त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ, सम्झौता सकिएपछि पनि हट्न मान्दैनन !

2019-07-08

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन् । त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन् । कतिपय संस्थाको रेकर्ड त्रिविको सम्पत्ति विवरण राख्ने शाखामा समेत छैन । कुनैले केन्द्रीय सरकारको सिफारिस लिएर त कुनैले आफैँ हडपेर बसेका हुन् । त्रिविको जग्गा ओगट्नेमा कतिपय नाफामूलक संस्था पनि छन् । त्रिविका पदाधिकारीबाटै उनीहरूलाई संरक्षण मिलेको छ । केहीलाई हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणमा जोगिएका छन् । कीर्तिपुर परिसरमा त्रिविसँग तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा छ । तर, एकतिहाइ जग्गा व्यक्ति र संस्थाले उपभोग गरिरहेका छन् । जब कि, त्रिविका केन्द्रीय विभागहरूले समेत आवश्यकताअनुसार जग्गा पाउन सकेका छैनन् ।

जग्गा कब्जा गर्ने ल्याबोरेटोरी स्कुलको ‘एडभाइजरी बोर्ड’मा त्रिविकै प्राध्यापक
शिक्षाशास्त्र संकाय अध्ययन गर्ने विद्यार्थीलाई शिक्षण अभ्यास गराउने उद्देश्यले ल्याबोरेटोरी स्कुल स्थापना भएको थियो । १३ साउन ०५७ मा शिक्षा तथा खेलकुद मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाजबीच १५ वर्षे सम्झौता भएअनुसार त्रिविले जग्गा उपलब्ध गराएको थियो । तर, अहिले ल्याबोरेटोरी त्रिविका विद्यार्थीलाई शिक्षण अभ्यास गराउने थलो नभई, केही व्यक्तिले माध्यमिक तहसम्म पढाइ हुने स्कुलका रूपमा सञ्चालन गरिरहेका छन् । सम्झौता अवधि १२ साउन ०७२ मा सकिएपछि पटक–पटक ताकेता गर्दा पनि स्कुलले जग्गा छाड्न मानेको छैन ।

जग्गा फिर्ता गर्न पटक–पटक पहल गरे पनि ल्याबोरेटोरी स्कुल व्यवस्थापनले अटेरी गरेको त्रिवि पदाधिकारीको गुनासो छ । राजनीतिक दलका नेता तथा केही स्थानीय नेताको आडमा जग्गा फिर्ता नभएको हो । स्रोतका अनुसार केही समयअघि जग्गा फिर्ता विषयमा छलफल गर्न गएका त्रिविका कर्मचारीमाथि नै आक्रमणको प्रयास भएको थियो । त्रिवि कर्मचारीका अनुसार दुई महिनाअघि छलफलका लागि पत्र पठाएकोमा त्यसको जवाफसमेत आएको छैन । अहिले सो स्कुल गुठीका रूपमा सञ्चालनमा छ । सो संस्थाको व्यवस्थापन समितिमा उमेश श्रेष्ठलगायत व्यक्ति छन् ।

त्रिविका प्राध्यापक स्कुलको सल्लाहकार बोर्डमा छन् । फिजिक्स केन्द्रीय विभाग प्रमुख प्रा.डा. लोकनारायण झा, जुलोजी प्रमुख प्रा.डा. वसन्तकुमार थापा, बोटनी प्रमुख प्रा.डा. सानुदेव जोशी, व्यवस्थापनका प्रमुख प्रा.डा. सन्तोषराज पौड्याल एडभाइजरी बोर्डमा रहेको स्कुलको वेबसाइटमै उल्लेख छ ।

त्रिविकै केन्द्रीय विभागले मागेजति पाएनन् जग्गा
त्रिविको जग्गा अन्य संस्थाले उपभोग गरिरहँदा त्रिविकै केन्द्रीय विभागहरूले भने जग्गा अभाव झेलिरहेका छन् । जग्गा नपाएर कतिपय विभाग साँघुरो कोठामा बस्न बाध्य छन् । अहिले पनि अर्थशास्त्र, समाजशास्त्र तथा भूगोल केन्द्रीय विभागले जग्गा अभाव भएको भन्दै केन्द्रीय कार्यालयमा जग्गा माग गरेका छन् ।

दुईतिरबाट प्रहरीको पेलान
त्रिविको कीर्तिपुर परिसरमा दुईतर्फबाट प्रहरीले जग्गा उपयोग गरेको छ । कीर्तिपुरतर्फ महानगरीय प्रहरी वृत्त कीर्तिपुर र बल्खुतिरबाट कालिमाटी प्रहरी वृत्तले त्रिविको जग्गा प्रयोग गरेका छन् । त्रिविको कार्यकारी परिषद्ले नै निर्णय गरेर महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई चार रोपनी र महानगरीय प्रहरी वृत्त कालिमाटीलाई एक रोपनी जग्गा उपलब्ध गराएको छ ।

१५ रोपनी जग्गा राधास्वामीको प्रयोगमा
त्रिविमा कतिपय संस्थाहरूले राजनीतिक दल र स्थानीय नेताको दबाबमा त्रिविको सम्पत्तिमा रजाइँ गरेका छन् । त्रिवि पदाधिकारीका अनुसार सो संस्थाले कुनै निर्णयविनै १५ रोपनी हडपेको छ । बागमती नदीको किनारमा रहेको राधास्वामी सत्संगलाई जग्गा दिने विषयमा कतैबाट पनि निर्णय भएको छैन  । सो संस्थाले आफैँ जग्गा कब्जा गरी कार्यालय विस्तार गरेको छ । १३ रोपनी भनिए पनि त्रिविले नापजाँच गर्दा १५ रोपनी भएको त्रिवि कर्मचारीको भनाइ छ । जग्गा खाली गर्न त्रिविले पटक–पटक पत्राचार गरे पनि टेरेको छैन ।

स्वामित्व हस्तान्तरण गरिएको होइन, आवश्यकताअनुसार फिर्ता लिन सक्छौँ
प्रा.डा. तीर्थ खनियाँ,त्रिवि उपकुलपति
विभिन्न समयमा त्रिभुवन विश्वविद्यालयको सम्पत्ति अन्य संस्थालाई उपभोग गर्न दिएको देखिन्छ । कतिपय पदाधिकारी र सरकारले त्रिविलाई फाइदा हुने गरी उपभोग गर्न दिएका छन् । कतिपयबाट भने फाइदा नहुन सक्छ । त्रिवि आफैँमा बलियो संस्था नहुँदा विभिन्न प्रकारका निर्णय भएका छन् । त्रिविले स्वामित्व हस्तान्तरण नगरेकाले आवश्यकताअनुसार ती जग्गा फिर्ता लिन सकिन्छ । विश्वविद्यालयको हितमा छैन भने फिर्ता लिनुपर्छ । ल्याबोरेटोरी स्कुल त्रिविको ‘स्कुल अफ एजुकेसन’ले अभ्यासका लागि स्थापना गरेको हो, अब त्यही बाटोमा जानुपर्छ । कतिपय सीमा र बाटोका नाममा पनि जग्गा मिचिएको छ । त्यस्ता क्रियाकलाप रोक्नुपर्छ ।

कसले, कति र कसरी लिए जग्गा ?

गणतन्त्र स्मारक, गाङखेल
क्षेत्रफल : ६० रोपनी
उपलब्ध गराएको आधार : नेपाल सरकारको अनुरोधमा १४ चैत ०६८ मा त्रिवि उपकुलपतिका तर्फबाट लेखिएको पत्रका आधारमा दिइएको हो ।

बिपी प्लानेटोरियम
क्षेत्रफल : १५० रोपनी
उपलब्ध गराएको आधार : नेपाल सरकारको अनुरोधमा ०५७ चैतको कार्यकारी परिषद्को निर्णयबाट पाएको हो ।

कृषि बागबानी
क्षेत्रफल : २८१ रोपनी १४ आना १ पैसा १ दाम
उपलब्ध गराएको आधार : संरचनाहरू स्थापना भइसकेका छन्, तर कुन मितिदेखि सरकारी कार्यालय रहेको भन्ने कुनै यकिन तथ्य छैन ।

खानेपानी संस्थान
क्षेत्रफल : १८ रोपनी
उपलब्ध गराएको आधार : त्रिविको कीर्तिपुर परिसरमा खानेपानी उपलब्ध गराउने र रिजर्भवायर ट्यांकी निर्माण गरिदिने सर्तमा त्रिवि कार्यकारी परिषद्ले उपत्यका मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक सामग्री राख्न दिएको हो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड
क्षेत्रफल : २४ रोपनी
उपलब्ध गराएको आधार : त्रिवि कार्यकारी परिषद्ले २४ वैशाख ०७३ मा त्रिविको हितमा केही सर्त राखेर उपलब्ध गराएको छ ।

ल्याबोरेटोरी माध्यमिक आवासीय विद्यालय
क्षेत्रफल : ११३ रोपनी
उपलब्ध गराएको आधार : त्रिविको शिक्षा विषयमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीको शिक्षण अभ्यास गर्ने उद्देश्यले स्थापना भएको थियो । शिक्षा तथा खेलकुद मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाजबीचको १५ वर्षे सम्झौता अवधि सकिँदा पनि ल्याबोरेटोरी स्कुलले जग्गा छाड्न मानेन ।

आयुर्वेद अनुसन्धान केन्द्र
क्षेत्रफल : ३० रोपनी
जग्गा उपलब्ध गराएको आधार : ०६२ मा त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार आयुर्वेद क्याम्पसका लागि छुट्याइएको १०० रोपनी जग्गामध्येबाट सरकारको अनुरोधमा आयुर्वेद अनुसन्धान केन्द्रलाई उपलब्ध गराएको हो ।

त्रिवि कर्मचारी संघ
क्षेत्रफल: स्पष्ट नभएको
उपलब्ध गराएको आधार : ३ भदौ ०५० मा त्रिवि कार्यकारी परिषद्को बैठकबाट उपलब्ध गराइएको हो । सो जग्गामा संघको भवन र परिसरमा सटर राखेर पसल सञ्चालन भएको छ । त्यसैगरी, कर्मचारीले पाएको जग्गामा मोटरसाइकल वर्कसप, पेट्रोलपम्प भाडामा लगाइएको छ । सो भाडाबाट प्राप्त रकम संघको गतिविधिमा खर्च हुने गरेको छ । संघले अतिथिगृहसमेत सञ्चालन गरेको छ ।

त्रिवि प्राध्यापक संघ
क्षेत्रफल : स्पष्ट नभएको
उपलब्ध गराएको आधार : त्रिवि कार्यकारी परिषद्ले तीनपटक निर्णय गरेर त्रिवि प्राध्यापक संघलाई जग्गा उपलब्ध गराएको छ । २८ वैशाख ०६३, २६ वैशाख ०७४ र ४ पुस ०७४ मा कार्यकारी परिषद्को बैठकबाट संघलाई जग्गा उपलब्ध गराइएको छ । तर, त्रिवि केन्द्रीय कार्यालयमा जग्गाको यकिन रेकर्ड छैन ।

नेपाल प्राध्यापक संघ
क्षेत्रफल : २७ रोपनी ८ आना २ पैसा
उपलब्ध गराएको आधार : नेपाल प्राध्यापक संघको कार्यालय, प्राध्यापकका लागि सहुलियत दरमा अतिथिगृह सञ्चालन र सटरहरू भाडामा लगाइएको छ । १६ रोपनी जग्गा भाडामा दिएर नर्सरी सञ्चालन भएको छ ।

नेपाल बैंक लिमिटेड
क्षेत्रफल : ५५८७.९३ वर्गफिट
उपलब्ध गराएको आधार : त्रिविले नेपाल बैंकलाई कहिले जग्गा उपलब्ध गराएको भन्ने यकिन विवरण र कागजातसमेत त्रिविसँग छैन । स्रोतका अनुसार अहिले नेपाल बैंकले एक हजार तीन सय रुपैयाँ मासिक भाडा तिर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंक
क्षेत्रफल : १००० वर्गफिट
उपलब्ध गराएको आधार : २७ साउन ०६५ मा कार्यकारी परिषद्को निर्णयअनुसार दुईपक्षीय सम्झौता भएर भाडामा लगाइएको छ । स्रोतका अनुसार सो बैंकले मासिक १५ हजार रुपैयाँ त्रिविलाई भाडा तिर्ने गरेको छ ।

नेपाल नेत्रज्योति संघ
क्षेत्रफल : १० रोपनी
उपलब्ध गराएको आधार : २० वर्षका लागि सरकार, काठमाडौं जिल्ला प्रशासन कार्यालय तथा नेत्रज्योति संघबीच २ असार ०७२ मा सम्झौता गरी जग्गा उपलब्ध गराइएको हो । संघले सञ्चालन गरेको नेत्रज्योति आँखा अस्पतालले वार्षिक खुद नाफा रकमको २० प्रतिशत त्रिविको निवृत्तिभरण कोषमा उपलब्ध गराउने सम्झौतासमेत छ । त्रिविसँगको सहकार्यमा अस्पताल सञ्चालन गर्ने र विज्ञ उत्पादन गर्ने सहमति पनि छ ।

रक्तसञ्चार केन्द्र
क्षेत्रफल : ३ रोपनी
उपलब्ध गराएको आधार : रगत संकलन तथा बिरामीलाई रगत उपलब्ध गराउने, तालिममार्फत दक्षता विकास, अध्ययन÷अनुसन्धान गर्ने उद्देश्यले कार्यकारी परिषद्को निर्णयअनुसार १ पुस ०७१ मा त्रिवि र लायन्स क्लबबीच सम्झौता भई जग्गा उपलब्ध गराइएको हो ।

नेपाल क्रिकेट संघ
क्षेत्रफल : चार किल्ला छुट्याएको, तर क्षेत्रफल नखुलेको (करिब १०० रोपनी)
उपलब्ध गराएको आधार : त्रिवि र नेपाल क्रिकेट संघबीच १ वैशाख ०५९ मा सम्झौता भई भाडामा लगाइएको हो । त्रिवि क्रिकेट मैदानले १०० रोपनीको हाराहारीमा समेटेको छ ।

चाइनिज एकेडेमी अफ साइन्स
उपलब्ध गराएको आधार : कार्यकारी परिषद्बाट निर्णय गरेर त्रिवि र चाइनिज एकेडेमी साइन्सले विज्ञानको क्षेत्रमा सहकार्य गर्न दुईपक्षीय सम्झौता भएको हो । प्रा.डा. हिराबहादुर महर्जन उपकुलपति छँदा सम्झौता गरेर जग्गा उपलब्ध गराएका थिए ।

राष्ट्रिय आविष्कार केन्द्र
क्षेत्रफल : ५ हजार ५ सय वर्गफिट
उपलब्ध गराएको आधार : कार्यकारी परिषद्मा निर्णय गरेर केन्द्रलाई जग्गा उपलब्ध गराएको छ । एक वर्षअघि उपलब्ध गराएको जग्गामा महावीर पुन नेतृत्वको केन्द्रले आठ महिनादेखि कार्यालय सञ्चालन गरेर काम सुरु गरेको छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ