छुट्टाछुट्टै आठ व्यक्तिको हत्या, १ सय १७ वर्षको जेल सुनाइएका नसिम बानेश्वरबाट पक्राउ

2019-07-07

काठमाडौं - आठ व्यक्तिको हत्या, अपहरण र डकैतीमा अदालतबाट १ सय १७ वर्षको जेल सजाय पाएर फरार रहँदै आएका कपिलवस्तु मायादेवी गाउँपालिकाका नसिम खाँ मुसलमान शनिबार पक्राउ परेका छन्।

नेकपाका संगठित सदस्य जाबेद बादशाह उपनामका मुसलमान राजनीतिकै आडमा जोगिँदै आएका थिए। कपिलवस्तुमा व्यक्ति हत्यासहित लुटपाट र अपहरणका घटनाका अपराधीका रूपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो। उनी राजधानीको बानेश्वरबाट पक्राउ परेका हुन्। उनलाई शनिबार नै कपिलवस्तु प्रहरीको जिम्मा लगाइएको छ।

मुसलमान नेपालमा अपराध गरी भारतको अलिगढवा बस्दै आएका थिए। उनलाई पक्राउ गर्न भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायले पहल गरेका थिए। तर, त्यतिबेला उनी राजनीतिक आवरणमा जोगिएका थिए।

उनीमाथि सातवटा कर्तव्य ज्यान, एउटा डाँका र एउटा अपहरणपछि हत्या मुद्दा दर्ता रहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशमशेर जबराले बताए। ‘महिना दिनदेखि खोजी गरिरहेका थियौं’, उनले भने, ‘काठमाडौंमा रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो।’

प्रहरी अभिलेखमा २०६३ देखि ०७४ को बीचमा उनको संलग्नतामा आठ जनाको हत्या भएको छ। २०६३ जेठ १९ मा कपिलवस्तु फुलिकाका धर्मराज बराईको छोरालाई हतियार प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ। प्रहरीले मिसिल तयार गरी ०६३ साउन १४ मा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।

मुसलमानमाथि ०६४ वैशाख १७ मा कपिलवस्तुमै सन्दीपकुमार गुप्ताको महिन्द्रा जिप रोकेर बन्दुक देखाई २ लाख लुटेको आरोप छ। २०६४ चैत २५ मा जिल्ला अदालतमा पेस भएको मिसिल सर्वोच्चमा पुगेको छ।

कपिलवस्तु मोतीपुर बस्ने भुवन भन्ने प्रेम परियारलाई गोली हानी हत्या गरेको आरोप पनि उनीमाथि छ। कपिलवस्तु प्रहरीले ०६५ पुस १ गते कर्तव्य ज्यान मुद्दा अदालतमा पेस गरेको थियो। उक्त मुद्दा उच्च अदालतमा विचाराधीन छ।

२०६५ भदौ ३० मा कपिलवस्तुकै नसिबुल्लाह मुसलमानलाई हानेको गोली लागेर अकला कोहारको मृत्यु भएको घटनामा पनि उनको संलग्नता रहेको दाबी प्रहरीको छ। कोहारका पति पारसनाथले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए। सरकारी वकिल कार्यालयमार्फत प्रहरीले मुद्दा जिल्ला अदालतमा बुझाएको थियो। मुद्दा उच्च अदालतमा विचाराधीन छ।

प्रहरीका अनुसार २०६५ कात्तिक ९ गते कपिलवस्तु पिपराका गाविस सचिव राममिलन गुप्तालाई गोली हानी हत्या गरेको घटनामा समेत मुसलमान संलग्न थिए।

तत्कालीन समयमा राम मिलनका आफन्त पारसनाथ गुप्ताले मुसलमानविरुद्ध उजुरी गरेका थिए। प्रहरीले घटना अनुसन्धान गरी मुसलमानविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो।

२०६७ वैशाख १३ गते कपिलवस्तु पकडीका राजेन्द्रप्रसाद तिवारीको हत्यामा पनि मुसलमान आरोपित छन्। उनीविरुद्धको मुद्दा सोही वर्ष जेठमा कपिलवस्तु जिल्ला अदालतमा चलिरहेको छ। २०६४ चैत ९ मा कपिलवस्तु हथिहवाका रामहर्ष कुर्मीका छोरा शिवपुजनलाई गोली हानी हत्या गरेको घटनामा समेत मुसलमान मुछिएका छन्। रामहर्षले मुसलमानसँगै शुद्धोधन गाउँपालिका कपिलवस्तुका धर्मेन्द्रसिंह क्षेत्रीविरुद्ध उजुरी दिएका थिए। प्रहरीले क्षेत्रीलाई पक्राउ गरे पनि मुसलमान फरार थिए।

पछिल्लोपटक २०७४ फागुन ३ गते कपिलवस्तुकै चार वर्षीय बालक मोहम्मद अहेमानको हत्या गरेको घटनामा मुसलमान संलग्न रहेको आरोप प्रहरीको छ। मुसलमान आफैंले बालकका बाबु फत्तेह अहमदलाई फोन गरेर ‘छोरा जिउँदो हेर्न चाहेका छौ भने हामीलाई उपभोक्ता समितिमा राख, नत्र हामीलाई केही रकम दिनू’ भनेर धम्क्याएका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी निरज शाहीले मुसलमान पक्राउको पुष्टि गरे। उनले भने, ‘उनी आठवटा हत्या घटनामा फरार रहेकाले खोजी गरिरहेका थियौं। पक्राउ गरेर थप अनुसन्धानका लागि कपिलवस्तु प्रहरीमा बुझाएका छौं।’

०६१ सालमा माओवादीविरुद्ध प्रतिकार समितिको नेतृत्व गर्दै ६ जनाको हत्या गरेको अभियोग पनि उनीमाथि छ। तत्कालीन माओवादीका नेता राजेन्द्र तिवारी, ज्ञानबहादुर सुनार, प्रेम परियार, अकाली धोबी, शिवपुजन कुर्मीको हत्या भएको थियो। उनी सरकारी टोलीसँग वार्ता गरी हतियार बुझाएर सार्वजनिक भएका थिए। त्यसयता मुसलमान नेकपाको संगठित सदस्य बनेर राजनीतिमा थिए। केही समयअघि मात्रै कृषि तथा सहकारीमन्त्री चन्द्रप्रकाश खनालसँग एकै मञ्चमा भेटिएका मुसलमानलाई प्रहरीले पक्राउ गरेको थिएन।

कपिलवस्तु जिल्ला अदालतले हत्याको ६ वटा मुद्दा र एउटा डाँका मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबी राखेको छ। सबै हत्यामा सहयोग गरेको भन्दै अदालतले ०६९ सालमा १ सय १७ वर्षको जेल सजाय तोकिसकेको छ। त्यस्तै, डाँका चोरी मुद्दामा अदालतले ०७२ फागुन ४ गते १ लाख ९१ हजार आठ सय ५२ रुपैयाँ जरिबाना र ६ महिना जेल सजायसमेत तोकेको थियो। खानकी पत्नी प्रदेश ५ की सांसद छिन्। उनलाई नेकपाले समानुपातिक सांसद बनाएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ