालेका हुन्।

पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै श्रमिकहरुले अन्तिम पटकका लागि भन्दै यही असोज १४ गतेसम्म विगतमा भएका निर्णय कार्यान्वयन गर्न अन्तिम पटकको अल्टिमेटम दिएका छन्।

चरणबद्ध आन्दोलन सुरु गरेका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन्। श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले चरणबद्ध आन्दोलनमा जान बाध्य भएको आन्दोलनरत सामूहिक सौदाबाजी समितिका संयोजक रमेश गौतमले बताए।

'पटक–पटक यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग सहमति भए पनि कार्यान्वयनमा चासो देखाइएको छैन, २ वर्षदेखि यहाँ कार्यरत सबै श्रमिकलाई कम्पनीले सप्लायर कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ,' उनले भने।

नियुक्तिपत्र बिनै काममा राखिएको भन्दै श्रमिकले रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तपत्र दिएर मात्र काममा राख्न माग गर्दै आएका छन्। 'विगत ५ महीनादेखि नै यहाँ कार्यरत हामी श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन पनि गरेको छ,' श्रम ऐनबमोजिम कम्पनीमा गठित सौदाबाजी समितिका संयोजक गौतमले भने।

श्रमिक राख्दा स्थानीयवासीलाई ग्राह्यता पनि नदिइएको उनको गुनासो छ। निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधै नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका माग राखेका छन्।

श्रमिकको श्रम शोषण गर्ने, अमानवीय व्यवहार गर्ने तथा कुनै पनि बेला निष्काशन गर्ने कार्यले श्रमिक प्रताडित भएको उनको भनाइ छ। कम्पनीको व्यवस्थापन पक्षले श्रमिकका माग सम्बोधनमा आलटाल गर्दै आएपछि विभिन्न समयमा राजनीतिक दल, सांसद, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघको पहलमा पटक–पटक माग सम्बोधनका लागि श्रमिक र कम्पनीबीच सहमति भएको थियो।

कम्पनीले सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै राजनीतिक दलहरुले श्रमिकको आन्दोलनमा ऐक्बद्धता जनाउँदै चरणबद्ध आन्दोलनप्रति समर्थन जनाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बुद्धन अलीले बताए। नेपाली कांग्रेसका जिल्ला सचिव विक्रम यादवले श्रमिकको समस्या समाधानका लागि श्रमिकले गर्ने चरणबद्ध आन्दोलनमा साथ दिँदै यही असोज १४ गते परासीमा विरोध प्रर्दशनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र सुनुवाइ नभए असोज १७ गते कम्पनीमै अनिश्चितकालका लागि तालाबन्दी गर्ने निर्णय भएको जानकारी दिए।

राजपाका जिल्ला संयोजक मुकुरजी गिरीले सर्वपक्षीयरूपमा पटक–पटक सहमति हुँदा पनि उद्योग प्रशासनले निर्णय कार्यान्वयनमा आलटाल गर्नु विडम्बना भएको बताए। समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष अमिरुल्लाह मियाँले श्रमिकले गर्ने चरणबद्ध आन्दोलनमा सबै राजनीतिक दलले साथ दिने निर्णय भएको जानकारी दिए।

उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत रहेका छन्। आन्दोलनमा उत्रने नेपाली श्रमिकलाई निष्काशन गर्दै कम्पनीले अहिले भारतबाट कामदार ल्याएर काममा लगाएको छ। (रासस)




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ