दिल्ली पुर्‍याई २६ लाख लुट्ने गिरोहमा प्रहरी पनि, मिर्गौला पनि निकाल्न खोजेको आशंका !

2019-07-04

काठमाडौँ - एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् ।

प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्‍याएका थिए । दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ ।

चारैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारका साथै ठगी मुद्दामा कारबाही अघि बढाइएको ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले बताए । विदेश जाने प्रक्रिया बुझ्न एक कन्सल्टेन्सी धाइरहेका रोक्कालाई सचिन बरालले क्यानडाको सपना देखाएका थिए । उनले आफ्ना दाइ हरि बरालले क्यानडा लैजान सक्ने आश्वासनसँगै मोबाइल नम्बर दिएका थिए । क्यानडामा रहेका भनिएका बरालले धेरै खर्च नलाग्ने र आफन्तहरूसँगै क्यानडा आउन भनेपछि रोक्का प्रहरी जवान कार्कीसँग २२ माघमा दिल्ली उडेका थिए । कार्की बरालकै आफन्त भएकाले बाटोमा समस्या नहुने रोक्काको विश्वास थियो ।

दिल्ली पुगेपछि उनलाई २४ हजार डलर भए क्यानडाको स्थायी कार्ड मिल्ने, नत्र जान नमिल्ने भनियो । रोक्का जसरी पनि क्यानडा जान चाहन्थे । उनले पैसा जम्मा गर्न परिवार र आफन्तलाई लगाए । छोराको क्यानडा जाने सपना पूरा गर्न तीन दिनमै उनका बुबा टीकाप्रसादले २४ हजार डलर तयार पारे । देवेन्द्रका बुबा र मामा पैसा लिएर २९ माघमा दिल्ली पुगे ।

उनीहरूलाई लिन विमानस्थलमा सो गिरोहका व्यक्ति पुगेका थिए । बाटोमै पैसा देखाउन भने पनि उनीहरूले मानेनन् । गुँडगाउँको होटेलमा लगेर राखे । होटेलमा पुगेलगत्तै उनीहरूलाई विभिन्न खानेकुरा खान दिइयो । तर, शंका लागेर उनीहरूले खाएनन् । पछि चिया पिएपछि उनीहरू बेहोस भएका थिए । चियामा बेहोस हुने पदार्थ मिसाइएको थियो ।

देवेन्द्रलाई भने सोही दिन क्यानडाको उडान रहेको भन्दै विमानस्थल पठाइएको थियो । विमानस्थलमा एक व्यक्तिले पासपोर्ट र टिकट दिने भनिएको थियो । बिहान ४ बज्दासमेत कोही नआएपछि उनी होटेल पुगे । जहाँ बुबा र मामालाई बेहोस अवस्थामा भेटे । तत्काल अस्पताल लगे, तर बुबाको साथको पैसा गायब भइसकेको थियो । पैसा लुटेपछि मिर्गाैलासमेत निकाल्ने प्रयास गरिएको उनीहरूको आशंका छ ।

भारतमा रहेको सो गिरोहमा आदित्य नाम गरेका भारतीयसमेत थिए । उनको वास्तविक नाम र ठेगाना अहिलेसम्म खुलेको छैन । आदित्य र हरि बराल गिरोहका मुख्य व्यक्ति भएको प्रहरीको अनुमान छ । ‘लुट्नका लागि उनीहरूले त्यसरी नाटक गरिएको देखिन्छ,’ एसपी थपलिया भन्छन्, ‘गिरोहका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ ।’ सो गिरोहका हरि बराल क्यानडामा रहेको बताइए पनि उनी अन्य देशमा हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी जवान कार्की बरालका आफन्त भएको खुलेको छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ