‘गलफ्रेन्ड’ भेट्न पुडासैनीको टोखामा छुट्टै कोठा

2019-08-25
पत्रकार शालिकराम पुडासैनीले गलफ्रेन्डलाई भेट्न कोठा भाडामा लिएको टोखा नगरपालिका¬– ११ स्थित घर

काठमाडौं - चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए।

‘प्रहरीले खबर गरेपछि गएका हौं,’ अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ।’ प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताए। ‘अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,’ सुवेदीले भने, ‘अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो।’

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारमा कोठा लिएको खुलेको छ।
पुडासैनी मृत्युको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। गत बिहीबार प्रहरीले उक्त कोठा खोलेर केही सामान बरामद गरेको हो। पुडासैनीले गत फागुनदेखि उक्त घरमा कोठा भाडामा लिएको घरधनी न्यौपानेले बताइन्। पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए। ‘शनिबारको दिन दिउँसोमा एकजना केटी लिएर एकदुई हप्तामा आउनुहुन्थ्यो,’ नौपानेले शनिबार नागरिकसँग भनिन्, ‘केटी को हो भन्ने थाहा भएन।’ पुडासैनीले भाडा लिएको कोठा घरको भुइँतलामा छ। कोठाभित्र पसेर निस्केको पनि उपल्लो तलामा बस्ने घरधनीले धेरै थाहा पाउँदैनन्।

पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए। पछि घरधनीले पत्रकार भएको थाहा पाएका थिए। कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन्। ‘कोठा खोज्न आउँदा एकजना केटी साथी थिई,’ न्यौपानेले भनिन्, ‘को हो, सोधिएन।’ कोठा खाली भएकाले भाडामा दिएको उनले बताइन्। पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ। उनले प्रतिमहिना चार हजार रुपैयाँ तिर्दै आएका थिए। गलफ्रेन्ड भेट्न भाडामा कोठा लिएको विषय प्रहरीले बाहिर ल्याएको छैन।

पुडासैनीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगा घर भई काठमाडौंमा बस्ने अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको आरोप लगाउँदै गरेको भिडियो रेकर्ड उनको मृत्युपछि सार्वजनिक भएको थियो। लामिछाने, कँडेल र कार्की अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन्। मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ परिच्छेद १२ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पत्रकार पुडासैनीको मृत्यु, लामिछाने र कँडेल पक्राउ परेको विषयलाई लिएर अहिले सडकदेखि सदनसम्म बहस भइरहेको छ। लामिछानेका समर्थकले उनलाई फसाउन लागेको भनेर सडक आन्दोलनमा छन्। उता प्रहरी हिरासतमा रहेका लामिछानेले आफू असुरक्षित रहेको पत्रकार टेकनारायण भट्टराईसँगको भेटमा बताएको अडियो रेकर्ड सार्वजनिक भएको छ। प्रहरीले पुडासैनी र अस्मिताबीच भएका फेसबुक तथा एसएमएस संवाद पनि अध्ययन गरिरहेको छ।

घटनाको अनुसन्धान भइरहेको बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि चितवन पुगेर भेटघाट गरेका छन्। लामिछानेले आफू असुरक्षित भएको बताएको सार्वजनिक भएपछि खनालले भेटेका हुन्।

केटी लिएर आउँथे
गोमा न्यौपाने, टोखानगरपालिका¬–११ (शालिराम पुडासैनीकी घरबेटी )

पत्रकार शालिकराम पुडासैनीले यहाँको घरमा कोठा लिनुभएको थियो ?
हो, हाम्रो घरमा कोठा भाडामा लिनुभएको थियो। बेलाबेलामा आउनेजाने गर्नुहुन्थ्यो।

कहिलेदेखि भाडामा लिनुभएको हो ?
गत फागुनदेखि।

कोठा खोज्न एक्लै आउनुभएको थियो ?
कोठा खोज्न आउँदा एकजना केटी साथी थिई। को हो, सोधिएन। कोठा चाहियो भन्नुभयो। कोठा खाली थियो। भाडामा दिनुपर्ने थियो, दियौं। नियमित बस्नुहुन्थेन।

पुडासैनी कहिलेकहिले आउनुहुन्थ्यो ?
कहिले हप्ता, कहिले दुई हप्तामा देख्थें। प्राय शनिबार दिउँसो आउनुहुन्थ्यो। एकजना केटी लिएर आउनुहुन्थ्यो।

त्यो केटी को हो भन्नुहुन्थ्यो ?
कोठा लिएर बसेपछि को हो भनेर सोध्ने कुरा भएन। अरुको व्यक्तिगत कुरामा मैले सोधिनँ।

घटना कसरी थाहा पाउनुभयो ?
छोरीले हस्पिटलमा फेसबुक चलाउँदा शालिकरामले आत्महत्या गरेको खबर देखिछन्। फोटो पनि उस्तै छ, हाम्रैमा बस्ने पत्रकार हो क्यारे भनिन्। मोबाइलमा पटकपटक फोन गर्दा स्विच अफ रैछ। त्यसपछि सोधीखोजी गर्दा मृत्यु भएको भन्ने थाहा भयो।

प्रहरीलाई कहिले खबर गर्नुभयो ?
मैले खबर गर्छु भनेको छिमेकीले किरिया गरेर सकेपछि खबर गरुँला भन्नुभयो। १३ दिनको किरिया सकिएपछि खबर ग-यौं।

प्रहरी कहिले आयो ?
गत बिहीबार प्रहरी आएर कोठा खोल्यो।

कोठामा के भेटियो, प्रहरीले के बरामद ग-यो ?
केटी साथी र शालिकरामको एउटा फोटो थियो। एउटा लो बेड। पानीको जार। कागजातहरु पनि थिए। प्रहरीले फोटो र कागजात लग्यो।

त्यसो भए अहिले प्रहरीले कोठा खाली गरिदियो ?
फोटो र कागजात लगे पनि लोबेडलगायतका सामान छन्। भाडा दिनुभएको छैन।

कति महिना भयो भाडा नदिएको ?
दुई महिनादेखि भाडा तिर्नुभएको थिएन।

 

नागरिक




थप समाचार


वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र ...

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

काठमाडौं। एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्‍वान भएको बोलपत्र रद्द भएको छ। प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास भएका कम्पनीले ६० प्रतिशतभन्दा बढीसम्मको आवेदन पेस गरेपछि ठेक्का ...

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी ...




ट्रेन्डिङ