मरेर गएपनि विश्व हल्लाउने 'कार्ल मार्क्स'को जिवनी पढ्नुहोस

2019-09-15

एजेन्सी - कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना-आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए ।

पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो । यो कमाउधन्दा बढिरहँदा फ्रान्सेली क्रान्तिताका लागेका नारा ‘मुक्त’, ‘समानता’ र ‘ऐक्यबद्धता’ क्रमशः ओझेलमा पर्दै गइरहेका थिए । कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो । त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी लोकतान्त्रिक व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो ।

मार्क्स राम्रै आर्थिक अवस्था भएको यहुदी परिवारमा जन्मिएका थिए । उनका पिताजी वकिल थिए । उनी स्थानीय तहको शिक्षा सकेपछि सर्वप्रथम बोन विश्वविद्यालयमा कानुनको विद्यार्थी बने, त्यसपछि सांस्कृतिक केन्द्रका रूपमा रहेको बर्लिन विश्वविद्यालय गएपछि दार्शनिक जर्ग विल्हिम फ्रेडरिक हेगलका युवा अनुयायीहरूको संगतमा परेपछि इतिहास र दर्शन पढे ।

सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । पत्रिकामा किसानमाथि गरिएको विभेदविरूद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला गरियो । त्यसपछि उनले राजनीतिक अर्थशास्त्र पढ्न थाले । खासगरी फ्रेडरिक एंगेल्स लिखित तथा जर्मन-फ्रेन्च एनल्समा प्रकाशित ‘आउटलाइन्स अफ द क्रिटिक अफ पोलिटिकल इकोनोमी’ पढे । त्यो एनल्समा मार्क्सका दुई निबन्ध छापिएका थिए ।

पहिलो ‘कन्ट्रिब्युसन टु दी क्रिटिक अफ हेगल्स फिलोसोफी अफ ल’ र ‘अन दी जिउइस क्वेस्चन’ । सन् १८४४ मा मार्क्स र एंगेल्सले १० दिनसंगै बसेर ब्रुनो बुयरको ‘सेपरेसन अफ फिलोसोफिकल क्रिटिक’ को विपक्षमा ‘दी होली फामेली’ लेखे । त्यहीँदेखि दुईजनाबीच जीवनपर्यन्त सहकार्य सुरु भयो ।

पर्सियन सरकार (हालको जर्मन) सरकारले बबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्समा पुगे । त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ छापियो जुन बृहत अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै मार्क्स इंग्लेन्ड पुगे र राजनीतिक अर्थशास्त्र, इंग्लिस समाजवाद पढ्न थाले, श्रमजीवि संगठनका नेताकार्यकर्तासंग उठबस गर्न थाले । दुईजना मिलेर १८४५ मै ‘जर्मन आइडोलोजी’ नामक पुस्तक लेखे, तर त्यो पुस्तक भने १९३२ मा मात्र प्रकाशित भयो ।

१८४८ मा प्रुधाँको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकशित भयो । ब्रसेल्समा बस्दा मार्क्स संगठन निर्माणको काममा पनि संलग्न भए । त्यही विचार आदानप्रदानका लागि आदा अन्तराष्ट्रिय सञ्जाल निर्माण गरे । त्यही सञ्जाल पछि गएर श्रमजीवी जनताको पहिलो अन्तर्राष्ट्रिय आन्दोलनका रूपमा स्थापित भयो । ९ जुन अफ १८४७ मा पहिलो सम्मेलन गरेर ‘वर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले मार्क्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धान्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो । उनीहरूले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारे ।

घोषणापत्र प्रकाशित भएपछि युरोपमा ठूलो हल्लीखल्ली हुन पुग्यो । ब्रसेल्सबाट निस्कासनमा परेपछि मार्क्स पुन: पेरिस फर्किए । त्यसपछि कोलोन पुगे । त्यहाँ उनले ‘क्लास स्ट्रगल इन फ्रान्स’, ‘दी एटिन्थ ब्रुमेअर अफ लुइ बोनापार्ट’, ‘रिभ्योलुसन एण्ड काउन्टर रिभ्योलुसन इन फ्रान्स’ लेखे । जर्मनी र फ्रान्सबाट पुनः लखेटिएपछि १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीं रहे ।

इतिहास र सिद्धान्त

मार्क्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी मार्क्सवाद भन्छौं , त्यो कल्पनामा होइन , ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन् , “मान्छेले आफनो इतिहास आफै बनाउँछ कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन ( हेर्नुहोस् , ‘दी एटिन्थ व्रुमेएर अफ लुई बोनापार्ट’ को पहिलो अध्याय ) त्यो ‘इतिहास बर्गीय शोषण कुन चरणबाट गुज्रिने छ भन्ने कुरामा भर पर्छ । साधारणतया ‘उत्पादन पद्धति ‘ , आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरूबीचको अन्तरविरोध आदिले निर्माण गर्ने बर्ग र समाजमा कसको कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ । ऐतिहासिक निर्धारण आर्थिक तथा प्राविधिक बिषयले ऐतिहासिक रूपान्तरण गर्नमा तिनको भूमिका , राजनीतिले निर्धारण गर्ने आर्थिक नीति र संस्थागत परिचालनले शोषणका ऐतिहासिकता कस्तो भन्ने तय गर्छ । इतिहासका सबै मोडहरूलाई हेरेर नै मार्क्स र , एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा ‘ अहिले अस्तित्वमा रहेको समाज इतिहासमा भएका अनेक वर्गसंघर्षको उपज भने ।

यो वाक्यले नै मार्क्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको बिचारको खाका प्रस्तुत हुन्छ । यही सोचले श्रमजीवी मानिसहरूको आत्म स्वाभिमान जगाउने संघर्ष मात्र होइन, सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउँछ । पूंजीवादी आर्थिक तथा सामाजिक विकासमा उत्पादन सम्बन्ध र उत्पादन प्रकृयाको ऐतिहासिकताका आधारमा समाजलाई हेर्ने बुझ्ने क्रममा मार्क्सले शास्त्रीय अर्थशास्त्रको चिरफार गरे । त्यो चिरफार र आलोचनाको ऐतिहासिक विवेचनाको सैद्धान्तिक जग मार्क्सकै ‘ ग्रुन्डरिसे ‘ मा उल्लेख गरिएको पाइन्छ, जो सन् १९७० को दशकममा मात्र अंग्रेजीमा प्रकाशित भयो । मार्क्सले एउटा बुद्धिजीवीले गर्ने विश्व व्यवस्थाको ऐतिहासिकताको व्याख्या मात्र पस्किएनन् यसलाई कसरी बदल्न सकिन्छ भन्ने कुरामा आफ्नो ध्यान बढी केन्द्रित गरे ।

बुर्जुवा क्रान्तिका पक्षधरले यो ऐतिहासिकताका आधारमा हेर्ने दृष्टिकोणको ठूलो विरोध गरेका छन् । उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन प्रक्रिया तथा उत्पादन सम्बन्धको आधारको समाजको व्याख्याको विकल्पमा म्याक्स वैबरले ‘ पुंजीवादी समाज र त्यसका क्रियाकलाप बुझ्न सीमान्त उपयोगिताको सिद्धान्त’लाई प्रारम्भिक औजारका रूपमा प्रयोग गरे । बर्गको व्याख्यालाई उनले राजनीतिक मुद्दाबाट बिशुद्ध ‘आर्थिक श्रेणी’मा ओराले । अहिलेसम्मका पूंजीवादी समाजशास्त्रीहरू वैबरकै धरातलमा उभिएर मार्क्सवादको विरोध गर्ने गर्छन् ।

मार्क्सको ‘हिस्टोरिकल म्याटेरियालिज्म ‘ मार्क्सवाद मान्ने र नमान्ने दुवैथरी गम्भीर अध्येयताहरूले राम्ररी बुझेका छन् र समर्थन र विरोधमा व्याख्या पस्किएका छन् । जस्तो लेनिन, रोजा , ग्राम्सी र चे ग्वेभारा आदि तीमध्ये प्रमुख हुन् । तर, कतिपय व्याख्या अधुरा र अपुरा रहेका भनाइहरू पनि आइरहेका छन् । क्यापिटलको पहिलो भोलुम छापिएपछि मार्क्सको देहान्त हुन पुग्यो । उनका नोटबुक र तत्काल उपलब्ध सामग्रीका आधारमा एंगेल्सले ‘ क्यापिटल ‘ को भाग २ र ३ प्रकाशमा ल्याए ।यतिबेलासम्म पूंजीका ६ वटा भाग खासगरी जमिन ( ल्यान्डेड प्रोपर्टी , ज्यालादारी मजदुरी , बैदेशिक व्यापार , विश्व बजार र संकटमा आधारित ६ भाग प्रकाशित छन् ।

पछिल्लो एक दशकयता मार्क्स – एंगेल्स संकलनमाला ( मेगा ) ‘ गठन गरेर सबै सामग्री खोज्दा राजनीतिक अर्थशास्त्रका १५ वटा भोलुम तयार हुने कुरा प्रकाशमा आएको छ । मेगाले विश्व इतिहासको क्रोनोलोजी मात्रै १५ सय पृष्ठ भेटिएको जनाइएको त्यतिबेलाका मार्क्सका साथीभाइ इष्टमित्र र सामग्रीको तीव्रतासाथ खोजी भइरहेको छ । झन्डै २ सयको हाराहारीमा रहेका डायरी जुन समाज विज्ञान, इतिहास मानवशास्त्र, प्रकृति विज्ञान र म्याथम्याटिक्ससँग जोडिएका भेटिएको दाबी गरिएको छ । यिनले विगतमा अधुराअपुरा रहेका कृति पुरा गर्न, कम व्याख्या भएका र अस्पष्टतालाई प्रस्ट बनाउन र व्यवस्थित गर्न सजिलो हुने जनाइएको छ । (हेर्नुहोस् , जोन वेलामी फोस्टरद्वारा लिखित ‘मार्क्स ओपेन इन्डिड क्रिटिक’ मन्थ्ली रिभ्यू , १ मे २०१८) यसको अर्थ मार्क्सवाद अपूरो थियो, अब पूरा हुने भन्ने अर्थ कदापि होइन । मार्क्सले आफ्नो जमानाको आर्थिक सामाजिक धरातलमा उभिएर गरेका खोज तथा अनुसन्धानले उनका त्यसवेला गरेका तर्कहरूलाई पुष्टि गर्न थप मद्दत पुग्नेछ ।

मार्क्सवादीमा आएको उतार चढाव

मार्क्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । विज्ञानप्रविधिको विकासले ल्याउने परिवर्तन अकों अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन , हरेक परिवर्तनभित्र विकसित हुने कामदार शक्ति कसरी निर्माण हुन्छ, त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ र कस्ता वाहक वा सङ्गठकले तिनलाई डोर्याउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्छ । आर्थिक – सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण, राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्तिपछिको रूपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्त्वपूर्ण कडी हुन् । त्यसैले सिद्धान्ततः मार्क्सवाद वादविवाद वा बहस ( डाइलेक्टिक), भौतिकवाद (म्याटेरियालिज्म), र इतिहास ( हिस्ट्री )को सम्मिश्रण हो । त्यसैले ठीकठीक विश्लेषण गर्न र एक्सनमा उत्रन त्यति सजिलो छैन । त्यसैले मार्क्सको एउटा प्रसिद्ध भनाइ छ, ‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’ ।

‘मार्क्सवाद, बाइबल, कुरान, वा गीता होइन, जसलाई कण्ठस्थ गरेर कथित ‘ मुक्ति प्राप्त होस् । आजसम्म जेजति समाजवादी क्रान्ति सम्पन्न भए मार्क्सवादी विधिअनुरूप आफ्नो वर्गसंघर्षको इतिहास , तत्कालीन समाजको आर्थिक सामाजिक संरचना, तत्कालीन राज्यको प्रकृति र प्रवृत्ति , समाजमा विद्यमान वर्गसंघर्ष आदिलाई गहिरोसँग केलाएर बहुमत मानिसलाई संगठित संघर्षमा होम्दै सफलता चुमे । मार्क्सवादी अध्ययन विधिकै कारण पछिल्ला मार्क्सवादीहरू ठोस परिस्थितिको ठोस विश्लेषण गरेर क्रान्तिलाई डोर्याए । रुसको अक्टोबर क्रान्ति, चिनियाँ जनक्रान्ति वा क्युबाली क्रान्ति सबै आ – आफ्ना परिवेशमा आ – आफ्ना व्याख्या विश्लेषणका आधारमा सम्पन्न भएका थिए । ती सबैको संघर्षको प्रकृति भिन्नाभिन्नै थियो । परिस्थिति र श्रमजीवी सर्वहारा वर्गको सामाजिक र सांस्कृतिक अवस्था भिन्नाभिन्नै थियो ।

समाजवाद कसरी लागु गर्ने भन्ने विषय कार्यक्रम पनि स्वाभाविक रुपमा फरकफरक थिए । किनकि पूर्णरूपमा विकसित पूंजीवादी समाजको रूपान्तरण र अर्को पछौटे कृषि प्रधान देशको रूपान्तरण कपी गर्न मिल्दैनथ्यो । ज – जसले नीति निर्माण , कार्यक्रम र विचार हुबहु सार्ने कोसिस गरे ती नराम्रोसँग पछारिए । जसले आफ्नो समाज विश्लेषण धरातलीय यथार्थमा रहेर राम्ररी केलाएर अगाडि बढे तिनीहरू सफल भए ।

केही नवउदारवावी पूंजीवादी पक्षधर विद्वानहरूले सोभियत संघ तथा पूर्वी युरोपको विघटनपछि इतिहासको समाप्तिको घोषणा गरे । यसको अर्थ पूंजीवादको विकल्पमा रहेको समाजवादको अन्त्य र सँगसँगै मार्क्सवादको अन्त्य भएको घोषणा गर्ने कसरत थियो त्यो । कसैकसैले मार्क्सवाद विज्ञान प्रविधिमैत्री नभएको घोषणा पनि गरिदिए । कसैकसैले पूंजीमैत्री नभएकाले विकासमै नभएको आरोप लगाउन पनि चुकेनन् । तर , तिनले समग्रतामा के बुझेनन् भने यदि समाजवादले खोजेजस्तो सम्पत्तिको वितरण र पुनर्वितरण अवरुद्ध भयो भने आममानिस उत्पादन र उत्पादनका साधनबाट वञ्चित हुन्छन्, त्यसको अर्थ पूंजी सञ्चिति तथा पूंजी निर्माणसमेत अवरुद्ध हुन्छ ।

यसको अर्थ सम्पूर्ण बस्तु तथा सेवाको उत्पादन र पुनर्त्पादनमा नकारात्मक असर पर्छ । त्यसले सम्पूर्ण अर्थतन्त्रमा मात्र होइन, सामाजिक संकट खडा हुन पुग्छ । दोस्रो विज्ञान र प्रविधिको विकास भनेको केही मुठ्ठीभर व्यक्तिको धन सञ्चयका लागि कि आमजनताको सन्तुष्टिका लागि ? मानव निर्मित वैज्ञानिक सिर्जना र प्रविधि विकास उपलब्धि मानव विकासका लागि धन आर्जन गर्ने साधन मात्र ? पूंजीवादीहरू मानवतावादलाई नकार्दै विज्ञान र विकासको निजत्वकरणमा लिप्त हुन्छन् । मार्क्सवाद निजत्वकरणको खिलाप थियो र छ । सम्पूर्ण उपलब्धि समाजका सम्पूर्ण मानिसको जीवन पद्धतिमा सुधार गर्न, सहज बनाउन लक्षित हुनुपर्छ भन्ने थियो ।आजसम्मका सबै वैज्ञानिक आविष्कार र विकास व्यक्तिगत निजी सम्पत्ति आर्जनका लागि नभएर समाज कल्याणका खातिर भएका हुन् भन्ने बुझ्न पूंजीवादीहरूले चाहेनन् ( हेर्नुहोस् अल्बर्ट आइन्स्टाइन लिखित ‘ह्वाई सोसलिज्म’ । अझै पनि मन्थ्ली रिभ्यू अनलाइनमा पढ्न सकिन्छ )

मार्क्सवाद अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन योजनाको पोको थिएन भन्ने पनि पूंजीवादीसँगै कथित मार्क्सवादीहरूले पनि बुझेनन् वा बुझ्न चाहेनन् । त्यसैले केही मार्क्सवादीहरूले शासनसत्ता हुँदा गरेका सतही घोषणा, सतही क्रियाकलाप तथा विकृत रूपान्तरणलाई मार्क्सवादसँग जोडेर हेरे । वास्तवमा ती केही मार्क्सलाई बदनाम गर्न चाहने पूंजीवादी र तिनका हिमायतीहरूको औजारजस्तै बन्न पुगे । पूंजीवादीहरूलाई एक प्रकारले औडाहा भएको थियों । मार्क्सवादप्रति तिनको ईर्ष्या चुलिंदै गएको थियो । मार्क्सवादलाई सिराने हालेर गरिएका २०औ शताब्दीभरिका क्रान्तिले गरिब, सर्वहारालाई सशक्तीकरण गरेर जमिन तथा फ्याक्ट्रीको मालिक बनाएको थियो । राष्ट्रिय राज्यको निर्माण गर्दै स्वतन्त्र सार्वभौम सत्तासम्पन्न जनताका अधिकारका लागि साम्राज्यवादविरुद्ध स्वाधीन संघर्ष सञ्चालन गर्न हौस्याएको थियो ।

शिक्षा , स्वास्थ्य रोजगारीमा आमजनताको पहुँच पुर्याउन र राज्यको दायित्वको पहिचान बढाउन मार्क्सवाद औजार बन्न पुगेको थियो । दासका रूपमा भित्र्याएका काला जाति र सम्पूर्ण महिलाहरूलाई मतदान दिने आधार मार्क्सवादको आधारमा भएका क्रान्तिको अगुवाइमा भएका थिए । त्यसले मुट्ठीभर सामन्त तथा पूंजीवादीहरूमा खुम्चिएको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार आमजनताको पहुँचमा पुर्यावन अहम् भूमिका खेलेको थियो । पूंजीवादीहरू समाजवादको नामबाट तर्सिनुपर्ने, झाँक्किनुपर्ने, यिनै कारण थिए । समाजवाद समापन हेर्न पूंजीवादीहरू सधै मौकाको खोजीमा थिए, छन् र भोलि पनि रहनेछन् ।

मार्क्सवाद माथि उल्लेख गरिएझैँ बहस, वादविवाद, भौतिकवाद र बर्ग संघर्षको समष्टि हो । क्रान्तिपछि जानी – नजानी राज्य पुँजीवादमा लैजानेहरूले बहस र बावविवादलाई प्रतिबन्ध लगाए । यसले भौतिक वस्तु उत्पादनको विकास त सम्भव भयो, तर समाजको सामाजिक रूपान्तरण प्रक्रिया अवरुद्ध हुन पुग्यो । डाइलेक्टिकको अभावमा राज्यमा ब्युरोक्रेसी हाबी हुन पुग्यो । डाइलेक्टिक (वादविवाद – बहस) को अभावमा जनवाद मलिन हुन पुग्यो र वर्ग संघर्ष झन् भुत्ते हुन पुग्यो । यसरी समाजवादका नाममा हुर्किएको राज्य पूंजीवादमा ढल्नुथ्यो , ढल्यो । त्यों शासन पद्धति जनताको पक्षमा नभएकाले जनताले काँध थापेनन् र अवसान भयो । पूंजीवादीहरूले मार्क्सवाद मरेको प्रचार गरे ।

पूर्वी युरोप र सोभियत संघको विघटनपछि पूंजीवादमा एकपछि अर्को संकट देखा परे । सन् १९९७ / ९८ को पूर्वी एसियाली वित्तीय संकट, १९९८ / ९९ को रुस तथा मेक्सिको संकट, सन् २००२ को अर्जेन्टिनी संकट , यी श्रृंखलाबद्ध संकटहरू एक अर्कामा गाँसिदै गाँसिदै आइनै रहेका बेला संयुक्त राज्य अमेरिकाका बैंकहरूले वित्तीय संकट निम्त्याए र त्यसले निम्त्याय संसारव्यापी मन्दी । पूंजीवादी अर्थशास्त्री तथा नीतिनिर्माताहरू एक दशकदेखि छताछुल्ल हुन पुगेको पूंजीवादका अवयवहरू बटुलेर टालटुल गर्नमा व्यस्त छन् , तर समाजवादी अर्थशास्त्रीहरू भनिरहेछन् , (पूंजीवादमा प्रणालीगत संकट सिस्टमिक क्राइसिस ) आइसकेकोले अब प्रणाली नै फेर्नुपर्छ र विकल्प भनेको समाजवाद नै हो । तर समाजवादले पुराना गल्तीहरू दोहोर्याउनुहुन्न ।

अघिल्लै शताब्दीको अन्तिम वर्षहरूमा नवउदारवादी पूंजीवादविरुद्ध कुल्ठूला संघर्षहरू भए । समग्र ल्याटिन अमेरिका समाजवादमय बन्न पुग्यो । बोलिभारान क्रान्तिको आधारमा हयुगो चाभेजले दर्शनिक स्तेभान मेजारोसको भिजनमा आधारित रहेर २१ औं शताब्दीको समाजवादी कार्यक्रमलाई अगाडि सारे । अमेरिकी साम्राज्यवादको नाकैमुनि बोलेभिया , इक्वेडर , अर्जेन्टिना, ब्राजिल उरुग्वेका श्रमजीवी कामदारहरुको जीवनस्तर ठूलो फड्को मार्ने गरी समाजवादी पार्टीहरु निर्वाचनमार्फत सत्तामा पुगे । कोही सफल देखिए कोही असफल । यद्यपि यो पुनर्जागरणले ल्याटिन अमेरिकामा सशक्त विकल्प प्रस्तुत गरेको छ ।

सन् २००७ देखि २०१० को अवधिमा पूर्वी र पश्चिमी यूरोपमा समाजवादको नयाँ जागरण सुरु भएको छ । मार्क्सवादको गम्भीर अध्ययन सुरु भएको छ । पूंजीवादका स्वरूप र बिस्तारका बारेमा लेनिन ( इम्पेरियालिज्म अ हाइअर स्टेज अफ क्यापिटालिज्म ), रोजा लक्जेम्बर्ग ( क्यापिटल एकुमुलैसन थ्यौरी ) , माइकल कोलेस्की ( जेनरल थ्यौरी र थ्यौरी अफ ग्रोथ एन्ड इम्प्ल्वाइमेन्ट ), जुबान रॉबिन्सन (थ्यौरी अफ इम्यर्फेक्ट कम्पिटिसन ), पौल बरान, पौल स्विजी, हारी म्यागडफ ( मोनोपोली क्यापिटालिज्म एन्ड स्ट्यागनेसन ) आदि माथि गम्भीर बहस र छलफल चल्न थालेका कुरा हिजोआज प्रकाशित पुस्तक, जर्नल आर्टिकल तथा अखबारी लेखनहरूमा पाइन थालेकाले पुष्टि हुन्छ ।

ग्रिसेली अर्थशास्त्री कोस्तास लापाभिताससको ‘प्रोफिट विथआउट प्रोड्यूसिङ ‘ नामक किताबले हामीकहाँ चलेको दलाल पूंजीवादको बहसकों झल्को दिन्छ । उनले विस्तारमा त्यसको पछाडिको सैद्धान्तिक जरा केलाएका छन् । डेभिड हार्वे, फ्रेड मोस्ले, माइकल हेनरिचलगायत सयौं समाजशास्त्री, अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरू मार्क्सवादको बिकासमा भिडेर लागिपरेका देखिन्छन् ।

हिजोआज पूँजीवादभित्रै दक्षिणपन्थी लोकप्रियतावाद झाङ्गिरहेको छ । पुरानो उदारवादलाई नवउदारवादले खायो र नवउदारवादलाई दक्षिणपन्थी लोकप्रियताबादले । नवलोकप्रिय राष्ट्रवादीहरू पूंजीवादी भूमण्डलीकरणका विरुद्ध राष्ट्रवादी पूंजीवादको वकालत गरिरहेका छन् । र, त्यसका आडमा नश्लवाद, धर्मवाद, जातिवादलाई आड लिने गरेका छन् । तिनले फैलाउन सक्ने नरहिंसा, अन्याय, अत्याचार आततायी युद्धका विरुद्ध मार्क्सवादमा आधारित राजनीतिक संगठनको निर्माणको विकल्पमा अरू केही देखिएको छैन । यस अर्थमा मार्क्सवाद अहिलेको संकटबाट माथि उठ्ने ठूलो वैचारिक विधि बन्ने सम्भावना प्रवल देखिएको छ ।

मार्क्सवादलाई माथि भनिएझैँ धर्मशास्त्र बनाउने होइन । विधिसंगत ढंगले अध्ययनलाई अगाडि बढाउने हो । मार्क्सले भनेझैँ राष्ट्रभित्र रहेका स्रोतसाधनहरू (जमिन, श्रमशक्ति , उद्योगधन्दा , पूँजी , वित्त) कसरी परिचालित भएका छन् ? कसरी कसले कसका हितमा उपयोग र दोहन गरिरहेका छन् यसको विधिवत् अध्ययन आवश्यक छ । विगतमा ‘डाइलेक्टिक्स’को जसरी हत्या हुन पुग्यो अबका दिनमा त्यसो हुन नदिन पुनर्जीवन कसरी दिने ? बहस छलफललाई कसरी सङ्गठनको जीवन बनाउने ? कसरी वर्गसंघर्षलाई क्रान्तिपछि पनि जीवन्त तुल्याउने ? यसको खोजी हुन जरुरी छ ।

नेपालमा मात्रै होइन, संसारभर , संघर्षको कसरी पहिचान गर्ने ? भन्ने समस्या देखिएको छ । अमेरिका र युरोपमा काला जातिमाथि गरिएको भेदभाव र घृणा , मुस्लिममाथि फैलाइएका द्वेष, नेपाल भारतजस्ता देशमा दलित , जनजातिमाथि गरिएका आर्थिक, सामाजिक साँस्कृतिक , राजनीतिक भेद र अन्य सीमान्तकृत जनसमुदायलाई गरिएका हिजोदेखिका भेदभावलाई कसरी हटाउने ? कस्तो अभियानमार्फत कस्तो आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत ? यी गम्भीर विषय हुन् । गफ र भाषणले मात्र समाजवाद आउँदैन ।

ठोस परिस्थितिको ठोस विश्लेषण, , परिवर्तनका लागि ठोस योजना, योजना कार्यान्वयनका लागि नयाँ क्रियाशील र कामकाजी संस्थाहरूको व्यवस्थापन आवश्यक हुन्छ । नेपालमा वामपन्थीहरुलाई जनताले लहलहैमा लागेर त्यत्तिकै भोट दिएका होइनन्, आमूल परिवर्तनको आसमा दिएका हुन् । यदि उनीहरूलाई यो नाम मात्रका मार्क्सवादी हुन् , यिनले सुधार गर्दैनन् भन्ने लाग्यो भने काँधबाट तल खसालिदिन्छन् जसरी सोभियत सरकारको लास बोक्न कोही सडकमा ओर्लिएनन् ।




थप समाचार


दुई पुस्ताबीचको सम्बन्ध !

दुई पुस्ताबीचको सम्बन्ध !

समाजमा प्रायः नयाँ र पुराना, किशोर-युवा र प्रौढ-बृद्ध, कनिष्ठ र वरिष्ठ वा जेठा र कान्छा अथवा ठुला र साना अर्थात् अघिल्ला र पछिल्ला दुईथरी पिंढी ...

श्राद्धको अर्थ र औचित्यबारे केही कुरा : नारायण शर्मा

श्राद्धको अर्थ र औचित्यबारे केही कुरा  : नारायण शर्मा

"मात्रीदेवो भव: ! पितृदेवो भव: !! ""माता यस्य गृहे नास्ती, भार्या च पृय वादिनिम् !अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!"

सर्वहारा अधिनायकत्व र अभ्यासबारे एक टिप्पणी !

सर्वहारा अधिनायकत्व र अभ्यासबारे एक टिप्पणी !

सर्वहारा अधिनायक्त्वविना कुनै कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी बन्नै सक्तैन किनकि त्यो पार्टीले साम्यवादसम्मको यात्रा तय गर्नै सक्तैन भन्ने मालेमावादको सार रहेको छ ! ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक