वार्ताबारे विप्लव समूहको रणनीति यस्तो ! कुन प्रदेशमा कस्तो प्रभाव ?

2019-09-09

काठमाडौँ - प्रहरीले दुई वर्षयता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आठ सय ४६ नेता/कार्यकर्ता पक्राउ गरेको छ । गत २९ फागुनमा पार्टीमाथि प्रतिवन्ध लगाइएपछि देशभरबाट सात सय ६१ जना पक्राउ परेका छन् । त्यसअघि ८५ नेता/कार्यकर्ता पक्राउ परेका थिए ।

प्रहरीकाअनुसार पक्राउ गरिएकामध्ये सात सय ९२ विरुद्ध मुद्दा चलेको छ । एक सय २४ पुर्पक्षका लागि जेलमा छन् । ६२ माथि अनुसन्धान जारी छ । सबैगरि विप्लवका एक सय ८६ नेता/कार्यकर्ता सरकारको नियन्त्रणमा छन् । बाँकी तारेखमा रिहा भएका छन् ।

सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नौजना नेता–कार्यकर्ताको मृत्यु भइसकेको छ । तीमध्ये तीनजना प्रहरी कारबाहीमा मारिएका हुन् भने ६ जनाले आफैँले बोकेको बम विस्फोटमा ज्यान गुमाएका थिए ।

प्रहरीको गोलीबाट ७ जेठमा भोजपुरमा तीर्थराज घिमिरे, ५ असारमा सर्लाहीमा कुमार पौडेल र २५ असारमा भोजपुरमा नीरकुमार राईको मृत्यु भएको थियो । पौडेल विप्लवका सर्लाही इन्चार्ज हुन् भने भोजपुरमा मारिएका राई ओखलढुंगा इन्चार्ज हुन् । प्रहरीले दोहोरो भिडन्तमा मारिएको भने पनि पक्राउ गरी आफ्ना नेता–कार्यकर्ताको हत्या गरिएको विप्लव समूहले दाबी गरेको छ ।

आफैँले बनाएको टाइम बम विस्फोट भएर १२ जेठमा उपत्यकामा पाँच विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । यस्तै ३ साउनमा कैलालीको धनगढीमा बोकेको बम विस्फोट हुँदा एकजनाको ज्यान गएको थियो । यो पार्टीले राखेको बम विस्फोट हुँदा एनसेल कार्यालय नख्खुमा एकजना सर्वसाधारणको मृत्यु भएको थियो ।

विप्लवको प्रभाव सबैभन्दा धेरै प्रदेश ४ र ५ मा
विप्लव नेकपाले पछिल्लो समय प्रदेश ४ र ५ मा आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ । सरकारले विप्लव समूहमाथि २९ फागुनबाट प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै प्रहरीले सो समूहविरुद्ध चलाएको कारबाही पनि प्रदेश ४ र ५ मै केन्द्रित देखिन्छ ।

प्रहरीको तथ्यांकअनुसार गत ६ महिनामा प्रदेश ४ मा मात्रै विप्लव समूहका एक सय ५५ नेता–कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये एक सय ३३ विरुद्ध मुद्दा दर्ता भएको छ । १४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

२२ जनालाई सोधपुछपछि छाडिएको छ भने एक सय ६ जनालाई तारेखमा छाडिएको छ । बाँकी १३ जना माथि भने अनुसन्धान जारी छ । सोही अवधिमा प्रदेश ५ मा एक सय ४७ पक्राउ परेका छन् । जसमध्ये चारजना सोधपुछपछि छुटे । बाँकी एक सय ४३ विरुद्ध मुद्दा दर्ता भएको छ । तीमध्ये २७ जना पुर्पक्षका लागि जेलमा छन् । १६ जनामाथि अनुसन्धान जारी छ । एक सयजना भने तारेखमा छुटेका छन् ।

प्रदेश ३ र प्रदेश १ मा पनि ठूलै प्रभाव, उपत्यकामा मात्र १३३ पक्राउ
प्रदेश ४ र ५ पछि विप्लव समूहको गतिविधि काठमाडौं उपत्यका र प्रदेश १ मा ज्यादा देखिन्छ । धप्रतिबन्धपछि उपत्यकाबाट मात्रै विप्लवका एक सय ३३ कार्यकर्ता पक्राउ परे । जसमध्ये तीनजनालाई सोधपुछपछि छाडिएको छ । बाँकी एक सय ३० लाई मुद्दा चलाइयो । १४ जना अहिले पुर्पक्षका लागि जेलमा छन् । दुईजनामाथि अनुसन्धान नै बाँकी छ । बाँकी एक सय १४ लाई भने तारेखमा छाडियो ।

यो अवधिमा प्रदेश १ मा एक सय १३ जना समातिए । ६ जनालाई सोधपुछपछि छाडेर एक सय सातजनाविरुद्ध मुद्दा चलाइएको छ । जसमध्ये २५ पुर्पक्षका लागि जेलमा छन् । १६ माथि अनुसन्धान जारी छ । ६६ जना तारेखमा छुटेका छन् ।

कर्णालीमा ८१ र प्रदेश ७ मा ९१ पक्राउ
कर्णालीमा २९ फागुनयता विप्लव समूहका ८१ र प्रदेश ७ मा ९१ जना पक्राउ परेका छन् । जसमध्ये कणालीमा र प्रदेश ७ मा क्रमशः ७२ र ८७ जनामाथि मुद्दा दर्ता गरिएको छ । पुर्पक्षका लागि जेल जाने कर्णालीमा आठ र प्रदेश ७ मा १७ जना छन् । दुवै प्रदेश गरी ६ जनालाई अनुसन्धानमा राखिएको छ । बाँकीलाई भने तारेखमा छाडिएको छ ।

प्रदेश २ र ३ मा कम प्रभाव
प्रहरीको कारबाही तथ्यांक हेर्दा विप्लव समूहको प्रभाव प्रदेश २ र ३ कम देखिन्छ । प्रदेश २ मा पक्राउ परेका ४४ जनामध्ये ४२ विरुद्ध मुद्दा चल्यो । जसमध्ये नौजना कारागारमा छन् । तीनजनामाथि अनुसन्धान जारी छ । बाँकीलाई तारेखमा छाडिएको छ । त्यस्तै, प्रदेश ३ मा पक्राउ परेका ८२ मध्ये ७८ विरुद्ध मुद्दा चल्यो । १० जना कारागारमा छन् । ६ विरुद्ध अनुसन्धान जारी छ । बाँकी तारेखमा छुटेका छन् ।

कर्णाली र सुदूरपश्चिममा भन्दा प्रदेश ४ र ५ मा विप्लवको प्रभाव बढी छ : एसएसपी उमेशराज जोशी, सहप्रवक्ता, नेपाल प्रहरी
प्रहरीको काम आपराधिक गतिविधि नियन्त्रण गर्ने हो । गतिवधि जहाँ धेरै हुन्छ, त्यहाँ प्रहरीको कारबाही बढी हुनु स्वाभाविक हो । उनीहरूविरुद्ध सबैभन्दा धेरै कारबाही प्रदेश ४ र ५ मा भएका छन् । उनीहरूको गतिविधि धेरै भएरै यस्तो गरिएको हो । विप्लव समूहविरुद्धको कारबाही विश्लेषण गर्दा कर्णाली र सुदूरपश्चिमममा भन्दा प्रदेश ४ र ५ मा उनीहरूको प्रभाव बढी देखिन्छ ।

प्रदेश ४ र ५ मा विप्लवको प्रभाव किन बढी ?
सैद्धान्तिक रूपमा आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक र लैंगिक हिसाबले सीमान्त मानिएको कर्णाली र प्रदेश ७ मा विप्लव समूहको प्रभाव बढी हुनुपर्ने हो । तर, प्रदेश ४ र ५ मा यो समूहको गतिवधि बढी छ । अझ त्यसमा पनि सहरी क्षेत्रमा यो समूहको उपस्थिति बाक्लो देखिन्छ । यस्तो किन भयो त ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ विप्लव समूहको प्रभाव विस्तार सामाजिक–आर्थिक कारणले भन्दा पनि राजनीतिक असन्तुष्टिका कारण बढेको बताउँछन् । यसका दुई मुख्य कारणमध्ये एउटा पूर्वमाओवादीमा गएर जोडिने र अर्को सरकारप्रतिको असन्तुष्टिमा गएर टुंगिने उनको धारणा छन् ।

‘एक त पूर्वमाओवादीबाट असन्तुष्ट भएर धेरै लडाकुको बहिर्गमन भए । उनीहरू पुरानै आधारक्षेत्रमा फर्किए । त्यो भनेको प्रदेश ४ र ५ नै हो,’ उनले भने, ‘अर्को सरकारप्रतिको असन्तुष्टि हो । प्रदेश ३ मा विप्लवका गतिविधि बढ्नुको कारण यही हो । यो समूह सोसियो–इकोनोमिक बेसबाट भन्दा पनि राजनीतिक असन्तुष्टिका कारण विद्रोही भएको देखिन्छ ।’
सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि यो तर्कमा सहमत छन् ।

सरकारसँग असन्तुष्ट युवा विप्लवमा लागेका छन् : हेमन्त मल्ल, पूर्वडिआइजी
कम्युनिस्ट विचारधारा भएको पार्टीको बेस विपन्नता नै हो । जहाँ राज्यको पहुँच पुग्दैन । नेपालमा यस्तो क्षेत्र कर्णाली हो । अर्को सुदूरपश्चिम क्षेत्र नै हो । तर, यी क्षेत्रमा विप्लवको गतिवधि कम छन् । तर, सहरमा ज्यादा छन् । यस्तो हुुनुमा दुईवटा कारण देखिन्छ । एउटा पूर्वमाओवादी र अर्को सरकार ।

तत्कालीन माओवादीबाट अयोग्य भएर धेरै लडाकु बाहिरिए । तीमध्ये धेरै प्रदेश ४ र ५ कै थिए । उनीहरू नै अहिले विप्लव समूहमा पुगे । अहिले जति पनि गतिविधि भएका छन् ती उनीहरूबाटै भएका हुन् । अर्को केही फ्रेस युवा पनि यसमा सामेल भएको देखिन्छ । काठमाडौंमा भएको विस्फोटमा मरेकाहरू यसैका उदाहरण हुन् । यीचाहिँ सरकारको कामकारबाहीप्रति असन्तुष्ट भएर लागेका हुन् ।

वार्ताबारे विप्लवको रणनीति
–संसदीय व्यवस्थाको विकल्पमा छलफल गर्ने गरी मात्रै वार्तामा बस्ने ।
–मुद्दा लगाइएका नेता–कार्यकर्तालाई जेल तथा हिरासतबाट मुक्त गरी वार्तालाई उपयोग गर्ने । यसबीचमा शक्ति सञ्चय गर्ने ।
–आफूप्रति सरकारको कामकारबाहीको मूल्यांकन गर्दै आगामी रणनीति तय गर्ने ।

सरकारको रणनीति
–प्रतिबन्धित विप्लव नेतृत्वको पार्टीलाई हिंसाको बाटो छोड्न बाध्य गराउने र संसदीय राजनीतिमा सहभागी गराउने । अन्यथा नियन्त्रणमा लिने ।
–विप्लवका ठूला नेतालाई नेकपामै प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिने ।
– सरकारको काम प्रभावकारी नहुँदा विप्लव समूहले फाइदा लिने हुँदा सत्ताधारी नेकपाले आफ्ना कमजोरी सच्याई विप्लवमाथिको प्रतिबन्ध कायम राख्ने ।

 

नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ