विश्वकपको क्रिकेटमा नयाँ च्याम्पियनको प्रतीक्षा

2019-07-13

लन्डन - विश्वकपको क्रिकेटको १२औं संस्करण उत्तरार्धमा पुगेको छ । फाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागिसकेको छ । लिग चरणसम्म अधिकांश क्रिकेट विश्लेषकको अनुमान अनुरूप नै अगाडि बढेको जारी विश्वकपको सेमिफाइनल खेल भने अप्रत्याशित बन्न पुग्यो । विश्वकप सुरु हुनुअघि अधिकांशले भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र आयोजक इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने अनुमान गरेका थिए । भयो पनि त्यस्तै ।

लिग चरणमा भारत पहिलो, अस्ट्रेलिया दोस्रो, इङ्ल्यान्ड तेस्रो र न्युजिल्यान्ड चौथो हुँदै सेमिफाइनलमा पुगे । तर, सेमिफाइनलको नतिजा भने धेरैका लागि अप्रत्याशित बन्न पुग्यो । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो र दोस्रो बनेका दुवै टोली सेमिफाइनलमा पराजित भए । तेस्रो र चौथो भएका टोली भने फाइनलमा पुगे । सेमिफाइनलमा न्युजिल्यान्डले बलियो भारतलाई १८ रनले हरायो भने इङ्ल्यान्डले साविक विजेता अस्ट्रेलियालाई आठ विकेटले पाखा लगायो ।

लिग चरणमा भारत एक खेलमा मात्र पराजित भएको थियो भने अस्ट्रेलियाले दुई खेल हारेको थियो । इङ्ल्यान्ड र न्युजिल्यान्डले भने तीन÷तीन खेलमा पराजय भोगेका थिए । सन् १९७५ देखि सुरु भएको विश्वकपको ११ वटा संस्करण सम्पन्न हुँदासम्म पाँचवटा राष्ट्रले मात्र उपाधि जित्न सकेका छन् ।

अस्ट्रेलियाले हालसम्म पाँचपटक विश्वकप जितेको छ भने वेस्ट इन्डिज र भारतले दुई÷दुई पटक उपाधि चुमेका छन् । यसका अतिरिक्त पाकिस्तान र श्रीलंकाले एक÷एक पटक उपाधि हात पारेका छन् । पहिलो विश्वकपदेखि नै सहभागी हुँदै आए पनि इङ्ल्यान्ड र न्युजिल्यान्डले भने हालसम्म उपाधि जित्न सकेका छैनन् । सन् १९९२ देखि विश्वकप खेल्न थालेको दक्षिण अफ्रिकाले पनि हालसम्म उपाधि जित्न सकेको छैन ।

सन् १९९९ देखि सन् २०१५ सम्म पाँचवटा विश्वकप भए । ती पाँचमध्ये चारवटा उपाधि अस्ट्रेलिया र एउटा भारतले जित्यो । त्यसैले पनि पछिल्ला हरेक विश्वकपमा क्रिकेटप्रेमीहरू नयाँ विजेताको खोजीमा थिए । विश्वकपको १२औं संस्करणले भने क्रिकेटप्रेमीको त्यो चाहना पूरा गर्ने पक्का भएको छ । इङ्ल्यान्ड र न्युजिल्यान्डमध्ये जसले उपाधि जिते पनि विश्वकपले नयाँ विजेता पाउनेछ ।

पाँचौं पटक विश्वकपको आयोजना गरिरहेको इङ्ल्यान्ड यसअघि तीन पटक फाइनलमा पुगेको थियो । सन् १९७९ को विश्वकपमा इङ्ल्यान्डलाई वेस्ट इन्डिजले हराएको थियो भने सन् १९८७ को फाइनलमा इङ्लिस टोली अस्ट्रेलियासँग पराजित भएको थियो । त्यसलगत्तै सन् १९९२ को विश्वकपमा इङ्ल्यान्डलाई पाकिस्तानले हराएको थियो ।

यसैगरी दुई पटक विश्वकपको सफल आयोजना गरिसकेको न्युजिल्यान्ड भने दोस्रो पटक फाइनलमा पुगेको हो । सन् २०१५ को विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई सहआयोजक अस्ट्रेलियाले सात विकेटले पराजित गरेको थियो । यसपटक न्युजिल्यान्ड र इङ्ल्यान्ड दुवैको प्रदर्शन उत्कृष्ट देखिएको छ । दुवै टोलीको ब्याटिङ र बलिङ लयमा छ ।

इङ्ल्यान्डका जोय रुट कुल पाँच सय ४९ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । उनले दुई शतक र तीन अर्धशतक प्रहार गरिसकेका छन् । अर्का ब्याट्सम्यान जोनी बेयरस्टले पनि चार सय ९६ रन बनाएका छन् । उनले दुई शतक र दुई अर्धशतक प्रहार गरेका छन् । जासन रोयले ६ पालीमा एक शतक र चार अर्धशतकको मद्दतले चार सय २६ रन बनाएका छन् । बेन स्टोक्सले पनि चार अर्धशतकको मद्दतले तीन सय ८१ रन बनाएका छन् । बलिङतर्फ इङ्ल्यान्डका जोफरा आर्चरले १९, मार्क उडले १७ र क्रिस वाक्सले १३ विकेट लिइसकेका छन् ।

यसैगरी न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आठ पालीमा पाँच सय ४८ रन बनाइसकेका छन् । उनले दुई शतक र दुई अर्धशतक प्रहार गरेका छन् । अनुभवी खेलाडी रोस टेलरले पनि आठ पालीमा तीन अर्धशतकको मद्दतले तीन सय ३५ रन बनाएका छन् । बलिङतर्फ न्युजिल्यान्डका लोकी फर्गुसनले आठ पालीमा १८ विकेट लिइसकेका छन् । ट्रेन्ट बल्टले पनि नौ पालीमा १७ विकेट हात पारेका छन् । म्याट हेनरीले पनि आठ पालीमा १३ विकेट लिएका छन् । यही विश्वकपको लिग चरणमा यी दुई टोलीबीच खेलिएको खेलमा भने इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय १९ रनले हराएको थियो ।

फाइनल खेल

० इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्ड

लर्डस (आइतबार दिउँसो ३ः१५ बजे)




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ