नेपाली नेताको द्वैध चरित्र जयशंकरका अगाडि काम लाग्दैन : अमरेशकुमार

2019-08-11

जयशंकरले भारतको नेपाल नीतिमा के परिवर्तन ल्याउलान् ?
जयशंकर विदेश नीतिमा अत्यन्त कुशल ब्युरोक्र्याट हुन् । नेताहरूसँग जस्तो नरम दृष्टिकोण उनीसँग छैन । जे गरे पनि छुट हुने विगतको नीति अब भारतले अपनाउँछ जस्तो मलाई लाग्दैन । किनभने, उनी ‘एसर्टिभ’ छन् । क्रिस्टल क्लियर पोलिसी लागू गर्न खोज्छन् । निर्णय क्षमता पनि बढी छ । राजनीतिकर्मीहरू केही दुर्गुणलाई बेवास्ता गरिदिन्छन् । जति गाली गरे पनि नेताहरू सहन्छन् । चुप लागेर सुनिदिन्छन् । तर, त्यसरी कुनै ब्युरोक्र्याट वा आर्मी अफिसरलाई गाली गरेर हेरौँ त ! उनीहरू सहँदैनन् । जयशंकरको हकमा पनि त्यही हुनेछ ।

नेपालको सरकार र नेताहरूले द्वैध चरित्र अपनाउँदै आएका छन् । त्यो जयशंकरको पालामा सफल हुँदैन । पहिले नेपाली नेताले आफ्नो राजनीतिक दुनो सोझ्याउन भारतलाई गाली गर्ने गर्थे । बन्द कोठामा म तपाईंकै हो, नातागोता, संस्कृति एउटै हो भन्ने, म त भारतमै पढेको भन्ने, तर बाहिरचाहिँ जनमत बनाउन राष्ट्रियताको नारा दिएर भारतलाई गाली गर्ने हुन्थ्यो । अब यो द्वैध चरित्र जयशंकर विदेशमन्त्री भएको वेलामा चल्दैन । उनले सहँदैनन् ।

नीतिचाहिँ कस्तो बनाउलान् त ?
अहिले नै भन्न हतार हुन्छ । सुरक्षा निकाय, विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयको इनपुटबाट विदेश नीति बन्ने हो । यसबारे उनीहरू के छलफल गरिरहेका छन्, त्यो केही महिनापछि मात्रै स्पष्ट हुन्छ ।

अघिल्लोपटक संविधान घोषणा हुनुअघि विदेशमन्त्रीका रूपमा नेपाल आएका जयशंकर असफल हुनुपर्‍यो । भारतले माइक्रो म्यानेज गर्न खोज्दा उसको छिमेक नीति जहिले पनि समस्यामा पर्दै आएको छ नि ?

जुनसुकै शक्तिसम्पन्न राष्ट्रले आफ्ना वरिपरिका राष्ट्रमा माइक्रो म्यानेजमेन्ट गर्न खोज्छ । हामी भारतको छेउमा छौँ, र यो समस्या देखिरहेका छौँ । तर, यसवेला भारतले भन्दा बढी चीनले नेपालमा माइक्रो म्यानेजमेन्ट गरिरहेको छ । हरेक पार्टीको आन्तरिक राजनीतिमा चीनले चलखेल गरिरहेको छ । किन हरेक दिन नेपालका राजनीतिक दलका नेता कार्यकर्ता, पत्रकारलाई चीनले घुमाउन लैजान्छ ? नेकपाका नेताहरू प्रशिक्षण लिँनै जान्छन् । प्रशिक्षणमा किन लैजान्छ ?

तर, कुनै पनि मुद्दामा चीन निर्णायक बनेको भन्ने किन सुनिँदैन त ? हरेक मुद्दामा भारत निर्णायक बनिरहेको छ ।

त्यसको कारण के हो भने भूगोल परिवर्तन गर्न सकिन्न । रातारात व्यापार सम्बन्ध परिवर्तन गर्न सकिन्न । सांस्कृतिक कारणले भारतमा नेपाली जनताको जुन निर्भरता छ, त्यसलाई तत्काल कम गर्न सकिन्न । जति गाली गरे पनि श्राद्ध गर्न त वनारस र गया नै जाने हो, जति मन नपरे पनि उपचार गराउन मेदान्त र एपोलो नै जाने हो । चारधामका लागि केदारनाथ र बद्रीनाथ नै जाने हो । नुनतेलदेखि हर्लिक्ससम्म भारतीय नै खाने हो । यो निर्भरता, व्यापार बदल्न सकिन्न । टुटेफुटेको भए पनि हिन्दी सबैले जान्दछन्, तर चिनियाँ भाषा त नेपालीले एक शब्द पनि बुझ्दैनन् नि । यी यथार्थ हुन् हामी यसलाई बदल्न सक्दैनौँ ।

पछिल्लो समय नेपालको विदेश नीतिमा चीनको बिआरआई र अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीबीच प्रतिस्पर्धा देखिएको छ । यसको असर कस्तो पर्ला ?
यो सरकारले नेपाललाई भारत, चीन र अमेरिकाको द्वन्द्वको अखडा बनाइदिएको छ । हाम्रोजस्तो कमजोर मुलुकले यो धान्न सक्दैन । द्विपक्षीय कुरा गर्ने, आर्थिक हिसाबले कूटनीति सञ्चालन गर्ने, कसैको विरुद्ध पनि नेपालको भूमि प्रयोग हुन नदिने भनेर आश्वस्त पार्नुपर्छ । तर, आजको दिनमा न उत्तरी छिमेकी हामीबाट आश्वस्त हुन सकेको छ, न दक्षिणको । दुवै विश्वका ठूला देश हुन् । उनीहरूको सुरक्षामा शंका पैदा गरेर नेपाल स्थिर रहन सक्छ जस्तो मलाई लाग्दैन । इन्डो प्यासिफिक र बिआरआई दुवै एकअर्काका विपरीत रणनीतिक परियोजना हुन् । हामी यी दुवै सामरिक रणनीतिमा प्रवेश गर्नु हुन्थेन । न बिआरआईको हिस्सा बन्न जरुरी थियो, न इन्डो प्यासिफिकको । ठीक छ, चीनसँग द्विपक्षीय वार्ता गरेर आर्थिक परियोजना अघि बढाउन सकिन्थ्यो । त्यसका लागि बिआरआईमा पसेँ भनिरहन जरुरी थिएन । यो दुइटैमा लागेर यो सरकार आफैँ फसिसकेको छ । अहिले चीनलाई लाग्छ, नेपाल इन्डो प्यासिफिकमा पसिसक्यो । अमेरिकालाई लाग्छ, नेपाल त चीनको भइसक्यो । दुवैको अविश्वासको खाडलमा सरकार पर्‍यो । यी दुई परियोजनाका कारण नेपालको आन्तरिक राजनीति स्थिर रहँदैन ।

अब भारतले नेपाल नीति तयार गर्दा इन्डो प्यासिफिक रणनीतिअनुसार गर्ला कि त्यसभन्दा अलग रहेर नीति बनाउला ?
भारतले अहिलेसम्म आफ्नो पोजिसन स्पष्ट पारेको छैन । भाजपाको दोस्रो कार्यकालका लागि भर्खर सरकार गठन भएको छ । अहिलेको सरकार अझ बढी म्यान्डेट लिएर अझ बढी आत्मविश्वासका साथ आएको छ । सरकारले महत्वपूर्ण पदमा नियुक्ति गरिरहेको छ । विदेशमन्त्री जयशंकर बनेका छन् । त्यसैले, भारतले नेपाललाई आफ्नै रणनीतिअनुरूप हेर्छ कि इन्डो प्यासिफिकअन्तर्गत राखेर हेर्छ भन्ने केही समयपछि मात्रै स्पष्ट हुन्छ । तर, मलाई के लाग्छ भने, हिजोको नीति अब रहँदैन ।

हाम्रा राजदूत नीलाम्बर आचार्यले विदेशमन्त्रीसँग भेट्न कैयौँ साता पर्खिनुपरेको, तरकारीमा विषादीबारे दूतावासको पत्र आएकोजस्ता प्रकरणबाट जयशंकर आएपछि उनले नेपालप्रतिको नीतिमा कडापन झल्किन थालेको हो ?

भारत अब पहिलेजस्तो छैन । पहिलेजस्ता विदेशमन्त्री छैनन् । त्यसैले, नेपाली नेताहरूको पहिलेको व्यवहार अब सफल हुँदैन । जयशंकरले पहिलो दिनको ब्रिफिङमै मन्त्रालयमा भनिसकेका छन्, जे हुँदै आएको थियो, अब त्यो हुँदैन । त्यो भनेको के हो हेर्न बाँकी छ ।

त्यसोभए नेपाल–भारत सम्बन्ध थप अप्ठ्यारोमा पर्ने हो ?
नेपालको परराष्ट्रनीतिमा डबल स्ट्यान्डर्ड छ । मुखले भन्ने एउटा, गर्ने अर्को । महेन्द्रको पालादेखि नै नेपालको हितलाई होइन, भारतको विरोधलाई राष्ट्रवादका रूपमा अथ्र्याउने चलन छ । अहिले पनि त्यसैको निरन्तरता छ । हामी आन्तरिक राजनीतिमा सफल हुनलाई परराष्ट्र नीतिलाई उपयोग गर्छौँ । सरकारमा हुँदा र हटेपछि अर्कै बोली, बाहिर अर्कै बोली, भित्र अर्कै बोली छ । यो समाप्त हुनुपर्छ ।

यहाँका कुनै पनि राजनीतिक नेता र दलले परराष्ट्र मामिलामा परिपक्वता देखाउन सकेनन् । नेपालीको हितमा के छ भन्ने नै सरकारले पहिचान गर्न सकेको छैन । हामीले गर्ने आर्थिक कूटनीति हो । विकास हो । पहिले शक्तिसम्पन्न बन्नुछ । नेपालको आर्थिक दृष्टिकोणमा पनि द्विविधा छ । सरकारमा हुँदा विदेशीको दलाल, बाहिर जानेबित्तिकै क्रान्तिकारी । यसबाट बाहिर निस्किनु आवश्यक छ । जुनसुकै नेता र दल भए पनि परराष्ट्र मामिलाबारे एउटा लक्ष्मणरेखा तयार गर्न जरुरी छ । त्यो नाघ्न मिल्दैन । मन नपर्दैमा जे पनि बोल्ने छुट छ, त्यसको अन्त्य हुनुपर्छ । त्यसोभए सबैसँग सम्बन्ध राम्रो बन्छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ