अमेरिकी 'मोस्ट वान्टेड'लाई नेपालबाट लैजान विमान नै चार्टर

2019-09-20

काठमाडौँ - नेपालमा पक्राउ परेका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहान नाथनलाई लिएर फिर्ता भएको छ ।

चालक दलका सदस्यबाहेक युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी नेपाल आएका थिए । अमेरिकी दूतावास स्रोतका अनुसार नाथनलाई लैजान करिब एक लाख डलर खर्च भएको छ । अमेरिकामा आफ्नै प्रेमिकाकी नाबालिका छोरीमाथि यौन दुर्व्यवहार गरेर नाथन फरार भएका थिए । नाथनलाई गत १८ भदौमा प्रहरीको विशेष ब्युरोले ठमेलबाट पक्राउ गरेको थियो । अध्यागमन विभागले १४ दिन थुनामा राखी उनलाई निष्कासनको निर्णय गरेको थियो । उनलाई नेपालस्थित अमेरिकी दूतावासको पहलमा नियमित उडानबाट अमेरिका लैजाने तयारी भएको थियो ।

नाथनलाई लैजान युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी एक साताअघि काठमाडौं आइसकेका थिए । तर, २७ भदौमा कोरियन एयरको जहाज चढिसकेपछि नाथनले आत्महत्या गर्ने धम्की दिए । त्यसपछि सुरक्षाको कारण देखाएर एयरलायन्सले उनलाई लैजान मानेन । त्यसपछि अमेरिकी सरकारले उनलाई लैजान फ्लाइटवर्कस् कम्पनीको भि/एन११जिडब्लू प्लेन चार्टर्ड गरेको हो ।

बिहीबार नाथनलाई अध्यागमन विभागबाट खटिएका प्रहरीले विमानकै भर्‍याङमा पुर्‍याएर अमेरिकी मार्सल टोलीलाई बुझाएको थियो । उनलाई हत्कडी लगाएर जहाजभित्र बसाइयो । यसरी अपराधी बुझाउन नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि छैन । तैपनि अन्तरदेशीय अपराध नियन्त्रणका लागि भन्दै एक–अर्का देशमा लुक्न गएका अपराधीलाई पक्राउ गरेर निष्कासनको प्रक्रियामार्फत सहकार्य हुने गरेको छ । नाथनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेकाले पक्राउ गरेर अध्यागमन कानुनअनुसार कारबाही गरी नेपाल आउन नपाउने गरी निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

नाथन अवकाशप्राप्त सैनिक हुन् । क्यालिफोर्नियाका बासिन्दा उनी चीन हुँदै गत महिना नेपाल आएका थिए । लुक्नकै लागि उनी नेपाल आएको प्रारम्भिक अनुसन्धानमा देखिएको अध्यागमनका अधिकारीहरू बताउँछन् । नेपाल आएलगत्तै इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा प्रहरीले पक्राउ गरेको हो । अध्यागमन कानुनअनुसार उनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसरी विदेशी अपराधीलाई विशेष विमानमार्फत विदेश निष्काशन गरिएको यो दोस्रो घटना हो । करिब १० वर्षअगाडि एक जर्मन नागरिकलाई लिन जर्मनीबाट विमान चार्टर्ड गरेर ल्याइएको थियो । विभागका महानिर्देशक पौडेलका अनुसार तीनपटकसम्म विमान चढाउँदा हुलहुज्जत गरेपछि जर्मन नागरिकलाई विशेष विमानमार्पmत लैजानु परेको थियो ।

के छ अभियोग ?
आफ्नै प्रेमिकाकी छोरीमाथि यौन दुराचार गरेको आरोप नाथनमाथि छ । अमेरिकी कानुनीअनुसार यस्तो अवराधमा ९९ वर्षसम्म कैद सजाय हुन सक्छ । सन् २०१४ देखि २०१५ सम्म उनले प्रेमिकाकी छोरीमाथि यौन अपराध गरेको उजुरी परेको थियो । प्रेमिकासँग सम्बन्ध टुटेपछि उनीविरुद्ध उजुरी परेको हो । उनीविरुद्ध अलास्का राज्यको प्रहरीले पक्राउ वारेन्ट जारी गरिसकेको छ । तर, आफूले त्यस्तो अपराध नगरेको नेपालका अध्यागमन अधिकारीसँग नाथनले बताएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ