महिला विश्वकप फुटबलको उपाधि अमेरिकालाई

2019-07-08

काठमाडौं- युरोपेली च्याम्पियन नेदरल्यान्डलाई पराजित गर्दै अमेरिकाले चौथो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ। दोस्रो हाफमा ८ मिनेटको अन्तरमा गरेका २ गोलको मद्दतले अमेरिका च्याम्पियन बनको हो।

पहिलो हाफको खेलमा कडा टक्कर दिएको नेदरल्यान्डले गोलरहित बराबरीको अवस्थालाई दोस्रो हाफमा कायम राख्न नसक्दा गोल खान पुगेको थियो।

दोस्रो हाफमा नेदरल्यान्डकी डिफेन्डर स्टेफनी भान डेर ग्राग्टले अमेरिकी फरवार्ड एलेक्स मोर्गनलाई डिबक्स एरियाभित्र लडाएपछि अमेरिकाले पेनाल्टी प्राप्त गर्‍यो। भिडियो एसिसटेन्ट रेफ्री (भिएआर)को सहयोगमा प्राप्त पेनाल्टीलाई मेगान रापिनोले गोलको दिशा दिएकी थिइन्।
प्रतियोगितामा मेगानको यो छैटौं गोल थियो। उनले सर्वाधिक गोलकर्ताको रुपमा गोल्डन बुट तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा गोल्डन बलसमेत प्राप्त गरिन्।

पहिलो गोल गरेको ८ मिनेटपछि नै अमेरिका दोहोरो अग्रता लिन सफल भयो। अमेरिकाका लागि रोस लाभेलीले करिब ३० यार्डको दूरीबाट प्रहार गरेको बलले पोष्टको दिशा लिएको थियो।

जितसँगै अमेरिकाले किर्तिमानी चौथो पटक विश्वकपको उपाधि हात पार्‍यो।

के-के बने रेकर्ड?

आसन्न विश्वकपमा अमेरिकाले कूल २६ गोल गर्‍यो। यो कुनै पनि टिमले एकै विश्वकपमा गरेको सबैभन्दा धेरै गोल संख्या हो।

अमेरिकी फरवार्ड मेगान लगातार ३ विश्वकपको फाइनल खेल्ने खेलाडी बनिन्। उनले सन् २०११, २०१५ र २०१९ को विश्वकपमा अमेरिकी टोलीको सदस्यका रुपमा सहभागिता जनाएकी थिइन्। यसअघि जर्मनीकी बिर्गिट प्रिन्जले सन् १९९५, २००३ र २००७ मा लगातार ३ पटक विश्वकपको फाइनल खेलेकी थिइन्।

मेगान महिला विश्वकपको फाइनलमा पेनाल्टी गोल गर्ने पहिलो खेलाडी बनिन्। उनी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा बढी उमेर (३४ वर्ष)की खेलाडी समेत बनेकी छिन्।

विश्वकपअन्तर्गत अमेरिका पछिल्ला १२ खेलमा अपराजित रहँदै आएको छ। अमेरिकाले पुरुष तथा महिला दुवै विश्वकपको इतिहासमा सबैभन्दा धेरै खेलमा अपराजित रहने किर्तिमान कायम गरेको छ।

नेदरल्यान्डकी गोलकिपर सारी भान भिनेनडालले यो विश्वकपमा विपक्षीका कूल ८ प्रहारलाई रोकेकी थिइन्। जुन यो विश्वकपको नकआउट चरणमा कुनै पनि गोलकिपरबाट भएको सबैभन्दा बढी बचाउ हो।

सन् २०१७ को जुलाईमा अष्ट्रेलियासँगको हारपछि अमेरिकाले सबै प्रतियोगिता गरी ४५ खेलमा गोल गरेको छ। १२ खेलमा कम्तीमा २ गोल गरेको उसले कूल १ सय ४८ गोल गर्न सफल भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ