आकासियो तरकारीको भाउ : किसान र उपभोक्तालाई मार, बिचौलिया मालामाल

2019-09-20

काठमाडौँ - २६ भदौमा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको हरियो प्याजको मूल्य एक सातामै ३०९ प्रतिशतले महँगिएर बिहीबार २२५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकिलो २४५ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य ११० प्रतिशतले बढेर ५१५ रुपैयाँमा बिक्री भएको छ ।

केही दिनसम्म लगातार परेको झरीका कारण हरियो तरकारीको भाउ आकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीहरू बताउँछन् । ‘यतिवेला तराईको उत्पादन आएको छैन । भारतीय र उपत्यकाआसपासका जिल्लाबाट आपूर्ति भइरहेको छ,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अर्कातिर सोह्रश्राद्धमा भएको उच्च मागको असर मूल्यमा देखिएको हो ।’

तर, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने प्रभावकारी अनुगमन अभावमा बजारमा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ वृद्धि हुन थालेको दाबी गर्छन् । सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो नदिएको उनको गुनासो छ ।

‘सरकारले अनुगमनमा लापरबाही गरिरहेको छ, जसका कारण उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन्,’ उनले भने । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्रकुमार गौचन भने मूल्य नियन्त्रणका लागि सहुलियत पसल सञ्चालन गरेको र अनुमगनलाई चार गुणा बढाएको दाबी गर्छन् ।

किसान र उपभोक्तालाई मार, बिचौलिया मालामाल
उपत्यकामा तरकारीको मूल्य ह्वात्तै बढे पनि दश नग्रा खियाएर उत्पादन गर्ने किसानले सस्तो मूल्यमै बेचिरहेका छन् । उपभोक्ता भान्सा–भान्सामा ठगिएका छन् । किसान र उपभोक्ता मारमा पर्दा बिचौलिया भने मालामाल भएका छन् ।

किसानको बारीमै पुगेर संकलन केन्द्रका व्यापारीले तरकारी उठाउँछन् । यस्ता संकलन केन्द्रका व्यापारीले धेरै किसानको तरकारी नियमित रूपमा खरिद गर्ने गरेका छन् । संकलन केन्द्रमा तरकारी दिए पनि किसानले कति मूल्य पाउने भन्ने थाहा पाउँदैनन् । संकलन केन्द्रका व्यापारीले कालिमाटी बजारमा कुन भाउमा बिक्री हुन्छ, त्यसैका आधारमा मूल्य दिने भनेर किसानबाट उधारोमा तरकारी किन्छन् ।

संकलन केन्द्रका व्यापारी बजार क्षेत्रमा सटर भाडामा लिएर बसेका हुन्छन् । त्यहाँ एउटा ढक राखेर बस्छन् । उनीहरूकहाँ तरकारी लिन ट्रक, मिनीट्रक लिएर ढुवानीकर्ता पुग्छन् । ढुवानीकर्ताले कालिमाटीको पहिलो दर्जाका थोक व्यापारीलाई तरकारी दिन्छन् । पहिलो दर्जाका थोक व्यापारीकै हातमा तरकारीको भाउ निर्धारण गर्ने हैसियत हुन्छ । उनीहरूले तोकेकै भाउ बजारमा चल्छ । यस्ता थोक विक्रेताले ठूलो मात्रामा तरकारी भण्डारण गरी राख्छन् । यिनीहरूबाट साना थोक व्यापारीले तरकारी लिन्छन् ।

साना थोक व्यापारीले सामान्यतया पाँच–पाँच किलोका दरले उपत्यकाका साना बजारमा व्यवसाय गर्ने तथा पसल थापेर बिक्री गर्ने व्यवसायीलाई तरकारी बिक्री गर्छन् । साना थोक व्यापारीले आलू, प्याज भने प्रतिबोराका हिसाबले बेच्छन् । यस्ता व्यापारीबाट तरकारी खरिद गर्ने पसले तथा बजार–चोक क्षेत्रमा ठेला गाडा राखेर तरकारी बिक्री गर्ने साना व्यवसायीबाट उपभोक्ताले तरकारी खरिद गर्छन् । कालिमाटी बजारले निर्धारण गरेको खुद्रा मूल्यभन्दा पसल तथा चोकमा रहेका ठेलागाढाबाट तरकारी किन्दा प्रतिकिलो पाँचदेखि दश रुपैयाँ महँगो पर्ने गरेको छ ।

सोह्रश्राद्ध लागेसँगै खपत बढ्दा मूल्य आकासियो
खोमप्रसाद घिमिरे, अध्यक्ष, फलफूल तथा तरकारी व्यवसायी महासंघ
अहिले तरकारी उत्पादनको अफसिजन हो । अहिले नै सोह्रश्राद्ध छ । सोह्रश्राद्धमा माछामासुको प्रयोग कम हुँदा तरकारीको माग बढ्छ र मूल्यमा असर पार्छ । हाल काठमाडौंमा उपलब्ध तरकारीमध्ये तराईबाट करिब पाँच प्रतिशत मात्र आयात भएको छ । बाँकी सबै भारत, काठमाडौं उपत्यका र काठमाडौंआसपासका जिल्ला धादिङ, मकवानपुरको पालुङ र काभ्रेबाट आइरहेको छ । प्याज भने शतप्रतिशत भारतबाटै आएको छ । गोलभेडा धेरै देशभित्रैको उत्पादनले धानेको छ, भारतबाट थोरै आउँछ । यस वर्ष अब अदुवा, लसुन, प्याज र कागतीको मूल्य घट्ने देखिँदैन ।

खसीको मासु २०० बढ्यो, दसैँमा थप बढाउने व्यापारीको योजना
करिब तीन महिना अघिसम्म खसीको मासु प्रतिकिलो अधिकतम् ११ सय रुपैयाँ थियो । अहिले १३ सय पुर्‍याइएको छ । सरकारले भारतबाट खसी, बोका आयातमा प्रतिबन्ध लगाएकाले मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढाउनुपरेको चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले बताए । उनका अनुसार सरकारले यसमा ध्यान दिएन भने दसैँसम्म अझै बढ्छ । ‘दसैँमा खसी, बोकाको माग उच्च हुन्छ र स्वदेशी उत्पादनले धान्न सकिँदैन भन्ने जान्दाजान्दै सरकारले आयात रोकेको छ,’ पाठकले भने, ‘त्यसैले मासुको मूल्य आकासिएको हो ।’ त्यस्तै, जिउँदो माछाको मूल्य पनि बढेको छ ।

चामल बोरामा ५० रुपैयाँ बढ्यो
चामलको मूल्य पनि पछिल्लो एक सातामा प्रतिबोरा ५० रुपैयाँले बढेको छ । खुद्रा व्याापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सबै प्रकारको चामलको मूल्य समान वृद्धि भएको छ । चामल आयात बिन्दुमै मूल्य बढेकाले खुद्रा मूल्य पनि बढेको उनले बताए ।

बदाम र पेस्ता किलोमा सय बढ्यो, सुकमेलमा बढ्यो प्रतिकिलो २३ सय
बदाम र पेस्ताको मूल्य प्रतिकिलो एक–एक सय रुपैयाँ वृद्धि भएको छ । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार असन क्षेत्रका सबै पसलमा बढेको मूल्यमा कारोबार भइरहेको छ । ‘बदाम १२ सयबाट १३ सय प्रतिकिलो पुगेको छ,’ उनले भने, ‘पेस्ता १७ सयबाट १८ सय रुपैयाँ पुगेको छ ।’ त्यस्तै, सबैभन्दा धेरै सुकमेलको भाउ बढेको छ । २७ सय रुपैयाँ प्रतिकिलो रहेको सुकमेल दुई सातायता ५ हजार प्रतिकिलोमा बिक्री भइरहेको छ ।

अनुगमन टोलीका संयोजक कपिल रेग्मी भन्छन्,अनुगमनमा जाँदा व्यापारीले ‘यिनीहरूलाई चुट्नुपर्छ’ भन्दै झम्टिए
बिहीबार दिउँसो १ः३० बजेतिर न्यूरोडको रञ्जना कम्प्लेक्समा अनुगमन गर्न पुगेका थियौं । भुइतलामा रहेको अन्तकुमारी श्रेष्ठको कपडा पसलबाट अनुगमन थाल्यौँ । त्यहाँ खरिद बिल देखिएन तर बिक्री बिल देखियो । हामीले जरिवाना तयारी गर्‍यौँ । त्यतिन्जेल पसल सञ्चालक भने बाहिरका मान्छे जम्मा गर्न थालिसकेका रहेछन् । माथिल्लो तलाका सबै पसलहरू बन्द गरेर व्यवसायी तल आए । एकैछिनमा करिब डेढ सय मान्छे जम्मा भए । ‘कम्तीमा ५० हजार जरिवाना गछौं’ भनेर हामी अघि बढ्न थालेपछि उनीहरूले फोहोरी गाली गरे । केहीले त ‘यी सरकारी कर्मचारीलाई चुट्नुपर्छ, छाड्नुहुन्न’ भन्न थाले । केही त ‘बोरामा हालेर झ्यालबाट फाल्नुपर्छ’ भन्दै हात हाल्न अघि सरिसकेका थिए । त्यहीं बेला प्रहरी र मलको सञ्चालक समितिका पदाधिकारी आएपछि जोगियौँ ।

 

नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ