नेकपाभित्र पाका कम्युनिस्टको बेहाल

2019-07-01

काठमाडौँ - ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता व्यवस्था गर्ने पार्टी नेकपा नै हो । देशभरिका ज्येष्ठ नागरिकहरू अहिलेको नेकपा र तत्कालीन एमालेको यही गुन सम्झन्छन् । तर, पार्टीभित्रैका ज्येष्ठ नागरिक भने यतिखेर नेकपा नेतृत्वसँगै दिक्क छन् । उनीहरू रहने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको बेहाल छ । नेकपाले केन्द्रीय समिति, प्रदेश र जिल्ला तहको एकता टुंग्याइसकेको छ । पार्टीलाई महत्वपूर्ण सल्लाह–सुझाब दिने विभाग मानिने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च भने कहिले बन्ने हुन्, टुंगो छैन । ‘एमाले–माओवादीको एकता प्रक्रिया सुस्त भएकै हो,’ नेकपाका पाका नेता अमृतकुमार बोहराले भने, ‘संगठनमा भूमिकाविहीन बनाइएको छ । अहिले एकीकरण तलसम्म हुन सकेको छैन । आशा गरौँ, तत्काल एकता होला ।’

मनमोहन अधिकारी नेतृत्वको सरकारले ०५१ मा पहिलोपटक वृद्धभत्ता सुरु गर्दा देशभरिका ज्येष्ठ नागरिकहरूमा उत्साह थपिएको थियो । पार्टीभित्र भने पाका नेताहरूलाई भूमिका
नदिने प्रवृत्ति रहेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठले बताए । ‘पार्टीमा केन्द्रीय समितिको बैठकसँगै कार्यविभाजन हुन सकेको छैन । पोलिटब्युरो गठन भएको छैन, विभाग गठन भएका छैनन्,’ श्रेष्ठले व्यंग्यात्मक प्रतिप्रश्न गरे, ‘सल्लाह पनि नलिने र नसुन्ने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनमा नेताहरू किन लाग्थे ?’ सल्लाहकार परिषद्मा बस्नुभन्दा पार्टीको सेल कमिटीमा बस्दा भूमिका हुने पुराना कम्युनिस्ट नेता नरेन्द्रजंग पिटरले बताए ।

सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चबारे छलफलै छैन
सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चबारे पार्टीमा छलफल नभएको तत्कालीन एमाले केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष केशव बडालले बताए । ‘हामीलाई राखेर सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको जिम्मेवारी कसलाई दिने र कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल नै भएको छैन,’ बडालले भने, ‘पार्टीको पोलिटब्युरो र अन्य विभाग पनि गठन नभएकाले ढिला भएको हुन सक्छ । आशा गरौँ छिट्टै टुंगो लाग्ला ।’ पार्टीको एकताले गति नलिएको तत्कालीन माओवादी केन्द्रका राष्ट्रिय सल्लाहकार परिषद् अध्यक्ष नन्दकुमार प्रसाईंले बताए । सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च दुई फरक संगठन बनाएर तत्कालीन एमाले र तत्कालीन माओवादीले एक–एकको नेतृत्व लिने सहमति हुन सक्ने प्रसाईंले बताए ।

मनमोहन अधिकारी नेतृत्वको सरकारले ०५१ मा वृद्धभत्ता सुरु गर्दा देशभरिका ज्येष्ठ नागरिकहरूमा उत्साह थपिएको थियो तर पार्टीभित्र भने पाका नेताहरूलाई भूमिका नदिने प्रवृत्ति छ

७० वर्ष नाघेका नेताका लागि ज्येष्ठ कम्युनिस्ट मञ्च
एमालेले ०४९ सालदेखि सल्लाहकार गठन गरेको थियो । ज्येष्ठ कम्युनिस्ट मञ्च भने ०६५ सालमा बुटवलमा सम्पन्न भएको आठाँै महाधिवेशनबाट गठन गरिएको थियो । पार्टीमा ७० वर्ष पूरा भएका नेतालाई राख्ने गरी मञ्च गठन गरेको थियो । मञ्चको अध्यक्षता धेरै उमेर भएका पुराना नेताले गर्दै आएका थिए । सल्लाहकार परिषद्को अध्यक्षता केशव बडालले गर्दै आएका थिए । तत्कालीन माओवादीले राष्ट्रिय सल्लाहकार परिषद्को गठन ०६५ सालदेखि गरेको थियो । पहिलो अध्यक्ष कृष्णदास श्रेष्ठ थिए ।

ज्येष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष पोलिटब्युरोसरह
केन्द्रीय समितिलाई कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान गरेका अनुभवी व्यक्तिहरूलाई ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न सक्नेछ । ज्येष्ठ कम्युनिस्ट मञ्चमा अध्यक्ष, सचिव र आवश्यक मात्रामा सदस्य थप गर्ने विधानमा व्यवस्था छ । मञ्चका पदाधिकारी एवं सदस्यले आफ्नो अनुभवद्वारा युवा पुस्तालाई प्रशिक्षित र उत्प्रेरित गर्ने अधिकार दिएको छ । कमिटीको मर्यादा पोलिटब्युरो सदस्यसरह र सचिव तथा सदस्यहरूको मर्यादा केन्द्रीय समितिको सदस्यसरह हुने उल्लेख छ ।

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ