फास्ट ट्र्याक साढे तीन वर्षभित्र सक्ने लक्ष्य, काठमाडौंदेखि निजगढ एक घण्टामै !

2019-08-29
file photo

काठमाडौं - नेपाली सेनाले काठमाडाैं–तराई फास्ट ट्र्याक (दूर्त मार्ग) निर्माण साढे तीन वर्षभित्र सम्पन्न गर्ने जानकारी दिएको छ। सेनाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आमजनताको चासो र राष्ट्रिय गौरवको सो आयोजना साढे तीन वर्षभित्र सक्ने जनाएको हो।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जनताको सेनाप्रतिको भरोसालाई कायम गर्न पनि यो आयोजना समयमै सक्नुपर्ने बताए। ‘जनताको भरोसाप्रति हामी सचेत छौँ, त्यसका लागि पनि आयोजना समयसीमाभित्रै सम्पन्न गर्नुपर्ने बाध्यता छ,’ उनले भने। यो जनताको विश्वास जित्ने अवसर पनि भएको उनको भनाइ थियो।

कोरियन परामर्शदाता सुसङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ आयोजनाले डिपिआर तयार पारेर बुझाए पनि सरकारले लामो समयसम्म स्वीकृत नगरेपछि बीचमा काम अलमलिएको थियो। सरकारले हालै आयोजनाको डिपिआर स्वीकृत गरेपछि सेनाले बाँकी काम अघि बढाउने तयारी गरेको छ।

सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा दिने निर्णय गरेसँगै सेनाले एसियाली विकास बैंक (एडिबी) को सम्भाव्यता अध्ययनका आधारमा दू्रतमार्ग निर्माणको काम अघि बढाइसकेको छ। हालसम्म सेनाले निर्माण सुपरीवेक्षण क्याम्प ल्याव भवन निर्माण, बेलिवृज निर्माण गर्नेलगायतका काम सत प्रतिशत पूरा भएको जनाएको छ भने रूख कटान, जग्गा अधिग्रहण, अर्थवर्क कटिङ र फिलिङको काम पनि भइरहेको जनाएको छ।

एसियन राजमार्गस्तरको ७२.५ किलोमिटर लामो द्रूत मार्ग निर्माणका लागि सेनाले कुल एक खर्ब ७५ अर्ब रुपैयाँ लागत लाग्ने जनाएको छ। यो रकम आयोजना निर्माण गर्ने सहमति हुँदाको भन्दा झण्डै अर्ब बढी हो। सेनालाई उक्त आयोजना हस्तान्तरण गर्ने बेला आयोजनाको लागत एक खर्ब १२ अर्ब हुने अनुमान गरिएको थियो। सेनाले तत्कालीन अवस्था र अहिलेको अवस्थामा लागत बढी हुनुलाई स्वाभाविक भनेको छ।

डिपिआरअन्तर्गत फास्ट ट्र्याकको प्रस्तान बिन्दु खोकना राखिएको छ। चार लेनको उक्त सडकको अन्तिम बिन्दु निजगढ हुनेछ। उक्त आयोजनामा कुल ८७ वटा पुल रहने सेनाले जनाएको छ। त्यसमध्ये १६ वटा विशेष प्रकृतिका पुल हुनेछन्। पुलको कुल लम्बाइ साढे १० किलोमिटर हुनेछ। आयोजनामा झण्डै साढे ६ किलोमिटरका तीनवटा सुरुङ राखिने जनाइएको छ। आयोजनाको महादेवडाँडा, धेन्द्रे र लेनडाँडामा सुरुङ राखिने विस्तृत परियोजना रिपोर्ट (डिपिआर) मा उल्लेख गरिएको छ। सुरुङ निर्माणबाट आयोजनाको दूरी कम हुने सेनाले जनाएको छ। सुरुमा आयोजनाको दूरी ७६ दशमलव २ किलोमिटर रहेकोमा घटेर ७२ दशमलव ५ किलोमिटर तय भएको हो।

आयोजना सम्पन्न भएसँगै काठमाडौंदेखि निजगढ एक घण्टा दुई मिनेटमा पुग्न सकिनेछ। आयोजना निर्माण भएसँगै काठमाडौंदेखि तराईको यात्रा समय ७ घण्टा छोटिनेछ भने इन्धन खपत र ढुवानी खर्च उल्लेख्य घट्ने जनाइएको छ।
सरकारले २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद्को निणर्य अनुसार २०७४ साउन २७ गते उक्त आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। विसं. २०४९ सालबाट डेनिस सहयोग नियोग डानिडाको सम्भाव्यता अध्ययनबाट सुरु भएको आयोजना निर्माण प्रक्रिया २०७० मा सेनाले पाइलट ट्र्याक खोलेपछि औपचारिक रूपमा सुरु भएको थियो।

यसअघि फास्ट ट्र्याकको डिपिआर भारतीय कम्पनी आइएल एन्ड एफएसले तयार पारे पनि सेनाले आयोजना निर्माणको जिम्मेवारी पाएपछि सो डिपीआर महँगो भएको भन्दै आफैंले निर्माण गर्ने निर्णय गरेको थियो। सेनाले १० करोडको लागतमा कोरियन कम्पनीमार्फत नयाँ डिपिआर तयार पारेको हो।

 

नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ