जुम्लामा स्थानीयले वडाध्यक्ष कुटे, प्रहरीलाई समेत गाउँबाट लखेटे

2019-07-19

जुम्ला - जडीबुटी चोरी निकासीे आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् । उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् ।

बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार वडाध्यक्ष रावतमाथि कुटपिट गरेका हुन् । स्थानीयवासीले हातपात गर्दै कमिजसमेत च्यातिदिएको वडाध्यक्षले गुनासो गरेका छन् ।

स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ ।

जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा छ । स्थानीय कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे ।
आक्रोसित वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका छन् ।

डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताए । सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातपातसमेतको प्रयास भएको इञ्चार्ज थापाले बताए ।

वडाध्यक्षमाथिको हातपात घटनाका विषयमा मौखिक रूपमा जानकारी भएको प्रहरी निरीक्षक नवीन वलीले बताए । उनले भने, ‘जाहेरी आएपछि सोहीअनुसार कानूनी प्रक्रियाअनुसार काम हुने उनको भनाइ छ । गाउँमा विवाद भएको समयमा नआउने प्रहरी वडाध्यक्षले बोलाउँदा गाउँ आएपछि लखेटेको स्थानीयको भनाइ छ ।

वडाध्यक्ष रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताए । उनले स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेको गुनासो गरे । हातपात गरी दुव्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए ।

बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको उनको भनाइ छ । वडाध्यक्ष रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताए । ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्तापित हुनुपरेको बताए ।

जुम्लाका एक नगरपालिका सात गाउँपालिकामा २०० सामुदायिक वन छन् । सामुदायिक वन उपभोक्ता समितिले सुशासनभन्दा कुशासनलाई बढी प्रश्रय दिएका कारण बेला–बेलामा यस्ता प्रकारका घटना हुने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईंले बताए । रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ