विश्वघटना : अफगानिस्तानमा फेरि तालिबानी आक्रमण, इरान र अमेरिकाबीचको विवाद उत्कर्षमा

2019-09-20

काठमाडौँ - अमेरिकासँगको वार्ता भंग भएपछि नै तालिबानी समूहले अफगानिस्तानमा हमला तिव्र बनाएको छ । यतिसम्म कि यहाँ हरेक दिन जस्तो हमला हुँदैछ । यस्तै तनाब इरानसँग पनि जारी छ । खासगरी प्रभावशाली मुलुकको राजनीतिक खिचातानीले विभिन्न क्षेत्रमा तनाब कायम छ । आज कुन ठाउँमा के भयो त ? विश्वभरका प्रमुख खबर यहाँ प्रस्तुत छन् :

अफगानिस्तानमा फेरि तालिबानी आक्रमण
काबुल : दक्षिणी अफगानिस्तानस्थित तालिबानी समूहले फेरि हमला गरेको छ । जहाँ ३० जना मारिएका छन् । अरु ९५ जना घाइते छन् । अमेरिकाले वार्ता स्थगित गराएपछि हरेक दिन तालिबानी समूहले आक्रमण गर्दैआएको छ ।

बिहीबार जाबुल प्रान्तको राजधानी कलातमा ट्रक बम हमला भएको हो । रक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार तालिबानी लडाकुहरुले सरकारको सुरक्षा निकायमाथि आक्रमण लक्षित गर्दैथिए । घाइतेहरुलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको स्थानीय मिडियाले जनाएका छन् । घाइतेमा बालबालिका र महिलाहरु पनि छन् ।

अवैध रुपमा भारत बस्ने आप्रवासीलाई निकाल्ने घोषणा
नयाँदिल्ली : भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता अमित शाहले अवैध रुपमा बस्दैआएका आप्रवासीलाई देशनिकाला गर्ने चेतावनी दिएका छन् । एक कार्यक्रममा उनले भारतमा अवैध रुपमा बस्ने विदेशीलाई देशबाट निकाल्ने बताएका हुन् । इंग्ल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायत मुलुकको कानुनको प्रसंग कोट्याउँदै भारतमा पनि त्यस्तो सम्भव नहुने बताए ।

साथै सबै नागरिकको नाम दर्ता हुनुपर्ने पनि उनले बताएका छन् । भारतमा ‘नेश्नल रजिस्टर फर सिटिजन (एनआरसी)’को लागु गर्ने सवाल चलिरहँदा शाहले यस्तो बताएका हुन् । आसाममा हालै यस्तो व्यवस्था लागु गर्ने सन्दर्भमा नागरिकहरु छुटेको भन्दै विवाद भएको थियो ।

शाहले पनि एनआरसी लागु गर्नेबारे जोड दिएका हुन् । बंगलादेश, पाकिस्तान लगायत मुलुकबाट भारत आइ अवैध रुपमा बसोबास गर्नेहरुलाई लक्षित गरी यहाँ आप्रवासीमाथि कडाइ गर्न थालेको टिप्पणी हुन थालेको छ ।

शाहको यस्तो घोषणाले भारतमा बस्दैआएका नेपालसहित छिमेकी मुलुकका नागरिकलाई अप्ठ्यारो पर्ने आशंका गरिएको छ । खासगरी लामो समयदेखि भारतमा बस्दैआएका तथा व्यवसाय गर्दैआएका छिमेकी मुलुकका नागरिकलाई यस्तो नियमले कडाइ गर्नसक्ने टिप्पणी हुने गरेको छ ।

गल्फ तनाबबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री अबुदभीमा
दुबइ : अमेरिकी विदेशमन्त्री माइक पोम्प्यो साउदी हमला, इरानको प्रतिक्रिया लगायत विषयमा वार्ता गर्न अबुदाभी आएका छन् । यसबारे ‘गल्फ गठबन्धन’ सरकारसँग विस्तृतमा छलफल गर्ने बताइएको छ ।

गल्फ क्षेत्रमा पछिल्लो समय बढ्दो तनाब कसरी कम गराउने भन्नेबारे छलफल केन्द्रित हुने स्थानीय मिडियाले जनाएका छन् । पोम्प्योले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग यसअघि नै भेटवार्ता गरिसकेका छन् ।

भारतमा सवारी चालक आन्दोलित
नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीमा सार्वजनिक सवारी साधन चालकहरु आन्दोलित बनेका छन् । सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारीका लागि जरिवानाको रकम बढाएपछि चालकहरु आन्दोलित बनेका हुन् ।

बिहीबार दिनभर उनीहरुको आन्दोलनका कारण यात्रुहरु अलपत्र परे । यातायात सम्बन्धी युनियनले बिहीबार हड्तालको आह्वान गर्दा दिल्लीमा अधिकांश सवारी साधन बन्द भए । सवारी दुर्घटनाबाट एक वर्षमै मृत्यु हुनेको संख्या एक लाख भन्दा धेरै रहेको र ५ लाख घाइते भएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

मलेसियामा घातक वायु प्रदुषण, हजारौँ स्कुल बन्द
क्वालालाम्पुर : मलेसियामा पछिल्लो केही दिनयता वायु प्रदुषणका कारण आम जनजीवनमा असर पर्ने देखिएपछि शतर्क रहन सचेत गराइएको छ । घातक वायुबाट आम जनजीवनमा असर पर्ने भन्दै केही सहरमा शतर्कता अपनाइएको हो ।

वायु प्रदुषणको स्तर नाप्ने ‘एयर पोलुसन इन्डेक्स, एपिआई’का अनुसार २ सय पनि नाघिसकेको बताइएको छ । जुन ‘अति अस्वास्थ’ अवस्था भएको अधिकारीहरुले जनाएका छन् ।

वायु प्रदुषणका कारण सात राज्यका १४ सय ८४ वटा स्कुल बन्द गरिएको छ । लाखौं प्राथमिक तहका विद्यार्थीलाई स्कुल पठाइएको छैन । यस्तै युवा तथा खेलकुद मन्त्रालयसहित प्रभावित क्षेत्रका केही कम्पनी र संस्थानका कर्मचारीहरुलाई पनि घरबाटै काम गर्न भनिएको छ । वायुको बिग्रँदो अवस्थासँगै यहाँका प्रधानमन्त्री महाथिर मुहम्मदले यस्तो समस्या समाधान गर्नुपर्ने भन्दै चासो देखाएका छन् ।

१८ वर्षअघिको गल्तीमा माफी मागे क्यानेडियन प्रधानमन्त्रीले
क्यानडा : क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले १८ वर्षअघि रंगभेदी गतिविधि गरेकोमा माफी मागेका छन् । जस्टिनले १८ अघि पढाउने स्कुलमा भएको साँझको पार्टीमा विरोधी पार्टीलाई विरोध जनाउने क्रममा रंगभेदी स्वरुपको ‘मेकअप’ गरेका थिए ।

‘टाइम म्यागजिन’ले ट्रुडोको तस्बिर प्रकाशन गरेको थियो । ४७ वर्षीय ट्रुडोले २९ वर्षको छँदा अनुहारमा रंग पोतेर रंगभेदी व्यवहार देखाएका थिए । सोही व्यवहारलाई लिएर उनले माफी मागेका हुन् । तस्बिरमा छापिएको व्यक्ति आफैँ भएको भन्दै उनले त्यस व्यवहार गरेकोमा आत्मग्लानी भएको बताएका छन् ।

‘म भन्न सक्छु कि, म युवावस्थामा छँदा गल्ति गरेँ । मैले त्यसो गर्नु हुँदैनथ्यो, तर मलाई थाहा थिएन । म यसको लागि हृदयदेखि नै माफी चाहन्छु । अहिले मैले बुझेँ कि, यो रंगभेदी थियो,’ उनले भनेका छन् ।

जस्टिनले आफैँदेखि दुख लागेको पनि बताए । ट्रुडोले त्यसबेला रंगभेदी व्यवहार झल्किने ‘मेकअप’ गर्दै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । जस्टिन ट्रुडो आधुनिक क्यानडाका पिताको रुपमा चिनिने क्यानडाका पूर्व प्रधानमन्त्री पिर्रे ट्रुडोका छोरा हुन् ।

हामी युद्ध चाहँदैनौँ : इरान
तेहरान : इरानी विदेशमन्त्री जाबद जरिफले आफूहरुले युद्ध नचाहेको प्रतिक्रिया दिएका छन् । उनले इरान सैनिक टकराबमा सामेल हुन नचाहेको पनि बताए । ‘म गम्भीर अभिव्यक्ति दिन चाहन्छु कि, हामी युद्ध चाहँदैनौँ, हामी सैनिक टकराबमा सामेल हुन चाहँदैनौँ...तर हामी आफ्नो क्षेत्रको रक्षा गर्न चुक्दैनौँ,’ जरिफले भने ।

जरिफले बिहीबार सिएनएनसँग अन्तर्वार्ता दिने क्रममा यस्तो बताएका हुन् । पछिल्लो समय इरान र अमेरिकाबीच विवाद चर्कँदैगएको छ । अमेरिकी प्रतिनिधि भने गल्फ गठबन्धनसँग छलफलमा छन् । इरान त्यसको विपरीत छ ।

 

अन्नपुर्णबाट




थप समाचार


संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको ...

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।  मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी ...

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...




ट्रेन्डिङ