एकताको १४ महिनापछि टुंगियो नेकपाको राजनीतिक प्रतिवेदन, आज प्रेसमा पठाइँदै !

2019-07-08

काठमाडौं - सत्तारुढ दल नेकपाले पार्टी एकताको १४ महिनापछि राजनीतिक प्रतिवेदन टुंगो लगाएको छ। यसलाई सोमबार छाप्न पठाइँदै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आइतबार प्रतिवेदनलाई अन्तिम रूप दिएका हुन्।

यो अवधिमा पार्टी विधान र नियमावली प्रकाशनमा आएका थिए। प्रतिवेदन नछापिँदा एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, इतिहासको मूल्यांकन, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयमा मतभेद बढेको थियो। अध्यक्षहरूबीच भएका पछिल्ला छलफलले दुवै पक्षमा आशंका चिरेको छ। समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम, तत्कालीन एमालेको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न खेलेको भूमिका तथा तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित ‘जनयुद्ध’ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना–जागरण ल्याउन र संगठित बनाउन खेलेको भूमिकाबारे प्रतिवेदनमा उल्लेख छ।

पार्टीको कार्यदिशा र तत्कालीन माओवादी युद्धको योगदानबारे दुई अध्यक्षबीच अस्पष्टता देखिएको थियो। अब दस्तावेजले अन्तिम रूप लिएको र सोमबार प्रकाशनमा जाने अध्यक्ष दाहालले पुष्टि गरे। पार्टीनिकट दूरसञ्चार प्राधिकरण कर्मचारी संगठनको भक्तपुरमा सुरु एकता सम्मेलन उद्घाटन कार्यक्रममा उनले पार्टी एकताका क्रममा एउटा ठूलो काम ओलीसँग बसेर टुंगो लगाएको बताए। ‘म एउटा खुसीको खबर सुनाउन सक्ने भएर आएको छु। प्रधानमन्त्रीसँग आज बिहान (आइतबार) मात्रै राजनीतिक प्रतिवेदनको टुंगो लगाएका छौं। त्यो सोमबार) प्रकाशनमा जाँदै छ’, उनले भने, ‘पार्टी एकताका सन्दर्भमा ठूलो काम हामीले आज पूरा गरेका छौं।’

अब प्रतिवेदनको अन्योल हटेको उनले सुनाए। ‘राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति, विधि यो सबै के हो ? कुन आधिकारिक हो ? कुन नेताले बोलेको पार्टीको लाइन हो ? कुन नेताले भनेको पार्टीको लाइन होइन ? यस्तो अन्योल पनि देखिएको थियो’, उनले भने, ‘त्यसलाई अन्त्य गर्ने निर्णय गरेका छौं। त्यो प्रकाशन भएर तपाईंहरू सबैको हातमा आइसकेपछि अनुसन्धान गर्न सक्नुहुन्छ। के पार्टी रहेछ, के होइन रहेछ भन्‍ने थाहा हुनेछ।’

के छ प्रतिवेदनमा ?

नेकपाले पार्टीको राजनीतिक कार्यक्रम जनताको जनवाद हुने राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको छ। तर, उक्त कार्यक्रमको चरित्र जनताको बहुदलीय जनवादमा उल्लिखित विशेषतामा आधारित हुने गरी तय गरिएको छ। जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था र त्यसमा आधारित समाजवादप्रति प्रतिबद्ध रहने, विश्वव्यापी रूपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषय, मानवअधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलगायत विषयमा आधारित रहने गरी जनताको जनवादको कार्यक्रमलाई अथ्र्याउने प्रयत्न प्रतिवेदनमा गरिएको छ।

‘सारतत्व एवं चरित्रको हिसाबले पनि नेपाली पुँजीवादी जनवादी क्रान्ति मौलिक छ। कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको नेतृत्वदायी भूमिकामा सम्पन्न भएकाले नेपाली पुँजीवादी जनवादी क्रान्ति परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा मात्र सीमित छैन। यो समाजवाद उन्मुख जनताको जनवादका रुपमा स्थापित भएको छ’, प्रतिवेदनमा लेखिएको छ।

इतिहासको समीक्षाका सन्दर्भमा तत्कालीन दुवै पार्टीले कम्युनिस्ट आन्दोलनमा निर्वाह गरेको भूमिकाबारे पनि दस्तावेजमा उल्लेख छ। ‘एकातिर नेकपा (एमाले)को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय– अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न महŒवपूर्ण भूमिका खेल्यो भने अर्कोतिर तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना र जागरण ल्याउन तथा संगठित र आन्दोलित गर्न महŒवपूर्ण भूमिका खेल्यो’, दस्तावेजमा छ।

कुन पार्टी कस्ता ?

नेपाली कांग्रेस

नेपाली कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो। सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन। नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली कांग्रेसले गरेको छ। त्यसैले अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ठ एवं अन्योन्या िश्रत सम्बन्ध छ। यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझ्नुपर्छ। नेपाली कांग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’को नारा औपचारिकता र ढोंगमा परिणत भएको छ। यसले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिँदै आएको छ।

राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको प्रवृत्ति बन्न पुगेको छ। वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिस्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली कांग्रेस नै हो।

समाजवादी र राजपालगायत पार्टी

समाजवादी पार्टी नेपाल कतिपय बेला ढुलमुल देखिए पनि राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा तुलनात्मक रूपमा सही ढंगले उभिने गरेको छ। यसले समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई पनि सकारात्मक रूपमा आत्मसात् गरेको छ। जातीय, भाषिक र संघीयताको सन्दर्भमा यसको सोच र नीतिमा केही संकीर्णता र अतिवाद प्रकट हुने गरेका छन्।

राजपा नेपाल जातीय, भाषिक र संघीयताको विषयमा अतिवादको पक्षपोषण गर्दछ। यसले मजदुर किसान, गरिब, सर्वहारा श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दैन। बरु तिनका विरुद्धमा उभिने गर्दछ। राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा यसले आत्मसमर्पणवादी नीति अवलम्बन गर्ने गरेको छ। मूलतः यसले तराई–मधेसका बचेखुचेको सामन्त र दलाल पुँजीपति वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्दछ।

अन्य कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू

नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा र अन्य कम्युनिस्ट तथा वामपन्थी समूहहरूका पार्टीका जडसूत्रीय, संकीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्दै उनीहरूलाई एकतामा सामेल गर्ने पहल र प्रयत्न अघि बढाउनुपर्छ। उनीहरूसँग राष्ट्रियता, लोकतन्त्र, समृद्धि र समाजवादका विषयमा कार्यगत एकता र सहकार्यको नीति लिइनेछ। तर, उनीहरूका गलत नीति र व्यवहारका विरुद्ध सैद्धान्तिक र वैचारिक संघर्ष गर्ने हाम्रो नीति स्पष्ट छ।

नेत्रविक्रम चन्द समूहले उग्रवामपन्थी प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको छ। नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै पुनः सशस्त्र संघर्षलाई तत्कालीन कार्यसूची बनाउने वकालत गरिरहेको छ। यो नेपालको आजको आवश्यकता र परिस्थितिसँग पटक्कै मेल नखाने काम हो। यसले ऐतिहासिक परिवर्तनलाई कमजोर पार्ने र यसलाई उल्ट्याउन तथा नेपालमा अस्थिरता उत्पन्न गर्न चाहने विभिन्न शक्ति तथा प्रवृत्तिलाई बल पुर्‍याउने कार्य गर्दछ। यसको मनोगतवादी एवं उग्रवामपन्थी प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई राजनीतिको मूलधारमा ल्याउने प्रयत्न गर्नुपर्छ।

राप्रपा

पूर्वपञ्चहरूको पार्टी राप्रपाका धारहरूले मूलतः सामन्तवादी अवशेषको प्रतिनिधित्व गर्दछन्। यी समूहहरूले हिन्दू राज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजिरहेका छन्। अहिलेको निर्वाचनबाट राप्रपाका सबै समूहहरू जनताबाट पूरै अस्वीकृत भएका छन्।

सचिवालय बैठक अझै अनिश्चित
केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न बस्ने भनिएको सचिवालय बैठक भने अझै अनिश्चित छ। शीर्ष तहमा समझदारी बनाएर मात्र सचिवालय बैठक बोलाउने भनिए पनि कार्यविभाजन एजेन्डामा दुई अध्यक्षले थप छलफल गरेका छैनन्। जेठ २१ देखि तीन दिन बसेको बैठकमा वरिष्ठ नेता माधव नेपालले कार्यविभाजन प्रस्तावमा दोहोरो जिम्मेवारी दिन नहुने भन्दै विधि बनाउन अडान लिएपछि अल्झिएको थियो। त्यसपछि राजनीतिक कार्यदिशाको नयाँ विवादमा शीर्ष नेता अल्झिएपछि कार्यविभाजन प्रस्तावमा थप छलफल हुन पाएको छैन।

दुवै अध्यक्षले असारभित्रै एकताका सम्पूर्ण प्रक्रिया टुंग्याउने बताएका छन्। तर, उक्त मितिभित्र समझदारी बनेर एकता प्रक्रिया टुंगिनेमा अझै आशंका छ। ‘अध्यक्षहरू छलफलमा हुनुहुन्छ। केही दिनमै एउटा समझदारी बनेर सचिवालय बैठक बस्छ र एकता प्रक्रिया सम्पूर्ण रूपले टुंगो लाग्छ’, महासचिव विष्णु पौडेलले भने।


अन्नपूर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ